लुम्बिनीमा कांग्रेस महाधिवेशन रौनक : देउवालाई टक्कर दिँदै पौडेल पक्ष

लुम्बिनीमा कांग्रेस महाधिवेशन रौनक : देउवालाई टक्कर दिँदै पौडेल पक्ष

बुटवल : नेपाली कांग्रेसको महाधिवेशन नजिकिंदै गर्दा जिल्ला जिल्लामा महाधिवेशनको सरगर्मी बढ्न थालेको छ। 

अझ कतिपय जिल्लामा वडा अधिवेशन सम्पन्न भई क्षेत्रीय प्रतिनिधि चुनिएसँगै नेपाली कांग्रेस भित्र जिल्ला स्तरमा अधिवेशनको सरगर्मी बढेको हो। अहिले जिल्लाका नेताहरूमा उम्मेदवारी घोषणा गर्ने होड चल्न थालेको छ। साबिक राप्ती र भेरी अञ्चलका ६ जिल्लामा पनि अहिले जिल्लाको नेतृत्व लिन अधिवेशन लक्षित भेटघाट तथा गुट उपगुटका छलफलले तीव्रता पाएको छ।

बाँकेका स्व. सुशील कोइराला र दाङका स्व. खुमबहादुर खड्का बाट राजनीतिमा प्रेरित भएकाहरू नै अहिले जिल्ला अधिवेशनमा नेतृत्व हत्याउन दौडधुप गरिरहेका छन्। स्व. कोइराला र खड्काको राजनीति प्रभाव समेत रहेका जिल्ला स्तरका नेताहरू अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा विभाजित हुँदै नेतृत्वका लागि दौडधुप गरिरहेका छन्। 

दाङ देउवा पक्षको पकड  

लुम्बिनी प्रदेशको दाङ जिल्लामा नेतृत्व हाँक्ने नेताहरूको चर्चा हुन थालेको छ।

कांग्रेस प्रभावशाली नेता खुमबहादुर खड्काको निधन पछि पनि दाङमा संस्थापन पक्ष अर्थात् देउवा पक्षको बाहुल्यता छ। कुनै बेला खड्काको विकल्प छैन भन्नेहरू नै उनको निधन पछि पनि दाङमा संस्थापन पक्षलाई मजबुत राख्न सफल भएका छन्। जिल्ला अधिवेशनमा पनि संस्थापन पक्षकै दबदबा कायम हुने निश्चित जस्तै छ। हाल जिल्ला सभापति कृतिबहादुर खड्का देउवा पक्षका हुन्। खड्का जिल्ला नेतृत्वमा दोहोरिने इच्छा नगरेकाले जिल्लामा नयाँ अनुहारले नेतृत्व पाउने छ।

अबको जिल्ला अधिवेशनमा सबैभन्दा बलियो प्रतिस्पर्धीका रूपमा कमलकिशोर घिमिरेलाई लिइएको छ। गएको जिल्ला अधिवेशनमा हालका सभापति खड्कासँग थोरै मतले पराजित घिमिरे जिल्लाका सबैभन्दा बलियो प्रतिस्पर्धी भएको कांग्रेस नेताहरू बताउँछन्। 

कुनै बेला खुमबहादुर खड्काका विरोधीको रूपमा चिनिने घिमिरे अहिले देउवा पक्षमा छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलसँग प्रदेश सभामा निर्वाचन लडेका घिमिरे केन्द्रीय नेताहरूलाई रिझाउन माहिर छन्। त्यसो त उनका दाजु कृष्णकिशोर घिमिरेको केन्द्रमा प्रभाव भएका कारण पनि यस पटक घिमिरेलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ। उनी महामन्त्री शशाङ्क कोइरालासँग पनि नजिक रहेको कांग्रेस नेताहरू बताउँछन्। घिमिरे जिल्लाको युवा पुस्तामा पनि लोकप्रिय मानिन्छन्। 

यता देउवा पक्षबाटै जिल्ला नेतृत्वका अर्का आकांक्षी हुन् भूपबहादुर डाँगी। दुई पटक सम्म क्षेत्रीय सभापति भइसकेका डाँगी अहिले जिल्ला नेतृत्वमा जाने इच्छा देखाएका छन्। डाँगी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीसँग पराजित भएका थिए। त्यस बाहेक नेताहरू राजु खनाल, जानकीलाल बस्नेत, बुद्धिराम भण्डारी, भरत न्यौपानेले पनि जिल्ला नेतृत्वमा आकांक्षा देखाएका छन्।

त्यसै गरी वरिष्ठ नेता पौडेल समूहबाट अहिलेका सचिव शंकरप्रसाद डाँगी, प्रदेश सांसद शङ्कर गिरी र नेता खगराज पाण्डेले आकांक्षा व्यक्त गरेका छन्।

त्यस्तै लुम्बिनी प्रदेशको अध्यक्षमा दाङबाट नेता प्रदीप शर्माले आकांक्षा देखाएका छन्। केन्द्रीय समितिमा दीपक गिरीले दोहोरिने इच्छा व्यक्त गरेका छन्।  

‘हामी भित्रको असमझदारीले गर्दा दाङ वामपन्थीको हातमा जान थाल्यो। हामी भित्रै विश्वास भएन। म उठ्ने भन्दा पनि पनि कांग्रेसलाई बलियो कसरी बनाउन सकिन्छ भन्नेमा छु। मैले बोलेको छैन। सरसल्लाह गर्छु। सर्वसम्मत गर्न सक्यौ भने राम्रो परिणाम देला।’ सभापतिका बलिया दाबेदार मानिएका घिमिरेले भने। 

सभापतिका अर्का आकांक्षी भूपबहादुर डाँगी आफूले २ कार्यकाल क्षेत्रीय सभापतिको रूपमा नेतृत्व गरेकाले अबको प्रमुख दाबेदार आफू रहेको बताउँछन्। उनले आफ्नो योगदान, जिल्लामा सङ्गठन विस्तार र पार्टीलाई बलियो बनाउने योजना सहित नेतृत्वमा आकांक्षा देखाएको बताए।

प्युठानमा बढ्यो सरगर्मी

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका कांग्रेस नेता डा. गोविन्दराज पोखरेलको गृह जिल्ला प्युठानमा जिल्ला अधिवेशनको सरगर्मी बढेको छ। जिल्लामा यस पटक हालका सभापति अमर भण्डारीले पुनः दोहोरिने इच्छा व्यक्त गरेका छन्। उनी देउवा पक्षका हुन्। त्यस बाहेक देवेन्द्र बर्मा, विष्णु गिरी, शिव रिजाल पनि सभापतिका आकांक्षी हुन्। १३औं महाधिवेशनमा हालका सभापति भण्डारीसँग ४६ मत अन्तरले पराजित भएका रिजाल अहिले प्रमुख दाबेदार संस्थापन पक्षबाट रहेको कांग्रेस नेताहरू बताउँछन्।

वर्तमान सभापति अमर भण्डारीले सहमति र सहकार्य बाट अगाडि बढ्ने बताए। ‘पार्टीमा लागेपछि इच्छा आकांक्षा हुन्छन्, त्यसलाई स्वाभाविक मान्नुपर्छ। त्यसका लागि अहिले छलफल भइरहेको छ’, उनले भने।

बर्दिया, बाँके, रूकुमपूर्व र रोल्पामा पनि बढ्यो चहलपहल

कांग्रेस जिल्ला अधिवेशनको सरगर्मी बर्दिया, रूकुमपूर्व र रोल्पामा पनि बढेको छ। बर्दियामा सभापति शेरबहादुर देउवा समूहबाट अरुणप्रताप सिंह राठौर सभापतिका बलिया दाबेदार हुन्। त्यसै गरी पौडेल समूहबाट विद्याप्रसाद खनाल आकांक्षी छन्। त्यस बाहेक हालका उपसभापति मिश्रीलाल यादव र महासमिति सदस्य तेजबहादुर भाट पनि जिल्ला सभापतिमा आकांक्षी देखिएका छन्। देउवा खेमाबाट केन्द्रीय सदस्य किशोरसिंह राठौर र पौडेल पक्षबाट अहिलेका पार्टी सभापति सञ्जय गौतमले जसलाई साथ दियो, उही अगाडि बढ्ने निश्चित छ।

त्यस्तै स्व. सुशील कोइरालाको गृह जिल्ला बाँकेमा कोइराला पक्ष र संस्थापन पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। जिल्लामा कृष्णप्रसाद सिटौला पक्षका नेताहरू पनि सभापतिका आकांक्षी छन्। देउवा समूहबाट राजकुमार बर्मा, निरञ्जन सिजापति, बादशाह कुर्मी र लक्ष्मीनारायण शाह सभापतिका आकांक्षी हुन्।

त्यस्तै सिटौला पक्षका ज्ञानु केसी, नारायण गौडेल, लक्ष्मीनारायण शाह, हेमन्त कर्माचार्य र सुनिल राणाले पनि नेतृत्वको लागि दाबी गरेका छन्। हालका सभापति किरण कोइराला पनि पुनः दोहोरिने इच्छा व्यक्त गरेकी छिन्। उनी पौडेल पक्षकी मानिन्छिन्। किरण स्व. सुशीलकी भाइ बुहारी हुन्।

यता रुकुम पूर्वमा हालका जिल्ला सभापति केशरमान पुन दोहोरिने चर्चा छ। जिल्लामा उनी सँगै सचिव भीमबहादुर खड्काले पनि नेतृत्वका लागि आकांक्षा देखाएका छन्। प्रदेश विभाजन गर्दा टुक्रिएको रुकुममा अन्य प्रदेशमा जस्तो नेतृत्वका लागि हानथाप भने छैन।

त्यस्तै रोल्पामा देउवा समूहबाट मानबहादुर खत्री र श्रीकुमारी रोकाको सभापतिमा चर्चा छ। त्यस्तै पौडेल पक्षबाट लेखनाथ आचार्य, किशोरकुमार आचार्य र खड्कबहादुर खत्रीले सभापतिमा आकांक्षा देखाएका छन्। लेखनाथ पूर्व सांसद हुन् भने किशोरकुमार वर्तमान उपसभापति तथा खत्री कोषाध्यक्ष हुन्।

भदौ २१, २०७८ सोमबार १०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।