कांग्रेस महाधिवेशनमा लुम्बिनी : नेतृत्वका आकाङ्क्षी गुट भेला र छलफलमा व्यस्त
साबिक लुम्बिनी अञ्चलका जिल्लाहरू रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, नवलपरासीमा वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आकाङ्क्षी प्रचारप्रसारमा लागेका छन्।
राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने रुपन्देहीका सांसद एवं गृहमन्त्री बालकृष्ण खाँड, गुल्मी क्षेत्र नं. २ का नेता चन्द्र भण्डारी, पश्चिम नवलपरासीका देवेन्द्रराज कँडेल, कपिलवस्तुका दिपकुमार उपाध्याय, रुपन्देहीकै भरत कुमार शाह, अर्घाखाँचीकी पुष्पा भुसाल, पाल्पाका वीर बहादुर राना लगायतका नेताहरूले समेत साबिक लुम्बिनी अञ्चलबाट प्रतिनिधित्व गर्ने भएकाले जिल्ला नेतृत्वलाई चासोका साथ हेरिएको छ।
लुम्बिनीका सबै जिल्लामा देउवा र पौडेल दुई पक्षबीचनै प्रतिस्पर्धा हुने देखिएको छ। कृष्ण प्रसाद सिटौला पक्षको साबिक लुम्बिनी अञ्चलमा उपस्थिति नगण्य छ। यति बेला केन्द्रीय स्तरका नेताहरू आफू निकट नेताहरूलाई नेतृत्व सुम्पिन गुट भेला तथा छलफल चलाइरहेका छन्।
रुपन्देही कांग्रेस देउवा समूह भित्रै दुई गुट
कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँडको गृह जिल्ला रुपन्देहीमा नेतृत्व कसको हुने बहस सुरु भएको छ। अहिलेका जिल्ला अध्यक्ष अब्दुल रज्जाक लगातार २ पटकसम्म जिल्लाको नेतृत्व समालेका कारण जिल्लाले नयाँ अनुहारको नेतृत्व पाउनेछ। जसका लागि अहिले कांग्रेस भित्र आधा दर्जन भन्दा बढी आकाङ्क्षी देखिएका छन्।
शेर बहादुर देउवाका विश्वास पात्र बालकृष्ण खाँडका सहोदर भाइ हाल जिल्ला सचिव समेत रहेका रामकृष्ण खाँड जिल्ला सभापतिका दाबेदार छन्। सचिवमा २ पटक निर्वाचित रामकृष्ण खाँडलाई सभापतिमा मुख्य दाबेदारको रूपमा लिइएको छ। उनी गएको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाबाट नगरप्रमुखमा पराजित भएका थिए।
देउवा समूहमा बालकृष्ण खाँड र भरत शाह दुवैले आफ्नो पक्षका नेतालाई सभापतिमा निर्वाचित गराउन गुट भेला चलाइरहेका छन्। खाँडले सहोदर भाइ रामकृष्ण खाँडलाई मुख्य दाबेदारको रूपमा प्रस्तुत गर्दा भरत शाह निकट मानिने हालका उपसभापति फणीन्द्र शर्मा जिल्ला सभापतिका अर्का मुख्य दाबेदार हुन।
त्यस्तै युवराज गिरी पनि सभापतिको बलिया दाबेदार हुन। उनी गत निर्वाचनमा रुपन्देही क्षेत्र २ बाट एमाले उपमहासचिव विष्णु पौडेलसँग उम्मेदवार बनेका थिए।
रामचन्द्र पौडेल समूहबाट रामचन्द्र ढकाल, अष्टभुजा पाठक, थानेश्वर घिमिरे र मातृका यादवको नाम चर्चामा छ।
गुल्मीमा पौडेल समूह बलियो
नेपाली कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारीको गृह जिल्ला गुल्मीमा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। हालका जिल्ला सभापति भुवन श्रेष्ठ पौडेल पक्षकै हुन। उनले नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेका छन्। उनी सहित पौडेल समूहबाटै हालका जिल्ला सचिव खिलध्वज पन्थी पनि सभापतिका आकाङ्क्षी छन्।
त्यस्तै उपसभापति विष्णु बलाल पनि सभापतिको आकाङ्क्षी देखिएका छन्।
देउवा समूहका नेता भने मिलेर चुनाव लड्ने तयारीमा छन्। देउवा पक्षका छन्द पहराई, चन्द्र केसी केन्द्रमा जाने भन्दै जिल्ला नेतृत्वमा सहमतिको प्रयासमा छन्। देउवा समूहबाट कालीगण्डकी गाउँपालिकाका अध्यक्ष समेत रहेका वेद बहादुर थापा, दामोदर भुसाल जिल्ला सभापतिको आकाङ्क्षी हुन।
नेपाली कांग्रेसका गुल्मी जिल्ला सभापति भुवन श्रेष्ठ जिल्लाको नेतृत्व सर्वसम्मत बनाउने गरी छलफल अगाडि बढाइने बताउँछन्। त्यस्तै जिल्ला सचिव खिलज्वज पन्थीले राजनीति गरेपछि नेतृत्वसम्म पुग्ने इच्छा सवैमा भएको बताउँदै आफू सभापतिको आकाङ्क्षी रहेको बताए।
अर्घाखाँचीमा आधा दर्जन आकाङ्क्षी
अर्घाखाँचीमा पनि कांग्रेस जिल्ला अधिवेशनको रौनक बढ्न थालेको छ। पूर्वमन्त्री मानबहादुर विश्वकर्मा, नेतृ पुष्पा भुसालको गृह जिल्ला रहेको अर्घाखाँचीमा जिल्ला सभापतिका आकाङ्क्षीहरू पनि बढ्दै गइरहेका छन्।
अर्घाखाँचीमा हालका सभापति विष्णु खनाल दोहोरिने चर्चा छ। पौडेल पक्षका उनी अझै एक पटक जिल्ला नेतृत्व समाल्ने गरी आफूले तयारी गरिरहेको बताउँछन्।
त्यस्तै देउवा पक्षबाट नेता यादव घिमिरे र बाबुराम पौडेल पनि सभापतिका आकाङ्क्षी छन्। यसै गरी उपसभापति शान्त भण्डारी र सचिव छविलाल पौडेल, ईन्द्रमणी पौडेल पनि सभापतिका आकाङ्क्षी छन्। ईन्द्रमणी पौडेलले काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्ने घोषणा गरेको र त्यसको तयारीमा रहेको बताए।
पाल्पामा पौडेल पक्ष हाबी
रामचन्द्र पौडेल पक्षको प्रभाव रहेको पाल्पामा जिल्ला सभापतिको सबैभन्दा दाबेदार नेता हुन हालका देवराज ढकाल। अघिल्लो जिल्ला सभापतिमा वीर बहादुर रानासँग पराजित भएका उनी हालका जिल्ला सभापतिका दाबेदार हुन। त्यस बाहेक जिल्ला सचिव झपेन्द्र गैरे, माधव नेपाल पनि सभापतिका आकाङ्क्षी छन्। उपसभापति ढकालले अघिल्लो अधिवेशनमा पराजित भएकाले पनि आफूले अहिले जिल्लाको नेतृत्व समाल्ने गरी तयारी गरिरहेको बताए।
त्यस्तै पौडेल समूहबाट रामपुर नगरपालिकाका मेयर रणबहादुर थापा, यामलाल तिमिल्सिना, कृष्णप्रसाद बस्याल पनि सभापतिका दाबेदार छन्। नेता कृष्ण प्रसाद बस्यालले दुईपटक क्षेत्रीय सभापति भएर काम गरिसकेकाले यस पटक जिल्लाको नेतृत्वका लागि अघि बढेको बताए।
कपिलबस्तु : पौडेल पक्षका आकाङ्क्षी धेरै
कांग्रेस नेता दीपकुमार उपाध्यायको गृह जिल्ला कपिलवस्तुमा पनि जिल्ला अधिवेशनको रौनक बढेको छ। देउवा समूहबाट राजेश आचार्य सभापतिको आकाङ्क्षी छन्। त्यसै गरी वरिष्ठ नेता पौडेल समूहबाट केशव श्रेष्ठ, अब्दुल कलाम, सुधाखर पाण्डेय पनि सभापतिका दाबेदार छन्।
नवलपरासीमा दुई पक्षीय पर्ख र हेरको अवस्थामा
जिल्ला अधिवेशनको रौनक अन्य जिल्लामा बढिरहेपनि पश्चिम नवलपरासीमा भने अझै पनि नेताहरू पर्ख र हेरको अवस्थामा छन्। देवेन्द्रराज कँडेलको गृह जिल्ला पश्चिम नवलपरासीमा देउवा र पौडेल पक्षबीचनै अधिवेशनमा प्रतिस्पर्धा हुने देखिएको छ। आगामी अधिवेशनमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका प्रस्तावित सभापतिका उम्मेदवार अर्जुनकुमार पोखरेलले सभापति पदमा दाबी गरेका छन्।
भदौ २०, २०७८ आइतबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।