एमाले सुनसरीमा किचलो, दुई अध्यक्षको आ–आफ्नै दाबी

एमाले सुनसरीमा किचलो, दुई अध्यक्षको आ–आफ्नै दाबी

इटहरी : नेकपा एमाले सुनसरीमा पुनः किचलो सुरु भएको छ। एमालेको १० बुँदे सहमति कार्यान्वयन गर्न बनेको कार्यदलले गरेको निर्णय विरुद्ध काम हुन थालेको भन्दै विवाद भएको हो। 

भदौ १७ गते बिहीबार बसेको कार्यदलको बैठकले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा रमेश बस्नेतलाई पुनर्स्थापना गर्ने निर्णय गरेपछि केपी ओली समूहबाट अध्यक्ष भएका रेवतीरमण भण्डारीले आपत्ति जनाएका छन्।

नेकपा एमालेका सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य सहितको कार्यदलले भण्डारी नेतृत्वको कमिटीलाई बरखास्त गर्दै २०७५ जेठ २ गतेका अध्यक्ष बस्नेतलाई पुनर्स्थापना गरेको हो। माधव नेपाल र केपी शर्मा ओलीको विवाद उत्कर्षमा भएको बेला २०७७ फागुन १ गते ओली समूहबाट भण्डारी अध्यक्ष चयन भएका थिए। 

तर, १० बुँदे सहमतिले बस्नेतलाई नै अध्यक्ष बनाउने भएपछि भण्डारीले मोर्चा बन्दी सुरु गरेका छन्। शुक्रबार आफू निकटका पदाधिकारीको बैठक बोलाएर उनले जेठ २ लाई फरक ढङ्गले विश्लेषण गरेका छन्।

बस्नेत नेतृत्वको कमिटी स्पष्टसँग पार्टीमा नखुलेको आरोप भण्डारी पक्षको छ। सुनसरी जिल्ला कमिटी विधानको व्यवस्था बमोजिम समयमा अधिवेशन सम्पन्न गर्न नसकी अवैधानिक अवस्थामा रहेको आरोप लगाइएको छ। बस्नेतले समानान्तर गतिविधि गरेको विश्लेषण गरिएको छ। 

जेठ २ भन्दा अगाडी कायम रहेको कमिटीबाट जिल्लाको सङ्गठनलाई जीवन्तता दिई क्रियाशील हुने विषयमा गम्भीर प्रश्नहरू कायम रहेको भण्डारी नेतृत्वको कमिटीको ठहर छ। 

उता बस्नेतले कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता लागु हुने भएकोले केन्द्रीय कमिटीले गरेको निर्णय कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको बताएका छन्। त्यसमा पनि जेठ २ गतेमा फर्काउन बनेको कार्यदलले गरेको निर्णय लागु हुने उनको भनाई छ। भण्डारी नेतृत्वको कमिटी आफैमा मान्यता प्राप्त नभएकोले यसको कुनै अर्थ नरहने उनको तर्क छ।

भदौ १८, २०७८ शुक्रबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।