मुक्त हलियाको बेदना : बास छ, गाँस कहाँ पाउनु !

मुक्त हलियाको बेदना : बास छ, गाँस कहाँ पाउनु !

धनगढी : कञ्चनपुरको पुनर्बास नगरपालिका- ९ को ख गाउँमा मुक्त हलियाको बस्ती छ। भारतसँगको सिमानाभन्दा सय मिटरको दूरीमा उनीहरूका ४२ वटा घर छन्। टिनको छानो भएको टहरो जस्तो घरमा लालाबाला सहित उनीहरू बस्छन्।

उसो त हलिया मुक्त घोषणाको १३ वर्ष बित्यो। उनीहरूकै बस्तीमा मुक्ति दिवस मनाइरहँदा मुक्त हलियामा कत्ति पनि उत्साह थिएन। कागजी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूलाई आफूहरू मुक्त भएको महसुस नै हुँदैन । 

‘हामीले अहिले साहुकहाँ हलो जोत्न मात्र छोडेका हौँ, बास त सरकारले दियो तर गाँस कहाँ पाउनु? हलिया बस्तीका पदम चुनाराले भने, ‘बिहान-बेलुकाको छाक टार्न हामीले मजदूरी नै गर्नुपर्छ, अरूकैमा काम गर्नुपर्ने बाध्यता छ।’

हलिया बस्तीकी देवी विक भन्छिन्, ‘हाम्रो बस्तीमा खानेपानीको एउटा मात्र धारा छ, लाइन लागेर प्यास मेटाउनुपर्छ। रोजगारी छैन। खाना पकाउन दाउराकै समस्या हुन्छ। भारतीय एसएसबीले जंगल जान दिँदैनन्, ग्यास किन्न पैसा छैन। दिनभरिको खाना बिहानै पकाएर गुजारा चलाइरहेका छौँ।’

यस्तै मुक्त हलिया खुसीराम चुनारा गुनासो गर्छन्, ‘गरिबीको चपेटामा छौँ हामी। घरमा साना लालाबाला छन्, उनीहरूले समस्या बुझ्दैनन्। क वर्गमा परेका हामीले त घर बाहेक अरू केही पाएका छैनौँ, ग वर्ग र तथ्याङ्कमै नसमेटिएकाहरूको त बिजोग नै छ।’

अर्की मुक्त हलिया मिना सार्की भन्छिन्, ‘हाम्रो बस्तीमा ४२ वटा घर छन्,यी सबै निर्माणाधीन अवस्थामै छन्, तर हामी एक वर्षदेखि यहीँ बसिरहेका छौँ। अहिले निर्माण कार्य पनि रोकिएको छ। हामी त शिक्षा स्वास्थ्य,खानेपानी र सडकको पहुँचमा समेत छैनौँ।’

रकम अभावले रोकियो निर्माण 
कञ्चनपुरको पुनर्वास-९, ख गाउँमा मुक्तहलिया सुरक्षित आवास कार्यक्रम अन्तर्गत ४२ घर निर्माण भइरहेका छन्। सङ्घीय सरकार अन्तर्गतको कृषि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रतिघर दुई लाख २५ हजारका दरले १ करोड ७६ लाख ४७ हजार ५ सय रकम विनियोजन गरेको थियो।

त्यसमा ह्याविट्याट फर ह्युम्यानिटीको ६२ लाख ८७ हजार सहयोग प्रदान गर्दा पुनर्वास नगरपालिकाको ३ लाख ३५ हजार र १३ लाख १७ हजार ४ सय २० घरधुरी योगदान गरी दुई करोड ५५ लाख ८६ हजारको लागतमा ०७७ पुसबाट नमुना बस्ती निर्माण सुरु भएको थियो। 

एक वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सरकारले दोस्रो किस्ता दिन ढिलाइ गर्दा समयमै घर निर्माण हुन सकेनन्। घर निर्माणमा ढिलाइ हुँदा आफन्त र सडकछेउमा आश्रय लिइरहेकाहरु अधुरै घरमा बस्न थाले।

अहिले घर निर्माणको ९० प्रतिशत काम सकिएको छ। रकम अभावले बाँकी काम हुन सकेको छैन। 

‘हामीले बस्ती हस्तान्तरण गर्न सकेका छैनौँ', राष्ट्रिय मुक्तहलिया समाज नेपालका अध्यक्ष ईश्वर सुनारले भने, ‘रकम अभावले अहिले निर्माण कार्य रोकिएको छ। निर्माणाधीन अवस्थामै रहेको घरमा उहाँहरू आश्रय लिइरहनुभएको छ।’

उनका अनुसार घर निर्माण सम्पन्न गर्न अझै एक करोड रकम आवश्यक छ। तर सङ्घीय सरकारले यस वर्ष बजेट छुट्याएको छैन।

‘हामीले दातृ निकाय खोजिरहेका छौँ, स्थानीय र प्रदेश सरकार समक्ष माग राखिरहेका छौँ,' सुनारले भने, ‘रकमको जोहो भयो भने काम अघि बढ्छ। हामीले नमुना बस्ती बनाउन खोजेका हौँ, अहिले यहाँ बिजुली, खानेपानी र ढल निकासको निकै समस्या छ। त्यो पनि केही समयमै समाधान हुन्छ।’

ढुक्क हुनुहोस् : मुख्यमन्त्री
हलिया मुक्ति दिवसको शुभकामना बाँड्न उनीहरूको बस्तीमै पुगेका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले बाँकी रहेका हलियाका समस्या समाधान गर्ने आश्वासन दिए। तपाईंहरूका बाँकी रहेका समस्या हामी समाधान गर्छौं। तपाईंहरू नआत्तिनुहोस्, 'मुख्यमन्त्री भट्टले भने, ‘ढुक्क हुनुहोस्, प्रदेश सरकार तपाईँहरूको साथमा छ। तपाईंहरूको बस्तीमा स्वास्थ्य,शिक्षा,सडक र खानेपानीको पनि पहुँच पुग्छ।’

मुख्यमन्त्री भट्टले मुक्तहलियाका बेरोजगार युवाहरुलाई मुख्य प्राथमिकतामा राखेर रोजगारी दिइने बताए। ‘हामीले तपाईँहरूका समस्या नजिकबाट बुझेका छौँ। बास पाए पनि गाँस र कपासको अझै अभाव छ, हामीलाई कृषिको माध्यमबाट भए पनि तपाईँहरूलाई रोजगारी दिन्छौँ, विभिन्न आय आर्जनका तालिम प्रदान गर्छौं,’ उनले भने।

भदौ २२, २०७८ मंगलबार ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।