चुरेमा केबलकार उद्घाटन गरेका पूर्व अर्थमन्त्री पौडेल भन्छन् : पहिरोबारे म संसद्मा कुरा उठाउँछु

चुरेमा केबलकार उद्घाटन गरेका पूर्व अर्थमन्त्री पौडेल भन्छन् : पहिरोबारे म संसद्मा कुरा उठाउँछु

बुटवल : आफू अर्थमन्त्री हुँदा चुरे क्षेत्रमा केबलकार निर्माणलाई प्रोत्साहित गरेका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले चुरो क्षेत्रमा पहिरो बढेपछि घटनास्थलको अवलोकन गर्न पुगेका छन्।

बुटवलको ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा गएको चुरेको पहिरो अवलोकन गर्न पुगेका उनले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए। उनले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए। 

‘यसको नियन्त्रण र बस्ती सुरक्षा कसरी गर्न सकिन्छ। आवश्यक बजेट र प्रविधि तथा जनशक्ति परिचालनका लागि सरकारले हेलचेक्राई गर्न पाउँदैन’ उनले भने‘म त्यसको पहल गर्छु। आगामी संसद् अधिवेशनमा यो महत्त्वपूर्ण विषयको रूपमा उठाउनेछु।’ 

बुटवल-नुवाकोटमा ऐतिहासिक सम्पदा मासेर चुरे क्षेत्रमा सिद्धार्थ केबुलकार निर्माण हुन लागेको छ। केबुलकार निर्माण भइरहेको बुटवल-वसन्तपुर चुरे जोखिम क्षेत्र हो। ९ फागुनमा तत्कालीन अर्थमन्त्री  पौडेलले नै सो केबलकारको शिलान्यास गरेका थिए। बुटवल-वसन्तपुर केबुलकार १ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

भदौ १३ र १४ गते आएको वर्षाका कारण सो क्षेत्रका बस्तीलाई नै जोखिम पार्ने गरी पहिरो गइरहेको छ। चुरे क्षेत्रबाट आएको पहिरोले १० घरमा क्षति पुर्याउनुका साथै ६० भन्दा बढी घरमा लेदो सहितको पहिरो पसेको थियो। 

०५५ सालमा पहिरोपछि जापान सहयोग नियोग (जाइका)ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रमा बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकाल्दै तत्कालीन बुटवल नगरपालिकालाई सुझाव दिएको थियो। तर सुझाव कार्यान्वयन नगर्दा २३ वर्षपछि बुटवलमा चुरेमा पहिरो झरिरहेको छ।

चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्चका संयोजक कमल गौतमले पहिरो पौडेलसहितको टोलीसँग नियन्त्रणबारे छलफल भइरहेको बताए। ‘वाल उठाएर रोक्न सकिन्छ या बस्तीलाई अन्यत्र सार्ने, यसबारे छलफल भइरहेको छ,’ उनले भने।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले अहिले पहिरो गएको क्षेत्रमा हिलो निकाल्ने काम भइरहेको र पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे कार्यक्रममा मार्फत समन्वय भइरहेको बताए। 

चुरे क्षेत्रमा केबुलकार : विनासलाई निम्तो

छुनै नहुने चुरेमा डोजर : तल्लो सिद्धबाबादेखि आदर्शनगरसम्म २५ वटा पहिरो

 

 

भदौ २१, २०७८ सोमबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।