छुनै नहुने चुरेमा डोजर : तल्लो सिद्धबाबादेखि आदर्शनगरसम्म २५ वटा पहिरो

छुनै नहुने चुरेमा डोजर  : तल्लो सिद्धबाबादेखि आदर्शनगरसम्म २५ वटा पहिरो

बुटवल : १३ र १४ भदौको भारी वर्षापछि बुटवल, ज्योतिनगरमा पहिरो गयो। चुरे क्षेत्रबाट आएको पहिरोले १० घरमा क्षति पुर्यायो भने ६० भन्दा बढी घरमा लेदो पस्यो।

२३ वर्षपछि ज्योतिनगरमा चुरेको पहिरो जाँदा ५७ घरमा क्षति पुग्यो। अहिलेको पहिरोले पनि ५० भन्दा बढी घर जोखिममा छन्। चुरे पहिरोले ज्योतिनगर, आदर्शनगर र लक्ष्मीनगरमा थप क्षति हुने सम्भावना बढी छ। 

२०५५ सालमा पहिरो गएपछि जापान सहयोग नियोग (जाइका) ले गरेको अध्ययनले ज्योतिनगर क्षेत्रबाट बस्ती हटाउन र चुरे पहाडलाई असर गर्ने कुनै पनि काम गर्न नहुने निष्कर्ष निकालेको थियो।

त्यो बेला जाइकाले यो क्षेत्र कान्छो चुरे पहाड भएकाले महाभारतको जस्तो नभई बलौटे माटो भएको हुनाले र पहिरोको जोखिम रहेको, माथिबाट आएको पानी वर्षायाममा जमिन मुनिबाट जानुपर्नेमा संरचना निर्माणपछि ५ फुट तलसम्म जग खन्दा पानी ब्लक भएका कारण पहिरो जाने जोखिम रहेकोले चुरे पहाडका ठूला रुख हटाउन सुझाव दिए पनि त्यसको कार्यान्वयनमा नगरपालिकाले चासो दिएन।

संरक्षणभन्दा बढी चुरेको अतिक्रमण र यस क्षेत्रमा मानवनिर्मित संरचना बन्न थाले। परिणामतः २३ वर्षपछि मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति हुने गरी पहिरो गयो। 

चुरे तिनाउ बहुउद्देश्य विकास मञ्चका संयोजक कमल गौतम जाइकाका प्रतिनिधि सहितको निरीक्षण टोलीले दिएको सुझाव अक्षरस कार्यान्वयन नगर्दा अहिलेको अवस्थामा आएको बताउँछन्। ‘चुरेमा खोस्रिन हुँदैन। संरचना बनाउने त कल्पना पनि गर्नुहुँदैन भन्ने सुझाव थियो। तर कार्यान्वयनमा तत्कालीन बुटवल नगरपालिकाले चासो दिएन। पछि केही प्रयास गरे पनि परिणामुखी भएन,’ उनले भने।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्कीले भूकम्पपछि धाँजा फाटेको चुरेमा पानी पसेपछि लेदो सहितको पहिरो गएको बताए। ‘२०५५ सालमै चुरेलाई छुनु खतरनाक भनिएको भए पनि चुरेमा अतिक्रमण भएकाले पनि पहिरो गएको हुनसक्छ,’ उनले भने, ‘अब यसको दीर्घकालीन समधान नखोजिए बुटवलमा मेलम्चीको अवस्था आउन सक्छ।’

अहिले लेदो सहितको चुरे पहिरो आए पनि वर्षेनी लक्ष्मीनगर, ज्योतिनगर क्षेत्रमा सुख्खा पहिरो भने गइरहेको थियो। अहिले पनि तल्लो सिद्धबाबादेखि आदर्शनगरसम्म २५ वटा र पाखापानीदेखि बुटवल- १ को सीमासम्म ८ वटा साना पहिरो गएका छन्।

पछिल्लो समय पाखापानामा पनि निरन्तर पहिरो गइरहेको छ। चुरेमाथि डोजर लगाएर सडक निर्माण गरेपछि पाखापानीमा पहिरो झरिरहेको छ। त्यही पहिरोले बेला-बेलामा पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध हुने गरेको छ।

पाखापानीको पहिरो जाली लगाएरै समधान गर्न सकिने भए पनि लक्ष्मीनगर, ज्योतिनगर, आदर्शनगर, चिडियाखोलाको पहिरो जालीले रोक्न नसकिने भएकाले अहिले भूगर्वविद्सँग राय लिएर समधानका लागि पहल सुरु गरिएको मञ्चका संयोजक गौतमले बताए। उनले चुरेको संरक्षणका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलमार्फत सरकारको ध्यानाआर्षण समेत गराएको बताए।

स्थानीय सरकारकै लापरबाही
२०५५ सालमा जाइकाका प्रतिनिधिले दिएको सुझाव कार्यान्वयनमा चुकेको बुटवल उपमहानगरपालिका चुरेको संरक्षणमा भन्दा बढी चुरेलाई चलाउन थाल्यो। चक्रपथको नाममा चुरे फेदमा डोजर चलायो। चुरेको जोखिमलाई नजरअन्दाज गरी चक्रपथ विस्तारमा लागेको उपमहानगरपालिकाले स्थायी समधानमा चासो नदिएको ज्योतिनगरका स्थानीय शान्ती मल्ले बताइन्।

‘चुरे फेदमा डोजर चल्यो। माथि पहाडमा संरचना बढाउन मेसिनरीको प्रयोग भयो। त्यही कारणले आज यसरी पहिरो गएको हो,’ उनले भनिन्। 

चुरे संरक्षणको लगानी उपलब्धिविहीन
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले यस क्षेत्रमा चुरे संरक्षणका लागि केही प्रयास गरे पनि निष्प्रभावी बनेको छ। गत वर्ष २ करोडको लगानीमा पहिरो रोकथामको प्रयास गरे पनि उपलब्धिमुलक हुन नसकेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्कीले बताए।

‘चुरेको भूबनोट नै कमजोर हुने भएकाले दीर्घकालीन रुपमा ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र बसोबासको लागि उपयुक्त देखिँदैन। त्यसैले यसको दीर्घकालीन समधान खोजिनुपर्छ,’ उनले भने।

उनले भूगोलले साथ दिने ठाउँमा जाली, आरसिसी र मेसिनरी वाल तथा पहिरो क्षेत्रमा बायो इन्जिनियरिङमार्फत हुनसक्ने क्षतिलाई न्यूनीकरणका लागि योजना बनाएको समेत बताए।

भदौ २०, २०७८ आइतबार १९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।