बाबुको विरासत जोगाउन ‘चिया वाला’ बनेका फिल्ममेकर
बुटवल : बुटवल उपमहानगरपालिका वडा नं. १ निम चोकमा रहेको एक पुरानो घरमा चहलपहल ज्यादा छ। साँझ छिप्पिनै लाग्दा पनि घर भित्र र बाहिर चमकधमक अर्कै छ। चियाको ‘सुरूप’ र चिया गफमा मानिस भुलेका छन्। देख्दा लाग्छ, साँच्चै यहाँ ‘अजिब’ ‘चिया पसल’ छ।
कुनै बेला फिल्मका कथाहरूमा दृश्य भर्न क्यामरा लिएर पारी बटौलीमा रम्ने गणेशदेव पाण्डे अहिले ‘चियावाला’ मा व्यस्त छन्। ४ वर्ष अघि क्यामरा लिएर बटौली घुम्ने क्रममा एक शताब्दी पुरानो घरमा उनको नजर बस्यो। त्यही घरमा अहिले उनले ‘चियावाला’ खोलेका छन्। रिलमा निर्देशक भएका गणेशदेव अहिले रियलका ‘चियावाला’ बनेका छन्।
गोलो गरी बनेको एक शताब्दी पुरानो घर पाल्पाका मणिराज मास्के परिवार को हो। इतिहास बोकेको यो घरमा पाण्डेले ‘चियावाला’ खोलेका छन्। देख्दा लाग्छ, यो कुनै एक पसल मात्र होइन नेपाली चियावालाको मौलिकताको संगमस्थल पनि हो। त्यसैले त त्यहाँ पुग्दा गाउँघरको झल्को दिने र परम्परागत शैलीले सबैको ध्यान तान्न सक्छ। चियावाला एक पसल नभई आधुनिक मोर्डन र मौलिकताको सङ्गम पनि हो भन्न सकिन्छ।
मणिराज मास्के सन् १८७१ मा नेपाल र अङ्ग्रेज युद्धताका सहयोग गर्थे। सेनालाई रासन पानीको प्रबन्ध यही घरबाट गर्थे। समय क्रम सँगै मास्के परिबार बसाईं सरे। घर अलपत्र भयो। पछि घरको पुनर्निर्माण भयो। पुनर्निर्माण पछि पनि केही उपयोगमा आएको थिएन। ४ वर्ष अघि आफ्नो फिल्मी दुनियाँमा रमाएका पाण्डेलाई पारी बुटवल पुग्दा त्यो घरले ध्यान तान्यो। खोजिनिधी गरे। त्यही क्रममा मणिराजका छोरा सञ्जीव र गणेशदेवको भेट भयो। कुरा मिल्यो। गणेशदेवलाई सञ्जीवले घर भाडामा दिए।
काठमाडौंको बागमती करिडोरमा चियावाला नामको क्याफे खोलेका गणेशदेवले त्यसपछि बुटवलमा पनि चिया पारखीलाई लक्षित गर्दै चियावाला सञ्चालन गरे। काठमाडौंमै नाम कमाइसकेका गणेशदेव बुटवलमा चियासँगको आफ्नो पारिवारिक विरासतलाई निरन्तरता दिन अहिले लागिरहेका छन्।
चिया सँगको नाता
०३४ साल तिर बुटवलमा गणेशका बुवा घनश्यामले अमर पथमा काठको टंकि बनाएर चिया पसल चलाए। त्यो भन्दा पहिले उनका हजुरबुवा यज्ञ प्रसादले पनि चिया नै बिक्री गर्थे। यज्ञले गरेको चिया पसलको विरासत घनश्यामले समाले। अहिले बुवाकै चियाको विरासतलाई आफूले समालेको पाण्डेले बताए।
बवुले टंकिमा चिया पसल चलाएको देखेर हुर्केका गणेशदेवको बाल्यकाल बुटवलमा बित्यो। त्यसपछि उनी फिल्मी अध्ययनका लागि विभिन्न देशमा पढ्न गए। नेपाल फर्केर केही फिल्म पनि बनाए। तर उनलाई केही नयाँ गर्ने ‘भूत’ चढेको थियो। अध्ययन सकेर नेपाल आएपछि फिल्मी कर्म गर्दा गर्दै चियावाला सञ्चालन गर्ने र बुवा, हजुरबुवाको सपनालाई साकार बनाउने योजना बुने। त्यसपछि ०७६ पुसमा काठमाडौंमा चियावाला खोले।
त्यसपछि उनै गणेशले फागुन देखि बुटवलमा पनि चियावाला सञ्चालन गर्न थाले। बुटवलको अमर पथमा बुवाले चिया बिक्री गरे पनि अहिले पारी बुटवल बाट आफूले त्यसैलाई निरन्तरता दिए जस्तै गरी पसल सञ्चालनको अनुभूति पाण्डेले गरेका छन्। त्यसैले त उनले ‘चियावाला’लाई सन १९५६ देखि भन्छन्। जुन चिया व्यवसायमा हजुरबुवा यज्ञप्रसादबाट उनका बाबुले थामेको अधुरो यात्राको निरन्तरता हो।
चियाको ब्राण्डिङ
रङ्गकर्मी गणेशदेव पाण्डे चियालाई ब्राण्डिङ गरिरहेका छन्। ‘चियावाला’मा पुग्न साथ सबैको ध्यान केन्द्रित गर्ने गरी भित्ता भित्तामा चियाको ब्राण्डिङ छ। मेरो खुसी चिया, रोयल चिया, आइस चियाजस्ता ४० रुपैयाँदेखि ८ सय रुपैयाँ सम्मका चिया चियावालामा पिउन पाइन्छ। रोयल चियामा काजु, बदाम, ड्राइ एप्पल लगायत मसला हालेर स्वादिलो बनाइन्छ। बुवा घनश्यामले चिया पसल गर्दा झर्को मान्ने गणेशले ४ दशकपछि चियालाई ब्रान्ड बनाएर मुख्य पेसा अङ्गाल्दै बुटवल सम्म आएका छन्। चियावालालाई अझै कलात्मक बनाउँदै लैजाने सोच रहेको उनी बताउँछन्। मोर्डन र मौलिकताको सङ्गम बनाउने सोच राखेका गणेशले यसलाई अझै विस्तार गर्दै लैजाने योजनामा छन्।
भदौ १९, २०७८ शनिबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।