दैलेखकी स्वस्तिका बनिन् १९ वर्षमै कांग्रेसको वडा सभापति
सुर्खेत : दैलेखकी स्वस्तिका महत १९ वर्षकी भइन्। उनले गत साल मात्रै नेपालगन्ज टेक्निकल कलेजबाट एचएसम्मको अध्ययन पुरा गरेकी छिन्।
१८ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महत दुल्लु नगरपालिका –३ को वडा सभापतिमा निर्वाचित भइन्।
महत राजनीतिक वातावरणमै हुर्किइन्। उनका बुवा भूपेन्द्रजंग महत कांग्रेस दैलेखको उपसभापति थिए। दुई वर्षअघि उनको मृत्यु भएको थियो।
उनकी आमा गाउँकै विद्यालयमा राहत शिक्षक छिन्। आमा बुवाले छोरी एचए पढेर स्वास्थ्यकर्मी बनेर जनताको सेवा गरोस् भन्ने सोचे पनि उनी राजनीतिमा होमिएकी छन्।
‘म राजनीतिक वातावरणमै हुर्किएँ, बुवा दैलेख पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो। उहाँका अधुरा कामलाई पुरा गर्नेछु,’स्वस्तिकाले भनिन्, ‘आमा बुवाले त मलाई स्वास्थ्यकर्मी बनेर जनताको सेवा गरोस् भन्ने सोच्नुभएको थियो, तर मैले बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा लागेँ।’
समाज रूपान्तरण गर्न राजनीतिको आवश्यकता देखेपछि बाटो मोडेको उनले बताइन्।
‘मलाई १३३ जना क्रियाशील सदस्य र पार्टीले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ,’ उनले भनिन्, ‘पहिला १६ जना सभापतिका लागि आकाङ्क्षी भए पनि मेरो मिसन र भिजनले मलाई विश्वास र भरोसा गर्नुभएको छ।’
राजनीतिसँगै उनले पढाइलाई पनि निरन्तरता दिने बताएकी छिन्। उनका भाइ सुर्खेतमा कक्षा ११ मा अध्ययनरत छन्।
वडामा पार्टीलाई चुस्त दुरुस्त राख्नका लागि कुनै गुटउपगुट नभनी सक्रिय र सक्षम व्यक्तिहरूलाई आफ्नो कार्यसमितिले सहयोग गर्ने उनको भनाई छ।
‘राजनीति पनि समाजको महत्त्वपूर्ण सेवा हो, त्यसैमा पनि राजनीतिप्रति युवा पुस्ताको वितृष्णा छ,’ उनले भनिन्, ‘त्यसलाई चिर्दै युवा पुस्तालाई आकर्षित गर्न सक्दो भूमिका खेल्नेछु।’
भदौ १९, २०७८ शनिबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।