राजेश कुँवर मृत्यु प्रकरण : प्रहरीको मिलेमतोमा घटना साम्य पार्न लागेको परिवारको आरोप
राजेशले बुटवलमा जान मन छैन भने पनि ती व्यक्तिले ‘गुनारामले जाम भनेका छन्’ भन्दै उनलाई घरबाट बजारसम्म ल्याए। त्यसपछि ट्रक चालक गुनाराम भट्टराईसँगै राजेश बुटवल जान ट्रक चढे।
‘म खाना पकाउने तयारीमा थिएँ। त्यही बेला भाइको कोठामा गएर बुटवल जाऊँ भन्दै थिए। मैले व्यक्ति को हो ख्याल गरिनँ,’राजेशका दाजु सुदीप कुँवरले भने, ‘भाइले जान्न भन्दाभन्दै पनि जानुपर्छ भन्दै प्रलोभनमा पारेर लगेछन्।’
राजेश कुँवर पुर्कोट दहमा भीमबहादुर कुँवरको पसलमा काम गर्थे। राजेशलाई ल्याउन घरमै जाने भीमबहादुर कुँवरको सालो भएका कारण उनी बजारसम्म आइपुगे। ‘राजेशलाई बजारसम्म ल्याएर गुनारामको ट्रकमा चढाएको गाउँका धेरैले देख्नुभएको रहेछ,’ सुदीपले भने, ‘जबरजस्ती किन लगियो केही थाहा भएन।’
ट्रक चालक गुनाराम भट्टराई कुँवरको पसलमा बेला बेलामा सामान ल्याउने गर्थे। राजेशले भीमबहादुर कुँवरकोमा काम गर्ने भएकाले गुनारामसँग चिनजान थियो।
गुनारामको ट्रकमा बुटवल जान हिँडेका राजेश त्यसपछि परिवारको सम्पर्कमा आएनन्। उनी कहाँ बसे, के गरे परिवारले पत्तो पाएन। गुनारामसँग बुटवल गएको भनेपछि परिवारका सदस्यहरू पनि छोरो आउने आसमा बसे।
जीवित भेटिएनन् राजेश
२ भदौमा जितगढीमा बेवारिसे शव रहेको खबर इलाका प्रहरी कार्यालयमा पुग्यो। प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गर्यो। त्यो बेलासम्म शव कसको हो भन्ने पत्ता भएन। मुचुल्का तयार भएपछि गुनाराम भट्टराईले मृतकको शव राजेश कुँवरको भएको प्रहरीलाई बताए। त्यसपछि यो खबर परिवारमा पुग्यो।
राजेशको शव भेटिएको स्थान गुनारामले लिएको डेरा नजिकै र उनी आएको ट्रक नजिकै सानो नालीमा परेपछि परिवारले अहिले राजेशको ‘हत्या गरिएको आशङ्का’ गरेका छन्। ‘जबरजस्ती बुटवल ल्याउने। बसेको ठाउँबाट ३०/३५ मिटर नजिकै शव भेट्दा समेत गुनाराम मुचुल्का तयार भएपछि मात्र शवलाई चिन्न पुगेकाले पनि घटना शङ्कास्पद छ,’ मृतक राजेशका बुबा पदम कुँवरले भने।
पदमले निष्पक्ष छानबिनको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गरेका छन्। पुर्कोटका पसल सञ्चालक भीमबहादुर कुँवर र ट्रक चालक गुनाराम भट्टराईलाई दोषी देखाउँदै छानबिनको माग गरेको उनले बताए। मृतकलाई गुनारामले भदौ १ गते राति खाना खाएर सुत्न ट्रकमा पठाएको बताएका छन्। ‘सुत्न पठाएको भए पनि बिहान किन खोजी गरिएन? उसको साथमा सर्ट पाइन्ट छैन। कहाँ सुत्यो केही ख्याल छैन। घर र ट्रक नजिकै शव फेला पर्दा समेत पत्तो छैन,’ मृतकका बुबा पदमले भने।
पदमले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुदालीले ट्रक चालक गुनाराम भट्टराई र भीमबहादुर कुँवरसँग मिलेर घटना साम्य पार्न लागेको आरोप समेत लगाए। ‘छोरा मर्नुको कारण के हो? यसबारे केही त यथार्थ आउनुपर्यो? २१ वर्षको छोरो गुमाएको छु,’ उनले भने।
प्रहरी निरीक्षक चुदाली र पसल सञ्चालक कुँवर तथा ट्रक चालक भट्टराईको इलाका प्रहरी कार्यालय पुर्कोट दहमा हुँदा चिनजान भएका कारण घटनालाई साम्य पार्न लागेको उनको आरोप छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक चुदालीले भने पानी बग्ने नालीमा शव फेला परेको र यसबारे अनुसन्धान भइरहेको बताए। ‘पीडितहरूले छानबिन गरेर यथार्थ के हो पत्ता लगाउन भन्नुभएको छ। अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने।
भदौ १८, २०७८ शुक्रबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।