कर्णालीमा प्रभावकारी भएन स्वास्थ्य बिमा कार्यक्रम
स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याए पनि सेवा लिँदा प्रक्रिया झन्झटिलो हुने भएपछि नागरिकहरुको रुचि घटेको हो।
सरकारले ल्याएको कार्यक्रम आर्थिक वर्ष २०७२/०७३ देखि लागू गरेको कार्यक्रम कर्णालीमा २०७३/०७४ बाट सुरु भएको थियो।
संघीय सरकारले तामझामका साथ सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम कर्णालीको कुल जनसंख्याको १७ प्रतिशत मात्रै पहुँचमा रहेको स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेशले जनाएको छ।
बोर्डका अनुसार झण्डै १८ लाख बढी जनसंख्या रहेको कर्णालीमा अहिलेसम्म दुई लाख ६७ हजार नागरिकले स्वास्थ्य बिमा सेवा लिएका छन्।
अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरुसम्म यो कार्यक्रमको फाइदा–बेफाइदाका विषयमा पुग्न सकेको छैन। ग्रामीण भेगका मात्रै होइन, प्रदेशको राजधानी वीरेन्द्रनगरबासीलाई कार्यक्रमबारे जानकारी नै छैन भने बिमा गरेकाहरुले समेत सहज सेवा उपभोग गर्न नपाउँदा यसप्रतिको आकर्षण खासै देखिएको छैन।
बिमा कार्यक्रमबाट सुविधा भए पनि सेवा लिँदा धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएपछि अर्को वर्ष बिमा नवीकरण नगरेको चौकुने गाउँपालिका–४ का चेतन बिसीले बताए।
‘धेरै सुविधा पाइएला भनेर स्वास्थ्य बिमा गरियो, सुविधा त मिल्दा रहेछन्, तर यसको प्रक्रिया झन्झटिलो रहेछ,’ उनले भने, ‘हामी गाउँबाट हतारहतारमा उपचार गर्न जान्छौं, प्राथमिक स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालसम्म सिफारिस लिनै एक–दुई दिन लाग्छ, त्योभन्दा त पैसा तिरेपछि एकैछिनमा हुन्छ त्यसैले मैले स्वास्थ्य बिमा नवीकरण गरेन।’
स्वास्थ्य बिमा भनेर केही वर्ष अघिदेखि नै सुने पनि अहिलेसम्म कोही कसैले पनि स्वास्थ्य बिमाका फाइदाबारे थाहा नभएको वीरेन्द्रनगर–१२ का रामप्रकाश कँडेलले बताए।
कर्णालीमा हालसम्म सुर्खेतमा ५२ हजार ५ सय ९९ जना, कालिकोट ३६ हजार ८०६, जाजरकोट ४० हजार १७६, रुकुमपश्चिम ५५ हजार ३८, जुम्ला ५३ हजार ६२, हुम्ला ७ हजार ३३२, डोल्पा २ हजार १९० मुगु ४ हजार २५६, दैलेख, १० हजार ३५१ र सल्यान ५ हजार ३८५ गरी २ लाख ६७ हजार १९५ जनाले बिमा गरेको स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए।
उनका अनुसार राजधानी वीरेन्द्रनगर नगरपालिकामा मात्रै करिब एक लाख ८० हजारको हाराहारीमा जनसंख्या छ। कुल जनसंख्याको एक तिहाई नागरिकले पनि बिमा गरेका छैनन्।
सबैभन्दा बढी जुम्लामा ४८ दशमलव ७ प्रतिशत जनसंख्याले बिमा गरेका छन् भने सबैभन्दा कम सल्यानमा २ दशमलव २ प्रतिशत नागरिक बिमा कार्यक्रममा आवद्ध भएका छन्।
गत वर्ष बिमा गरेका धेरैले नवीकरण समेत गरेका छैनन्। स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधि उपलब्ध नहुँदा किन्नुपर्ने, स्वास्थ्यकर्मीको बेवास्ता, सरकारले तोकेकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने बाध्यता, सेवा लिने प्रक्रिया समेत झन्झटिलो हुँदा पनि बिमा गर्नेको संख्यामा वृद्धि नभएको वीरेन्द्रनगर–४ की गीता विकले बताइन्।
प्रदेशका १० जिल्लाका नागरिकले स्वास्थ्य बिमा गरेवापत आर्थिक वर्षमा २०७७/०७८ सम्म १४ करोड ५७ लाख ५० हजार पाँच सय ७० रुपैयाँ संकलन भएको छ।
कर्णाली प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममा नेपाल सरकारले १३ करोड ७६ लाख ६१ हजार ६ सय १० रुपैयाँ भुक्तानी गरेको छ।
त्यस्तै, कर्णाली प्रदेशका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएको रकममा ३९ करोड ३४ लाख ६२ हजार आठ सय १४ रुपैयाँ भुक्तानी गरेको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्ड लागिपरेको संयोजक पण्डितको भनाइ छ।
‘यो कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्ड लागिपरेको छ,’ उनले भने, ‘अझै पनि प्रचारप्रसार र बिमाबाट हुने फाइदाका विषयमा जानकारी नहुँदा केही अन्योल देखिएको छ।’
यसका लागि स्थानीय तहका जनप्रतिनिधिसहित प्रदेश सरकार लगायत विभिन्न सरोकारवाला निकायहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको जोड छ। कर्णालीमा बिमित सदस्यले उपचार गराउने २४ वटा स्वास्थ्य संस्था रहेका छन्।
भदौ १७, २०७८ बिहीबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।