केशर पुस्तकालय व्यापारीकरणको विपक्षमा शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखा
केशर महल क्षेत्रको चल–अचल सम्पत्ति व्यक्तिसरह उपभोग गर्न पाउने अधिकारसहित व्यापारिक प्रयोजनको स्वार्थ राखेर एकीकृत विकास समिति गठनको प्रयासमा शाखाले असहमति जनाएको हो।
स्वप्न बगैंचा अहिले विकास समिति अन्तर्गत छ। त्यसैको कार्यक्षेत्र बढाएर स्वप्न बगैंचा विकास समिति (गठन) आदेश, २०५६ खारेज गरी त्यसैमा केशर महल पुस्तकालय समेत थपेर स्वप्न बगैंचा केसर महल एकीकृत विकास समिति गठन गर्न मन्त्रालयका केही पदाधिकारी सक्रिय छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज सुवेदी, केशर शमशेरका छोरा लोकभक्त राणा, केशर पुस्तकालय प्रमुख दशरथ मिश्र र स्वप्न बगैंचा विकास समितिका कार्यकारी निर्देशक डा ध्रुवराज रेग्मीको नेतृत्वमा अध्ययन समीति बनेको थियो। समितिमा रहेका मिश्र बाहेक अन्य एकीकृत विकास समितिको पक्षमा देखिए।
एकीकृत विकास समिति गठनबारे अध्ययन गर्न गठित समितिले पुस्तकालय सहितको भवन व्यापारिक प्रयोजनमा समेत उपयोग गर्न सकिने अवधारणा अगाडि बढाएपछि मन्त्रालयको पुस्तकालय समन्वय शाखाले ‘केसर पुस्तकालयलाई कुनै पनि सर्तमा विकास समिति अन्तर्गत लानु घातक हुने’ राय दिएको थियो।
अध्ययन समितिले बुझाएको प्रतिवेदनमा स्वप्न बगैंचाको आर्थिक अवस्थालाई उदाहरणका रुपमा राख्दै पुस्तकालय र भवन मन्त्रालयको मातहतको साटो विकास समिति अन्तर्गत ल्याउने र सो समितिलाई पुस्तकालय र केशर महल क्षेत्रको चल-अचल सम्पत्ति व्यक्तिसरह लेनदेन गर्ने तथा राख्ने अधिकार दिने प्रस्ताव गरिएको छ।
तर, समन्वय शाखाले समितिलाई दिएको पाँच बुँदे रायको पहिलो नम्बरमै पुस्तकालयलाई कुनै सर्तमा पनि विकास समिति अन्तर्गत लैजानु पुस्तकालयका लागि घातक हुने उल्लेख गर्दै यसमा पुस्तकालयकर्मी र केशर पुस्तकालयका शुभचिन्तक सचेत हुनुपर्ने उल्लेख छ।
प्रतिवेदनमा पुस्तकालय सोही भवनमा व्यवस्थापन गर्ने र राणाकालीन संग्रहालयहरु थप गर्ने सुझाव दिइए पनि पुस्तकालयका प्रमुख एवं उपसचिव मिश्र भने परिसरबाट पुस्तकालय अन्तै सार्ने षड्यन्त्र भइरहेको दावी गर्छन्।
निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पालामा पुनर्निर्माणको बहानामा पुस्तकालयलाई केशर महलबाट अन्तै सार्ने तयारी भएको थियो। अहिले पुस्तकालय केशर महल परिसरको एक कुनामा टहरा बनाएर राखिएको छ।
एकीकृत विकास समितिको विपक्षमा रहेका शिक्षा मन्त्रालयका एक उपसचिवले उकेरासँग पुस्तकालयको उत्तरमा बन्दै गरेको होटल सञ्चालकले व्यापारिक प्रयोजनका लागि सो क्षेत्र भाडामा लिने प्रयास गरिरहेको बताएका थिए।
‘केशर पुस्तकालय भवनको उत्तरपट्टि जुन व्यापारिक घरानाले होटेल बनाउन लागेको हो, उसैले केशर पुस्तकालयको भवन पनि व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने प्रयास गरिरहेको छ,’ उनले भनेका थिए, ‘तत्कालीन सरकार (केपी ओली) ले त्यहाँबाट पुस्तकालय सार्न भनेको थियो। तर विरोध भएपछि त्यही सानो टहरामा बसेको छ। तर कति समयसम्म टहरोमा पुस्तकालय टिक्ने हो थाहा छैन।’
उत्तरमा बनिरहेको सेराटन होटल गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेको हो। यसबारेमा उकेराले भदौ १५ मा समाचार प्रकाशित गरेको थियो। घलेका प्रेस हेर्दै आएका सुरेश चित्रकारले उकेरासँग केशर महल क्षेत्रको भवन र जग्गा भाडामा लिन नखोजेको दावी गरेका थिए।
केशर महल परिसरबाट पुस्तकालय सार्न भएका प्रयासबारे समाचार प्रकाशित भएपछि चित्रकारले 'आफूहरु त्यस्ता पुस्तकालय संरक्षण हुनुपर्छ भन्ने पक्षमा रहेको र पुस्तकालय संकटमा पार्न नलागेको' दावी गरेका छन्।
शाखाले दिएको पाँच बुँदे सुझाव
१. केशर पुस्तकालयलाई कुनै पनि सर्तमा विकास समितिअन्तर्गत लानु पुस्तकालयका लागि घातक हुनेछ। यसमा सबै पुस्तकालयकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा केसर पुस्तकालयका शुभचिन्तक सबै सचेत भएर वकालत गर्नु आवश्यक छ।
२. स्वप्न बगैंचा विकास समिति लगायतका केशर महल परिसरमा रहेका अन्य निकायबाट प्राप्त आयको निश्चित प्रतिशत (२० प्रतिशत उपयुक्त) केशर पुस्तकालयको विकास र स्तरका लागि खर्च गर्ने अनिवार्य प्रावधान थप गरिनुपर्छ।
३. केसर पुस्तकालयका प्रमुखले नै स्वप्न बगैंचा विकास समितिको सदस्य सचिव तथा कार्यकारी निर्देशक रहने गरी मौजुदा स्वप्न बगैंचा विकास समिति ऐनमा संशोधन गरिनुपर्छ।
४. आर्थिक प्रशासनसम्बन्धी सम्पूर्ण काम कारबाहीहरू केसर पुस्तकालयबाट सञ्चालन हुनुपर्छ।
५. समितिको सदस्यसचिव तथा कार्यकारी निर्देशक केशर पुस्तकालयको प्रमुख रहन नसक्ने पर्याप्त आधार र कारण भए निजलाई सदस्यको रूपमा राखिनु उपयुक्त हुने।
अन्य पुस्तकालयभन्दा केशर पुस्तकालय किन फरक?
३४ रोपनी क्षेत्रफलमा फैलिएको केशरमहल केशर शमशेरले युरोपियन वास्तुकला र शैलीको दरबार, पुस्तकालय र स्वप्न बगैंचाको निर्माण गरेका हुन्। राणाकालीन इतिहासको ल्याण्डमार्कको रुपमा रहेको यस दरबारको दक्षिण भागमा करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको स्वप्न बगैंचा छ।
महलको पहिलो र दोस्रो तलाको पूर्व र दक्षिणमा ऐतिहासिक केशर पुस्तकालय सञ्चालन हुँदै आएको छ। यस भवनमा कुल कोठा ५६, सभा हल २, शौचालय ५० वटा छन्।
मुल भवनको अगाडि (पूर्व) वास्तुकलाका उत्तम नमुनाका पोखरी, मूर्तिहरु छन्। भवनका कलात्मक भित्ता, सिलिङ तथा झ्याल-ढोकाले नेपालको मौलिक वास्तुकला प्रतिबिम्वित मात्र गरेको छैन, पाश्चात्य शैलीको समेत फ्युजनले भवनको समग्र साजसज्जालाई अदभूत सांस्कृतिक, पुरातात्विक वास्तुकलाको नमुनाको रुपमा प्रस्तुत गरेका छन्।
केशर महल/केशर पुस्तकालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण पुस्तकहरुका अतिरिक्त केशर शमशेरले संग्रह गरेका पुरातात्विक महत्वका वस्तुहरु र विभिन्न कालाकृतिहरु छन्।
पुस्तकालयमा के-के छन्?
यस पुस्तकालयमा हाल पुरातात्विक सामग्री सहित हस्तलिखित ग्रन्थहरू रहेका छन्। युनेस्कोले सूचीकृत गरेको सुश्रुसंहिता सहित हस्तलिखित-ग्रन्थहरू ६७५ थान, एक थान किताबी फर्मको क्याटलग सहित अहिलेसम्म क्याटेगोराइज्ड नभएका केही हस्तलिखित ग्रन्थहरू समेत रहेका छन्।
यस पुस्तकालयमा हस्तलिखित ग्रन्थका साथै पुरातात्विक महत्व बोकेको फोटो १७३ थान, जनावरको टक्सिडर्मी गरिएका बाघ १ थान, भालुको छाला १ थान, गैंडाको खप्पर १ थान, अति दुर्लभ एनिमल ट्रोफी १५ थान, ऐतिहासिक महत्वका रोलिङ म्याप्स १५ थान छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार स्टाण्ड नक्सा ३ थान, मूर्ति ५ थान, फोटो एल्बम ५ थान, ग्लोब नक्सा २ थान, झुमर १ थान, बत्ति ल्याम्प १ थान, फ्रेममा भएको मूर्ति ५ थान गरी अर्नाको टाउको, मृग र जरायोको टाउको, चितुवाको टाउको रहेको छ। साथै यस पुस्तकालयमा पुरातात्विक महत्व समेत रहेको नयाँ केलेक्सन नेपाली र अंग्रेजी शाखामा रहेको जम्मा २५ हजार थान पुस्तक, जर्नल्स करिब ८ हजार थान, केसर कलेक्सनका पुस्तकहरु २० हजार थान छन्।
भदौ १७, २०७८ बिहीबार १८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।