सेयर शिक्षा : सेयर बजारमा प्रवेश अगाडि जान्नै पर्ने २३ विषय
काठमाडौं : सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता खोल्नेको संख्या सोमबार सम्म ४२ लाख ६ सय पुग्यो। सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडका अनुसार ३३ लाख ६१ हजार १७१ ले ‘मेरो सेयर’को आइडी र पासवर्ड लिएका छन्।
अनलाइन मार्फत सेयर किनबेच गर्न टिएमएसको पासवर्ड लिएकाको संख्या ९ लाख भन्दा धेरै रहेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुली बताउँछन्।
कोरोना महामारी फैलनु अगाडि अनलाइन कारोबार गर्न आइडी र पासवर्ड लिनेको सङ्ख्या एकदमै न्यून थियो। कनेक्ट आइपिएस नलिएका लगानीकर्ताले अनलाइन कारोबार गर्न पाएका थिएनन्।
कनेक्ट आइपिएस जम्मा ५ लाख ६ हजारले चलाउने गरेका थिए। त्यसमा पनि एक दुई हजारले मात्र सेयर किन्न कनेक्ट आइपिएस प्रयोग गर्थे। सेयर बजारमा लगानीकर्ताको संख्या नै कम भएपछि गिरावट आएको अनुभव सुनाउँछन् नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार।
कोरोना महामारीको बेलामा साना लगानीकर्ताको संख्या ह्वात्तै बढ्यो। तर लगानी गर्नेहरूको संख्या भने कम रहेको ब्रोकरहरूको बुझाई छ। लगानीकर्तामाझ सेयर शिक्षा राम्रोसँग पुग्न सकेन।
‘कोरोना महामारी भन्दा अगाडि सम्म त हामी स्कुल र कलेजमा समेत गएर तालिम दिने गरेका थियौ’ रौनियार भन्छन्, ‘कोरोना महामारी सुरु भए पछि हामी अनलाइनमा मात्रै सीमित भएका छौ।’
सेयर बजारमा लगानीकर्ता संख्या बढे पनि ज्ञानको अभावका कारण साना लगानीकर्ता फस्न सक्ने उनको निष्कर्ष छ।
नेपाल पूँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल पुँजी भएर पनि बजारमा आउन नसकेका वा सेयर बजारको ज्ञान नभएर हच्किएका मानिसलाई सेयर बजारमा प्रवेश गराउन ‘सेयर बजार सचेतनामूलक अभियान’ नै सुरु गरेको विगतको अनुभव सुनाउँछिन्।
नेपालका विभिन्न जिल्लामा पुगेर तालिम दिएको बताउने पोखरेल सेयरबारे जान्न खोज्ने महिलाको संख्या धेरै रहेको बताउँछिन्।
स्थानीय तह र विद्यालयमा नै सेयर सम्बन्धी शिक्षा दिनु पर्ने उनको भनाई छ।
सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई अनलाइनमार्फत नै शैक्षिक सामाग्री राख्ने गरेको छ।
सेयर बजारमा प्रवेश गर्नु अगाडि यस्ता विषय जाने लगानीकर्तालाई सहज हुनसक्छ।
प्रतिसेयर बजार मूल्य
कुनै सेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ। प्राथमिक सेयरको मुख्य सय रुपैयाँ निर्धारण गरिएको हुन्छ भने दोस्रो बजारमा गएपछि यसको मूल्य बढ्ने घट्ने हुन्छ।
प्रतिसेयर आम्दानी
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ। प्रतिसेयर आम्दानीले सेयरवालाहरू तथा कम्पनी भन्दा बाहिरका व्यक्तिहरूले पाउने रकम निर्धारण गर्छ। प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ।
नेट वर्थ
कम्पनीको चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरूको कूल जोड नै कम्पनीको नेट वर्थ हो। नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ।
धितोपत्र दलाल
ग्राहकको तर्फबाट धितोपत्र खरिद बिक्री गरिदिने धितोपत्र व्यवसायीलाई धितोपत्र दलाल भनिन्छ।
मर्चेण्ट बैङ्क
धितोपत्रको प्राथमिक निष्कासन कार्य प्रबन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त सङ्कलन तथा विवरण जस्ता कार्यहरू गर्ने संस्थालाई मर्चेन्ट बैङ्क भनिन्छ।
धितोपत्र व्यापारी
प्राथमिक बजारमा निष्कासन भएका धितोपत्रहरु सबै वा केही खरिद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रबन्ध गर्ने जस्ता कार्यहरू गर्ने धितोपत्र व्यवसायीलाई धितोपत्र व्यापारी भनिन्छ। धितोपत्र व्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरिद बिक्री कारोबार गर्दछ।
बजार निर्माता
नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरिद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ।
सेयर रजिस्ट्रार
सङ्गठित संस्थाहरूको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिला खारेज वा नामसारी गर्ने र सेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई सेयर रजिस्ट्रार भनिन्छ।
धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली
सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरिद बिक्रीको रेकर्ड, नामसारी, हस्तान्तरण जस्ता कार्यहरू सरल र छिटो छरितो रूपमा सम्पन्न गर्न सघाउ पुर्याउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ।
निक्षेपकर्ताहरुले बैङ्कमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन्। यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली सेयर निस्कने जस्ता समस्याहरू हटाउँदछ। साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ।
प्रत्याभूति
प्राथमिक बजारमा निष्कासन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरिद गर्ने कबुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ। प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे बापत सम्बन्धित निष्कासनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शुल्क प्राप्त गर्दछन्।
विवरण पत्र
सार्वजनिकरुपमा धितोपत्र निष्कासन गर्नु अघि सम्बन्धित सङ्गठित संस्थाले विवरण पत्र प्रकाशन गर्नुपर्दछ। विवरण पत्रमा धितोपत्र निष्कासन गर्न चाहने सङ्गठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरू खुलाइएको हुन्छ र लगानीकर्ताहरूलाई उक्त विवरणहरूको आधारमा सम्बन्धित सङ्गठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ।
धितोपत्रको अधिक र न्यून माग
सर्वसाधारणमा निष्कासन खुल्ला गरिएका धितोपत्र खरिदका लागि धेरै दरखास्त परी निष्कासन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ। धितोपत्रको अधिक माग भएको स्थितिमा कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको छ।
थप मूल्य
धितोपत्र निष्कासन गरिने मूल्य र अङ्कित मूल्यबीचको फरकलाई प्रिमियम भनिन्छ। धितोपत्रको अङ्कित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्कासन गरिएको अवस्थालाई प्रिमियममा धितोपत्र निष्कासन गरिएको भनिन्छ।
खरिद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य
कुनै सम्भावित खरिदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई खरिद प्रस्ताव अर्थात् अफर प्राइस भनिन्छ। धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरूद्वारा अङ्कित गराइएको खरिद मूल्य र बिक्री मूल्य मिलेपछि धितोपत्र खरिद बिक्री कारोबार सम्पन्न हुन्छ।
सूचीकृत धितोपत्रको चुक्ता मूल्य
सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ।
बजार पुँजीकरण
धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पुँजीकरण भनिन्छ। बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पुँजीकरण प्राप्त हुन्छ।
बजार परिसूचक
सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो। सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परिसूचक बढ्दछ भने घटेमा घट्दछ। नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि. ले प्रत्येक दिन यस प्रकारको परिसूचक तयार गर्दछ, जसलाई नेप्से इन्डेक्स भनिन्छ।
मूल्य संवेदनशील सूचना
कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनस शेयर निष्कासन सम्बन्धी घोषणा, व्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरू, अन्य पक्षहरूसँग हुने महत्त्वपूर्ण सम्झौताहरू तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुर्याउने घटना तथा अन्य सूचना र जानकारीहरूलाई मूल्य संवेदनशील सूचना भनिन्छ।
भित्री कारोबार
नियमानुसार कम्पनीका लगानीकर्ताहरू समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भई नसकेका कम्पनीको सूचनाहरूको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ। यस प्रकारको कारोबार गर्न प्रचलित व्यवस्थाले बन्देज लगाएको छ।
अधोन्मुख (बियर) र उन्नतोन्मुख (बुलिस) धितोपत्र बजार
धितोपत्रको उन्नतोन्मुख बजार भन्नाले बजारको क्रमिकरुपमा उँभो लाग्दै गरेको स्थितिलाई जनाउँछ। यस प्रकारको बजारमा उद्योग, बैङ्किङ, बिमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल व्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ। यस वेला सूचीकृत कम्पनीहरूको सेयरको मूल्य बढी रहेको हुन्छ। अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ। यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परिसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरूमा निराशाको वातावरण रहन्छ।
सञ्चालकहरू र सञ्चालक समिति
कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रबन्ध, अधिकारको प्रयोग तथा कर्तव्यको पालना गर्ने जिम्मेवारी बोकेका व्यक्तिहरू नै कम्पनीको सञ्चालक हुन। कम्पनीका सञ्चालकहरूको नियुक्ति प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरूद्वारा र तत्पश्चात् साधारण सभाद्वारा हुने गर्दछ। कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको शेयर लिएको हुनु पर्दछ।
वार्षिक साधारण सभा
कम्पनीले वर्ष भरीमा गरेको काम कारबाही, उपलब्धि, समस्या तथा भावी योजनाहरूको सम्बन्धमा सेयरवालाहरूलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र अन्य महत्त्वपूर्ण विषयवस्तुहरू अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने सेयर धनीहरूको सभालाई वार्षिक साधारण सभा भनिन्छ। नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने व्यवस्था रहेको छ।
प्रतिनिधि
कम्पनीको वार्षिक साधारण सभामा कुनै सेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएमा निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार समेत दिएको अन्य कुनै व्यक्तिलाई प्रतिनिधि भनिन्छ। कुनै पनि कम्पनीको सेयरवालाले सोही कम्पनीको अर्को सेयरवालालाई मात्र यस प्रकार प्रतिनिधि मनोनीत गर्न सक्छ।
भदौ २१, २०७८ सोमबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।