मेहनतले बदलिएको छविलालको छवि 

मेहनतले बदलिएको छविलालको छवि 

धनगढी : २०४३ सालमा कैलालीको पथरैयामा जन्मिएका छविलाल चौधरीले आफू सपाङ्ग भएको थाहा नै पाएनन्।

आफ्नो बारेमा थाहा पाउँदा उनी दुई खुट्टा र दुई हातको सहारामा चल्ने भएका थिए। घण्टौँसम्म कसेर बोक्दा रक्तसञ्चार हुन नपाएर उनी अपाङ्ग भएको उनका आफन्तहरू बताउँछन्। उनी पनि यही भन्छन्।


‘करिब २ वर्षको हुँदा मेरो जेठो दाइ बिरामी हुनुभएको थियो रे, आमाले मलाई पिठ्यूँमै बोकेर पथरैयाबाट मुनुवा, मुनुवाबाट फेरि पथरैया लिएर घरमा राखेदेखि मेरा दुवै खुट्टा चल्न छाड्यो रे,’ उनले आफूले सुनेको कुरा हामीलाई सुनाउँदै भने, ‘आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न पाउनु भएन रे, अनि म यस्तो भएँ।’ सानैमा दुवै खुट्टा गुमाएका छविलाल त्यति बेला पूर्ण बेसहारा भए, जति बेला उनका बुबाको निधन भयो।


कमैया काम गरिरहेका बेला गोरु गाडाले किचेर उनको बुबाको ज्यान गएको थियो। ‘सायद बुवा भइदिएको भए मेरो उपचार हुने थियो होला, बिचरी आमालाई त दुई छाक टार्नकै लागि पसिना बगाउँदा फुर्सद थिएन,’ उनले भावुक हुँदै भने, ‘केही उपचार भएको भए कालिचरण सर जत्तिको हिँड्न सक्ने त हुने थिएँ।’ उनी आकाशतिर हेर्न थाले। सायद आँसु नझरोस् भनेर होला।
‘सानोमा दुःख पाएर होला सर आज चार खुट्टाले टेकेर हिँड्नुपरेको छ,’ सम्हालिँदै उनले भने। पथरैया मुक्त कमैया शिविरमा जन्मे हुर्केका छविलाल अहिले घोडाघोडी नगरपालिका–१ स्थित मुक्त कमैया शिविरमा एक छोरा र श्रीमतीसँगै बस्दै आएका छन्।
कहालीलाग्दो विगत पछिको सफलता


उनको विगत दर्दनाक छ। विपन्न परिवारमा जन्मिएको उनको बाल्यकाल अभाव मै बित्यो। बाल्यकालमै पिता वियोगको सामना गर्नुपर्यो। पछि उनले अपाङ्गताको सामना गर्नुपर्यो। अर्थात् उनका दुवै खुट्टा चलेनन्।


अपाङ्गता भएकै कारण उनले पारिवारिक र सामाजिक तिरस्कार बेहोर्नु पर्यो। उनलाई आमाले माया त गर्थिन्। तर, लामो समय आमाको ममता पनि पाउन सकेनन्। कारण थियो, श्रीमानको मृत्युपछि देवरसँग बिहे गर्नुपर्ने प्रचलन अनुसार उनकी आमाले आफ्नै काकासँग बिहे गरिन्। त्यसपछि उनको जीवन झन् जटिल मोडमा पुग्यो।


त्यसपछि उनले कमैयाका रूपमा अरूको घरमा काम गर्न थाले। यसैबीच सरकारले कमैया मुक्त घोषणा गर्यो। तर पनि उनी खुसी हुन सकेनन्। कारण थियो, बाँकी जीवन कसरी कटाउने?


कमैया मुक्तिपछि उनी बेकामे भए। सडक पेटीमा बसेर माग्न थाले। मागेको पैसाले दैनिकी चलाए। र फेरि, कमैया बस्न मालिकको खोजीमा भौँतारिए। लम्कीमा एक जनाले उनलाई सहारा दिए। त्यही घरबाट सीप सिक्न थाले।


केही समय सिलाइ कटाई तालिम लिएपछि उनलाई आफैँले केही व्यवसाय गर्ने सोच आयो। तर, लगानी अभावले सोच व्यवहारमा परिणत हुन सकेन। केही समयपछि उनलाई सहारा दिएका ‘मालिक’को निधन भयो। उनको झन् बिचल्ली भयो। र, पुगे हिक्मतपुर स्थित मुक्त कमैया शिविर।


शिविरमा सानो झुपडी बनाए। त्यहीँ बस्न थाले। त्यही शिविर भित्र उनले व्यवसायका लागि गरेको सङ्घर्ष प्रेरणादायी छ।
दृढ इच्छा शक्ति भएकाका छविलालले ‘अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गले झैँ काम गर्न सक्छन्’ भन्ने सत्यलाई प्रमाणित गरिदिएका छन्। शिविरको टहरोमा उनले तीन वटा व्यवसाय सञ्चालन गरेका छन्। बेतका कुर्सी बनाउनेदेखि विभिन्न काम गरिरहेका छन्। कमाइ पनि राम्रै छ।


‘सङ्घर्ष पछिको सफलता


आफूमा अपाङ्गता भएका कारण समाजमा धेरै अपहेलन सहनुपरेको उनको अनुभव छ। 
शारीरिक अशक्तता भए पनि उनलाई त्यो भान भने कहिल्यै भएन। ‘सबैले काम गरेर पनि साँझ बिहान छाक टार्न समस्या थियो’, विगत सम्झिँदै उनले भने, ‘दुवै खुट्टा काम नलाग्ने भएकाले बोझ मात्रै भएँ।’


घरमा खाने कुरा नभएर भोक भोकै सुतेको पनि उनलाई याद छ, ‘पैसा पनि नहुने र सरकारले दिएको बलौटे जग्गामा खेती पनि नहुने भएर कैयौँ रात माड खाएर सुतेको थिएँ’, विगत सम्झिँदै छविलालले भने, ‘अहिले घरपरिवार राम्रै चलेको छ, खर्चको समस्या हुन्न।’


करिब एक दशक पहिले पुष्कल शाहले उनलाई १ हजार ४ सय रुपैयाँको सामान उपलब्ध गराइदिएका थिए। ‘तपाईँको केही योजना छ?’ पुष्कल सरले सोध्नुभयो, ‘मैले त्यस्तो रहर त सुनाइनँ तर, उहाँले एउटा पसलबाट निःशुल्क सामान ल्याउने व्यवस्था गरिदिनुभयो।’ उनले भने, ‘त्यही १४ सयको सामानले आजसम्म जहान केटाकेटी पालिरहेको छु।’ सुरुमा २५ हजार रुपैयाँ साना किसानबाट निकालेर कारोबार गरेका उनले त्यसपछि पटक–पटक लाखभन्दा बढीको कारोबार गरेका छन्।


‘सुरुमा २५ हजार त कत्ति हो कत्तिजस्तो लागेको थियो। अहिले महिना, दुई महिनामा त्यति किस्ता बुझाउँछु’ उनले भने, ‘अब करोडको कारोबार गर्ने धोको छ।’


 सुरुमा ८ सय रुपैयाँ भाडा तिरेर उनले व्यापार सुरु गरेका हुन्। त्यसपछि अहिले आफ्नै घरमा पसल राखेका छन्।
नेपाल अपाङ्ग सङ्घबाट सिलाई कटाइको तालिम लिएका छविले वेत बाँसको पनि तालिम लिएका छन्। ४ वर्ष पहिले उनले सहकारीबाट २५ हजार रुपैयाँ ऋण निकाले र आफ्नो घरमै वेत बाँसका सामान बनाउन थाले। कश्मीर वेत बाँस उद्योग सञ्चालन गरेका छविलाई अहिले वेत बाँसका सामान बनाउन भ्याई नभ्याई छ।


पुस्तौँसम्म कमैया बसेका छविलालको परिवारले मुक्त भएपछि पनि त्योभन्दा सहज जीवन भने बाँच्न पाएन। सानैमा सहारा गुमाएपछि आहाराका लागि हरेक काम गर्न बाध्य छविलाललाई केही वर्षयतादेखि भने सन्तोष मिलेको छ। 

भदौ १९, २०७८ शनिबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।