मलाई पुस्तक ‘आमा’ मनपर्छ किनकी यसले मेरो जिन्दगी नै बदलिदियो

मलाई पुस्तक ‘आमा’ मनपर्छ किनकी यसले मेरो जिन्दगी नै बदलिदियो

बिना थिङ तामाङ

कतिपय पुस्तक यस्ता हुन्छन्, जसले जिन्दगीदेखि निराश भएको मान्छेलाई पनि विद्रोही बनाउँछ र लड्न सिकाउँछ।

७ कक्षामा पढ्दै गर्दा म्याक्सिम गोर्कीको पुस्तक ‘आमा’ मेरो हात परेको थियो। पढ्न त पढेँ तर त्यतिबेला बुझने कुरा भएन। उमेर सानै थियो, क्रान्ति वा विद्रोह भनेको के हो, थाहा नै थिएन।

१० कक्षा उत्तिर्ण गरेपछि मैले १० वर्षसम्म अध्ययन गर्न पाइनँ र अक्षरसँगको सम्बन्ध नै सकियो। पत्रपत्रिका भेट्दा त्यसमा भएका कथा(कविता कहिलेकाहीँ पढेको बाहेक केही अध्ययन गर्न पाइनँ।

त्यतिबेला एसएलसीको सर्टिफिकेट भएपछि बालकक्षा पढाउन पाइन्थ्यो। मैले पनि पढाउन सुरु गरें। त्यसबेला लाइब्रेरीका लागि पुस्तकहरु किन्ने बेलामा पुस्तक आमा पनि फेला पर्यो। 

यो पुस्तक आमपाठकलाई सहजै बुझ्न गाह्रो हुनसक्छ। मैले पनि धेरै पटक अध्ययन गरेको पुस्तक हो आमा। गोर्की मेरा मनपर्ने लेखक हुन्। उनका अरु पुस्तक पनि मैले पढेकी छु।

पुस्तक अध्ययन गर्दा पाठकको समय, परिस्थिति, उमेर सबै कुराले प्रभाव पार्ने रहेछ। पुस्तक आमा पढ्दै गर्दा धेरै युवालाई उपन्यासको मुख्य पात्र पाबेल हुँ जस्तो लाग्छ तर म युवा भए तापनि व्यवहारिक रुपमा आमा बनिसकेको कारणले होला, मैले पाबेलको आमाको ठाउँमा आफूलाई राखेको थिएँ। 

आमा सामाजिक यथार्थवादी उपन्यास हो। शोषण, दमन त्यसमाथि बालबच्चा, मलाई आफ्नो जिन्दगी नै सकियो जस्तो लाग्थ्यो। तर आमा पुस्तक पढेपछि मेरो मनमा हिम्मत पलायो।

पाबेलका बुबा श्रीमतीमाथि सधैं दुर्व्यवहार गर्छ। दिनरात रक्सी खाएर कुट्छ र कारखानामा साहुले गाली गर्यो भने पनि घरमा आएर श्रीमतीमाथि रिस पोख्छ।  त्यस्तो दमन खेपेर बसेकी महिला क्रान्तिमा होमिएको प्रसंगले मलाई हिम्मत दिएको थियो।

‘आमा’ उपन्यासकी आमा एकदमै निडर र साहसी पात्रको रुपमा स्थापित छिन्। आजीवन लोग्नेबाट प्रताडित आमा लोग्नेको मृत्युपछि छोरा पाबेलबाट प्रभावित हुँदै खतराका बाबजुद क्रान्ति सफल पार्न गोप्य रुपले पर्चाहरु मजदूरसम्म पुर्याउन जान्छिन्।

जीवनको उत्ताद्र्धमा पुगेकी महिला, जो घोर निराशाले गाँजिएकी थिइन्। उनमा पुनः जीवनप्रतिको आशा स्फुर्त रुपमा सञ्चार हुन्छ। बाँकी जीवन मजदूर, अन्यायमा परेकाहरुको उत्थान र उच्चत्तम व्यवस्थाको निम्ति जार शासनसँग संघर्ष गर्छिन्। त्यस्तो साहसिक पात्रको रुपमा आमालाई स्थापित गरेकोमा म्याक्सिम गोर्कीप्रति मेरो सम्मान जाग्छ।

आमा उपन्यास प्रकाशित हुँदा त्यतिबेलाको रुसी समाज असफल क्रान्तिहरुको बीचमा रुमलिएको थियो। कारखानाका मालिकले मजदूरमाथि निर्मम तरिकाले शोषण गर्थ्यो। मजदूरहरु मालिकको अगाडि केही बोल्न सक्दैनथे।

उपन्यासले भन्छ( रुसी समाज भित्रभित्रै विद्रोहको आगो बालेर बसेको थियो। उनीहरु आफ्ना कठिन जीवनबाट छुट्कारा कसरी प्राप्त गर्न सकिन्छ, किन जीवन यत्ति कठोर छ जस्ता प्रश्नको उत्तरको खोजीमा विविध छलफल, बहस र क्रान्तिको लागि तयारीमा हुन्छन्। यो सबै गोप्य रुपमा हुन्छ। मालिकले मजदूरको तलबबाट केही रकम काटेर कारखाना अगाडिको धाप सुकाउने निर्णय गरेको थियो। आफ्नो थोरै तलबबाट पनि केही रकम कटनी हुने भएपछि मजदूरहरु पाबेलसँगै आन्दोलनमा उत्रन्छन्।

यस उपन्यासमा पाबेल, उक्राइनी, नताशा, सासा, रिबिन, सिजोभ, फ्योदर लगायत थुप्रै पात्र छन्। तीमध्ये पाबेल जुझारु पात्र हो। जसले आफ्नो बाबुलाई समेत थप यातना नदिन चुनौती दिएका हुन्छन्। साथीहरुसँग रातभर असल समाज र कष्टदायक जीवन निर्मुल पार्न सदैव तत्पर भएर अघि बढ्छन्।

बलिया पात्रहरुका कारण यो उपन्यास जति पटक पढ्यो उति पटक शरीरमा जोश भरिन्छ। साहसिक पाइला सार्न प्रोत्साहित गर्छ। पुस्तक कुनै पनि रुपमा कमजोर छ जस्तो मलाई लाग्दैन। 

गोर्की आफैं दुःखको भट्टीमा लामो समय खारिएर निस्किएका लेखक हुन्। लेखक स्वयंले भोगेको समयको कथा आएको छ आमामा।

गोर्कीले यो उपन्यास उनका राजनीतिक मित्र, क्रान्तिकारी प्योत्र जालोमाभोको जीवनमा आधारित रहेर सिर्जना गरेका थिए। 

शिक्षण पेसामा आवद्ध तामाङका ‘रातो घर’ कविता संग्रह, ‘छुकी’ कथा संग्रह र ‘याम्बुनेर’ प्रकाशित छन्। उकेराकर्मी यशु सापकोटाले उनै तामाङलाई मनपर्ने पुस्तकबारे गरेको कुराकानीमा आधारित।

भदौ १९, २०७८ शनिबार ०६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।