सिता भण्डारी मृत्यु प्रकरण : पैसा र पावरमा हत्यालाई आत्महत्या बनाएको माइतीको दाबी

बुटवल : तिलोत्तमा ५ कफिकम्पनी की सिता भण्डारी पौडेलको मृत्यु आत्महत्या नभई हत्या भएको माइती पक्षले दाबी गरेका छन्।
सिताका माइती पक्षका आफन्तले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी सिताको मृत्यु आत्म हत्या नभई हत्या भएको दाबी गरेका हुन्। उनीहरूले हत्या भन्न सकिने प्रमाण हुँदा पनि पोस्टमार्टम रिपोर्टलाई आधार मानेर प्रहरीले जाहेरी लिन नमानेको गुनासो गरे
गत भदौ २० गते बिहान घरमा सिताको शव पासो काटेको अवस्थामा फेला परेको थियो।
मृतक सिताका बुवा हरिप्रसाद भण्डारीले ज्वाइँ टिका पौडेलले योजनाबद्ध रूपमा छोरीको हत्या गरी घटना लुकाउन आत्महत्याको प्रपञ्च रचेको बताए। उनले छोरीको शरीरमा नीलडाम देखिएको, झुन्डिएको भनिएको स्थानको उचाइ, छोरीको घाँटीको दायाँ तर्फ मात्र चुन्नीको गाँठो कसिएको अवस्थामा घोप्टो पारी भुईँमा पल्टाई राखेको अवस्थामा भेटिएकाले छोरीलाई कुटपिट गरी बेहोस बनाएर हत्या गरेको हुन सक्ने बताए।
‘छोरीको हत्या गरेपछि ज्वाइँ टिकाले आफै फोन गरी घर बोलाए। घर पुग्दा उनी फरार थिए।’, उनले दाबी गरे, ‘हामीलाई खबर गरे लगत्तै उनले फेसबुकमा यसको मूल्य कसले चुकाउँछ भन्दै पोस्ट गरेका छन्। घटनाको यही सिलसिलागत र परिस्थितिगत प्रमाणले पनि यो आत्महत्या नभई हत्या हो।’
४३ वर्षीय टिका र २७ वर्षीया सिताकोे २ वर्ष अघि मागी विवाह भएको थियो । विवाहपछि उनीहरू पाल्पा तानसेनमा दि दरबार रिसोर्ट नामको होटेल सञ्चालन गर्दै आएका थिए। उनीहरू दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घर एक दिन बसेपछि सिता ७ भदौमा तिलोत्तमा– ४ मा रहेको माइती गएकी थिइन्। हत्या हुनु भन्दा १ दिन अघि १९ भदौमा ज्वाइँ टिकाले भतिजको जन्मदिन छ भनेर सितालाई घर बोलाएको माइती पक्षको भनाई छ।
‘भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर आइन्। घर पुगेपछि के खटपट भएछ हामीलाई पनि थाहा भएन।’, सिताका बुवा हरिप्रसादले भने, ‘त्यही साँझ साँढे ६ बजे एक्कासि ज्वाइँ आएर तपाईँकी छोरी अब वितारा पर्ने भई मैले त आनन्दको जिन्दगी जिउँछु भनी धम्कीपूर्ण कुरा गरेर घर गए, यो कुराले पनि हत्या हुनु एक दिन अघि छोरी ज्वाईंबीच खटपट देखिन्छ।’
सिताको ज्वाइँ टिका र उनकी दिदी विष्णु पौडेलले योजनाबद्ध ढङ्गले हत्या गरेको बाबु हरिप्रसादको आरोप छ। पैसा र पावरको भरमा केटा पक्षका परिवारले पोस्टमार्टम रिपोर्टमा आत्महत्या बनाएको उनले दाबी गरे। शरीर भरी नीलडाम र केही चोटहरू भए पनि पैसा र पावर देखाएर हत्यालाई आत्महत्या बनाई रिपोर्ट बनाएको उनको भनाई छ।
‘हामीलाई घरमा बोलाएर घर जाँदा समेत ज्वाइँ टिकाले दिदी विष्णुलाई देखाउँदै तपाई कि छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी भनेका थिए। यो सुन्नासाथ म त्यही बेहोस भएँ। यो कुरा मसँग भएका सालाहरू पदम पोखरेल र लक्ष्मण पोखरेलले समेत सुनेका छन्।’ उनले भने, ‘यति भइसकेको घटना कसरी आत्महत्या हुन सक्छ।’
उनले छोरीको पोस्टमार्टम रिपोर्टमा आत्महत्या उल्लेख भएकै कारण प्रहरीले जाहेरी दर्ता समेत गर्न नमानेको बताए। ‘हामीले घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छौ । सत्य तथ्य के हो ? प्रहरीले नै उजुरी दर्ता नगरेपछि हामी कहाँ जाने?’ उनले भने ।
भदौ २२, २०७८ मंगलबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।