लुम्बिनीमा बलियो एमाले, कमजोर देखियो एकीकृत समाजवादी

लुम्बिनीमा बलियो  एमाले, कमजोर देखियो एकीकृत समाजवादी

निर्वाचन कार्यालयमा नेकपा एकीकृत समाजवादी रोज्न सनाखत गर्ने जनप्रतिनिधिको सङ्ख्यालाई हेर्दा लुम्बिनीमा एमाले भन्दा समाजवादी कमजोर देखिएको हो।

प्रदेश सभाका  ३७ जना सांसदले एमाले रोज्दा एक जना प्रदेशसभा सदस्य रमा घर्तीले नेकपा एस रोजिन्। प्रदेशका जम्मा ७१ जना स्थानीय तहका जनप्रतिनिधिले नेपालको पार्टी रोजेका छन्। 


लुम्बिनीका १०९ स्थानीय तह छन्। राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोज्ने समय मङ्गलवार सकिएको छ। पार्टी विभाजनका लागि सुरु देखि लागेका दाङका मेटमणी चौधरीको जिल्लामा प्रदेशमै सबैभन्दा बढी २१ जनाले नेकपा समाजवादी रोजेका छन्। जिल्लामा १ सय ९७ जना सूर्य चिन्ह बाट चुनाव जितेका जनप्रतिनिधि छन्।


बाँकेमा ११ जनाले समाजवादी रोजेका छन्। त्यस्तै माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको गृह जिल्ला पाल्पामा जम्मा १ जनाले मात्र समाजवादीमा सनाखत गरेका छन्।


जिल्ला निर्वाचन कार्यालयका अनुसार रम्भा गाउँपालिका वडा न ५ का सदस्य ईश्वरी श्रेष्ठले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका हुन। एमाले बाट समाजवादी रोज्ने प्रदेश सभा सदस्य रमा घर्ती पाल्पाकै हुन्।


त्यस्तै कपिलवस्तु र पश्चिम नवलपरासीमा १÷१ जनाले मात्रै नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन्। रुपन्देहीमा ७, बर्दिया र अर्घाखाँचीमा ६÷६ तथा रुकुम र रोल्पामा ५÷५ जनाले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले बताए।


यस्तै एमाले उपाध्यक्षबाट राजीनामा दिएका नेता बामदेव गौतमको गृह जिल्ला प्युठानमा ७ जनाले मात्रै एकीकृत समाजवादीका पक्षमा सनाखत गरेको उनले बताए। सम्बन्धित जिल्ला निर्वाचन कार्यालयका अनुसार लुम्बिनीमा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको सङ्ख्या दाङ – २१,बाँके – ११,रुपन्देही– ७,बर्दिया – ६,रुकुम पूर्व – ५,रोल्पा – ५,अर्घाखाँची – ६, प्युठान – ७ पाल्पा –१, नवलपरासी (पश्चिम) –१, कपिलवस्तु – १र गुल्मी–० छ। 

रामकुमारीको गृह जिल्लामा ‘शून्य’
पार्टी विभाजनको अग्र मोर्चामा रहेकी नेतृ रामकुमारी झाँक्रीको गृह जिल्ला गुल्मीमा कुनै पनि जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेनन्। गुल्मी क्षेत्र नं. २ मा गोकर्ण विष्टको दबदबा छ। विष्ट एमालेको मूल धारमै रहेकाले कुनै पनि जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादीमा जाने आँट गरेनन्।

स्थानीय तहका ७ प्रमुख र १० उप प्रमुख सहित ३ सय ३० जना जनप्रतिनिधि रहेको गुल्मीका कुनै पनि जनप्रतिनिधिले एकीकृत समाजवादी नरोजेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।


एमालेका शीर्ष तहका  विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल, गोकर्ण विष्टलगायतका नेताहरूको प्रभावका कारण धेरै जनप्रतिनिधि एमालेमै रहेको नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए। उनले पार्टी फुट नभई कोही समूह चोइटिएर गएकाले उनीहरूलाई जनप्रतिनिधि विश्वास नगरेको बताए । 

भदौ २३, २०७८ बुधबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।