सुदूरपश्चिममा पहिलोबाट चौथो बन्यो एमाले, ठुलो दल बन्यो एकीकृत समाजवादी 

सुदूरपश्चिममा पहिलोबाट चौथो बन्यो एमाले, ठुलो दल बन्यो एकीकृत समाजवादी 

धनगढी : निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीमा रोज्न प्रदेश सभा सदस्य र जनप्रतिनिधिलाई दिएको समय भोलि मंगलबार सकिँदैछ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले  निर्वाचन आयोगले दिएको समय सकिनु एक दिन अघिसम्म पनि भदौ ९ गते दर्ता भएका एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गराइरहेका छन्।

सुदूरपश्चिम प्रदेशमा आज सोमबार एमालेका एक जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन्। नेकपा एमालेका २५ मध्ये १४ प्रदेश सांसदले एकीकृत समाजवादी रोजेका छन्। १४ सांसद सहित एकीकृत समाजवादी पार्टी सुदूरपश्चिममा ठुलो दल बनेको छ। एमाले सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो दल थियो। 

एमाले प्रदेश सभामा चौथो दल बन्न पुगेको छ। १४ सांसद सहित समाजवादी पहिलो दल बनेको छ। एमालेको सांसद संख्या घट्ने बित्तिकै नेकपा माओवादी केन्द्र १३ सांसद सहित दोस्रो दल नै रहेको छ।

१२ सांसद सहित नेपाली कांग्रेस तेस्रो दलमै रहँदा पहिलो दल रहेको नेकपा एमाले ११ सांसद सहित चौथो दल बन्न पुगेको हो। प्रदेश सभामा जसपाका २ सांसद छन्। 

सोमवार प्रदेश सांसद माया तामाङ (बोहरा)ले  एकीकृत समाजवादीमा सनाखत गरेकी हुन्। यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै एकीकृत समाजवादीमा सनाखत गराइसकेका थिए।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी, तारा लामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गरेका थिए।

यसअघि माधव गुटमा रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, पूर्व मन्त्री कृष्णराज सुवेदी, अर्थ राज्यमन्त्री अर्चना गहतराज र सांसद हर्कबहादुर कुँवरले भने सनाखत गर्ने नगर्ने केही भनेका छैनन्। 

पूर्व मन्त्री पठानसिंह बोहरा, सांसद रतन थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी भने विगतमा पनि ओली समूहमै थिए। 

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गराउनुपर्ने समय सीमा तोकेको छ। समय सकिन एक दिन मात्रै बाँकी छ।

भदौ २१, २०७८ सोमबार १७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।