मन भाँचिएपछि के घर, के आफ्ना
सुर्खेत : एक छोरा र एक छोरीकी ७० वर्षीया आमा कौशिला पाण्डे १० वर्षदेखि वृद्धाश्रमको सहारामा बसेकी छिन्।
सुर्खेत पञ्चपुरी नगरपालिका–४ की पाण्डे घरमा छोरा बुहारीले हेला गरेपछि वृद्धाश्रम बस्न बाध्य भएकी हुन्। पाण्डेकी छोरी भारतमा छिन्। छोरा र बुहारी गाउँमै छन्। तर, कौशिला वीरेन्द्रनगर स्थित प्रशान्ति वृद्धाश्रममा बस्न थालेको १० वर्ष भयो।
घरमा छोरा बुहारीले दिएको पीडा सहन नसकेरवृद्धाश्रमसम्म पुगेकी उनलाई घरमा नाति नातिनाको मायाले सताउँछ। चाडपर्व आउँदा उनलाई घरको यादले सताउँछ। तर,आफ्नो मनलाई बुझाएर उनी बस्छिन्। अहिलेसम्म उनको घरबाट उनलाई भेट्न पनि कोही आएका छैनन्। आजभोलि उनले घरपरिवार र सबै संसार भनेकै आश्रमलाई मानेकी छन्।
‘म यहाँ आएको १० वर्ष भयो, घरमा छोरा बुहारीले राम्रो नगरेपछि गाउँलेको सहयोगमा म यहाँसम्म आएँ।’ उनले भनिन्, ‘घरमा नातिनातिनाकोमाया लाग्छ, कस्ता छन् होला, कत्रा भए होला, चाडपर्व आउँदा त झनै घरको यादले सताउँछ। तर पनि कोही लिन आउँदैनन्। मलाई पनि घरका परिवारसँगै बसेर मर्ने मन थियो।’
दैलेख बिलाडीका डम्बरबहादुर बुढा र उनकी श्रीमती देवीकला बुढा पनिवृद्धाश्रम बस्न थालेको दुई वर्ष भयो।
उनकी एक मात्र छोरी थिइन्, छोरीले बिहे गरेर गएपछि बेसहारा बनेका बुढा दम्पती केही समयसम्म भाइको छोराकोमा बसे। त्यहाँ पनि बस्न असहज भएपछि आश्रममा आए।
‘जीवनको सहारा एक छोरी थिई उसले पनि छोडेर गई, अनि हामी बुढाबुढी ले काम गर्न सक्ने बेलासम्म घरमा बनाएर खायौँ, कमजोर हुँदै गएपछि काम गर्न पनि नसकिने भयो,’ डम्बरले भने, ‘छोरी भारतमा छे यतै आउनु पाल्छु भन्छे, तर पनि हामी यही आश्रममा नै बस्छौँ।’
काम र धन सम्पत्ति हुने बेलासम्म सबैले राम्रो माने पनि बुढेस कालमा आफन्तबाटै घृणित हुनुपर्ने बाध्यताले आश्रमसम्म पुग्नु परेको उनको भनाई छ।
बराहताल गाउँपालिका–५ की लक्षिमा गौतमका श्रीमानले अर्को बिहे गरेपछि उनी बेसहारा भइन्। उनका सन्तान छैनन्। गाउँमा उनले काम गरेरै भए पनि केही वर्ष कटाइन्। पछि दिन प्रतिदिन कमजोर हुँदै गएपछि काम गर्न नसक्ने अवस्थामा पुगिन्। गाउँले दाइले आश्रममा ल्याएर छोडिदिए। आश्रम आएदेखि उनलाई भेट्न कोही आएका छैनन्। आउँछन् त, मनकारी दानी व्यक्तिहरू, उनी जस्तै समस्यामा परेका बेसहाराहरू।
अहिले लक्षिमालाई यही वातावरण नै प्यारो लाग्न थालेको उनी बताउँछिन्।
‘म बाट सन्तान नभएपछि श्रीमानले अर्को बिहे गर्नुभयो, मलाई हेला गर्नुभयो, पहिला–पहिला त गाउँमा काम गरेर आफ्नो पेट पालेँ’, उनले भनिन्, ‘जब टाउकोको बिमारीले मलाई च्याप्यो अनि काम गर्न सकिन। गाउँले दाइले मलाई यहाँ ल्याएर छोड्नु भयो, अब त यहाँ नै प्यारो लाग्छ मलाई ।’
यस्तै दैलेख दुल्लु नगरपालिका–८ का खड्कप्रसाद आचार्यले धेरै वर्षसम्म भारत बसेर नोकरी गरे। नेपाल फर्किएपछि उनको उमेर ४५ भइसकेको थियो। घरमा तीन भाइबहिनी थिए। भाइसँगै बसेका उनी बुहारीको वचन र व्यवहार सहन नसकेर तीन वर्ष अगाडी वृद्धाश्रम पुगे।
‘सम्पत्ति र हात पाखुरा हुने बेलासम्म सबैले राम्रो माने पछि जब बुढो हुँदै गएँ सबै हेला गर्न थालेँ,’ उनले भने, ‘जसको आस र भरोसा मानेर बसेका उङ्छौँ तीनैले विश्वास घात गरेपछि कसरी बस्न सकिन्छ र ? बरु यहाँ त सुख शान्तिले एक गाँस खान र एक टालो लाउन पाएका छौँ।’
२०५४ साल चैत १२ गते स्थापना भएको वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रममा सन्तान र आफन्तबाटै पीडित भएका २६ जना ज्येष्ठ नागरिकहरूले सहारा लिइरहेका छन्।
भदौ १९, २०७८ शनिबार १२:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।