सङ्खुवासभा घटना : हत्यामा धारिलो हतियार प्रयोग भएको आशङ्का
इटहरी : सङ्खुवासभाको मादी नगरपालिका खोलागाउँमा हत्या गरिएका ६ जनाको शव पोष्टपार्टमको लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ।
आइतबार राती हत्या गरिएका एकै परिवारमा ६ जनाको शव मुचुल्का विवरण उठाएपछि पोस्टमार्टमका लागि बिपी प्रतिष्ठान ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी लालध्वज सुबेदीले मंगलबार दिउँसो मात्र मुचुल्का उठाउने काम सकिएकाले अबेर गरी ट्याक्टरमा हालेर शव पोष्टमार्टमका लागि पठाइएको जानकारी दिए।
बर्सातको समय भएकोले धरानसम्म पुग्न समय लाग्ने उनले बताए। कुकुर सहितको टोलीले घटनास्थलको अनुसन्धान गरेको उनले बताए।
उनका अनुसार सङ्घीय प्रहरी इकाई धरानका एसपी भीम दाहाल नेतृत्वको टोलीले सोमबार रातिबाटै अनुसन्धान सुरु गरेको छ। घटनामा प्रयोग भएको हतियारबारे खोजबिन गर्न फरेन्सिक ल्याबको टिम समेत परिचालन गरिएको छ।
घटनाको प्रकृति हेर्दा कुन कारणबाट हत्या गरिएको अनुमान गर्न नसकिने प्रहरी प्रमुख सुवेदीको भनाई छ। वृद्धाको शव घरभित्र हुनु र बाँकी शव बाहिर हुनुले जटिलता बढाएको उनले सुनाए।
वृद्धा बाहेक ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीय कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ११ वर्षीय दिपेन र ७ वर्षीया गोमाको शव बेग्लाबेग्लै ठाउँमा पाइएको उनले बताए। हत्यामा धारिलो हतियार प्रयोग भएको जस्तो देखिएको सुवेदीको भनाई छ।
भदौ २२, २०७८ मंगलबार २०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।