नेपालमा नौलो होइन पेन्टोमाइम, मल्लकालबाटै थियो मञ्चमा

नेपालमा नौलो होइन पेन्टोमाइम, मल्लकालबाटै थियो मञ्चमा

कमेडी च्याम्पियन सिजन-२ का प्रतिस्पर्धी सिक्किमका विक्की अग्रवालले गत शनिबार ‘पेन्टोमाइम’ मा आधारित भएर ‘मन’ शीर्षकमा प्रस्तुति दिए।

यस सिजनको उपाधिका दाबेदार मानिएका अग्रवालले गरेको प्रस्तुतिमाथि जज सन्तोष पन्तले गरेको टिप्पणीले नेपाली मिडियामा पेन्टोमाइमको बहस बिजारोपण गर्यो।

युरोपियन संस्कृतिमा हुर्किएको ‘पेन्टोमाइम’ लाई नेपालीमा ‘मुक प्रहसन’ भनिन्छ। मुक को अर्थ हो चुपचाप रहनु। प्रहसनको अर्थ, प्रस्तुति। विनाबोली चुपचाप गरिने प्रदर्शन नै मुक प्रहसन हो। जहाँ आँखा, तल्लो ओठ र हातको महत्वपूर्ण स्थान हुन्छ।

विना सम्वाद दर्शकसम्म शारीरिक भाउ र भावभंगीबाट दर्शकसमक्ष कथा प्रस्तुत गर्ने उच्चतम अभिनयको एक विधा हो माइम। त्यसै विधाको परिस्कृत रूप हो पेन्टोमाइम। जहाँ संगीतको सहाराले माइममा आधारित भएर प्रस्तुति दिने गरिन्छ। 

उसो त ग्रिक भाषामा पेन्टको अर्थ सामूहिक भन्ने हुन आउँछ। समूहको उपस्थितिमा विनासम्वाद गरिने एक प्रकारको प्रहसन नै मुक प्रहसन, अर्थात् माइम, पेन्टोमाइम हो। 

प्राचीनकालदेखि नै नेपालको संस्कृतिमा थियो पेन्टोमाइम 
‘पूर्वीय दर्शनअनुसार मुक प्रहसन नाटक र नृत्यको अति नै महत्वपूर्ण पाटो हो,’ वरिष्ठ रंगकर्मी अशेष मल्ल भन्छन्, ‘पश्चिमाहरूले पेन्टोमाइम, माइम भने, हामीले मुक प्रहसन भन्यौं। यो कुनै नौलो कुरा होइन। ती पश्चिमाहरूभन्दा धेरै पहिलेबाट हामीले मुक प्रहसन गर्दै आएका छौँ। त्यसको प्रमाण भनेको भरतको नाट्यशास्त्र हो। त्यहाँ मुक प्रहसनका बारेमा पश्चिमाहरूले भनेभन्दा बढी विस्तृत रूपमा भनिएको छ।’

पूर्वीय दर्शन अनुसार गरिने अभिनय र नृत्यमा मुक प्रहसनको अहं भूमिका रहने उनी बताउँछन्। उनका अनुसार नेपालका मल्लकालीन राजाहरू डबलीमा आफैंले लेखेका प्याख (नाटक) आफैं प्रस्तुत गर्थे। जहाँ विनासम्वाद, शारीरिक हाउभाउ र मुखाकृतिका साथै संगीतको प्रयोगले अहं भूमिका खेल्थ्यो। मल्ल राजाहरू आफ्नो नाटकमा मुक प्रहसनलाई पनि प्राथमिकता दिन्थे। कुनै कथालाई संवादविना विभिन्न हाउभाउले प्रस्तुत गर्ने परम्परा नेपालको संस्कृतिमा नै रहेको उनी दावी गर्छन्।

‘भक्तपुरको भदौरे नाच हेरौँ। ललितपुरको कात्तिके नाच हेरौँ, लाखे हेरौँ, ख्याक नाच हेरौँ। यी लगायत धेरै यस्ता परम्परादेखि चलिआएका संस्कृति छन् हामीसँग,’ उनी भन्छन्, ‘ती सबै मुक प्रहसनकै हिस्सा हुन्। मुक प्रहसन नेपाल, भारत लगायतका देशमा प्राचीनकालदेखि चल्दै आएका छन्। त्यसमा दुईमत छैन।’

पूर्वीय दर्शनअनुसार पश्चिमाले भन्ने गरेको माइम, पेन्टोमाइमभन्दा परिस्कृत साथै आफ्नै मौलिकता सहितको मुक प्रहसनको शैली भरतको नाट्यशास्त्रमा रहेको पनि उनले दावी गरे।

‘माइम, पेन्टो माइम जे-जे भने पनि त्यसलाई हामी नेपालीमा मुक प्रहसन भन्छौँ र त्यसमा हाम्रो आफ्नै तरिका छ। तर दुवै तरिकामा उति भिन्नता छैन। हात, आँखा, ओठको प्रयोग नै दुवैमा अहं हुन्छ,’ मल्लले भने।

मुक प्रहसनसँग परिचित छ नेपाली नाटक
‘जति पनि नाटकका निर्देशक, कलाकार छन्, तिनले मुक प्रहसनको प्रयोग गर्छन् नै,’ मल्ल भन्छन्, ‘नाटकका पाँच मुख्य तत्वमध्ये एक मुक प्रहसन पनि हो।’ तर सम्पूर्ण नाटक नै त्यसमै आधारित नभए तापनि नाटकमा मुक प्रहसनको प्रयोग हुने गरेको उनी बताउँछन्।

आफैंले पनि मुक प्रहसनका दुई नाटक लेखेको मल्लले बताए। एक मधुपर्कमा छापिएको र अर्को सर्वनाम थिएटरमा नै मञ्चन भएको उनले जानकारी दिए।

‘मुक प्रहसनलाई नै केन्द्रमा राखेर मैले दुई नाटक लेखेको छु। एक मञ्चन भएको छ। अर्को मधुपर्कमा प्रकाशित छ,’ उनी भन्छन्, ‘अरूले पनि लेखेका होलान् तर त्यो चाहिँ मेरो जानकारीमा छैन। नेपाली नाटक क्षेत्रमा मुक प्रहसनमै आधारित नाटक पनि बनेको छ। लेखिएको छ। यो नेपाली नाटकको लागि कुनै नौलो विषय होइन।’

नेपाली हाँस्यव्यंग्य र पेन्टोमाइम
नाटकमा जस्तै नेपाली हाँस्यव्यंग्यमा पनि पेन्टोमाइम कुनै नौलो प्रयोग नभएको दावी गर्छन् अर्का वरिष्ठ हाँस्यव्यंग्यकार धुव्र हाडा। उनी कमेडी च्याम्पियनमा विक्कीले दिएको प्रस्तुतिले २०२४ सालमा भएको देशव्यापी खुला हाँस्यव्यंग्य प्रतियोगिताका उपविजेता नारायणप्रसाद ग्वारालाई सम्झाएको बताउँछन्।

‘हामीले जानेसम्म व्यावसायिक रूपमा मुक प्रहसनमा मात्र प्रस्तुति दिने एनपी (नारायणप्रसाद) ग्वारा हुन्,’ उनी भन्छन्, ‘२०२४ सालमा त्यो प्रतियोगिता मैले जितें। एनपी दोस्रो भए।’

एनपी ग्वारा नै नेपालको पहिलो पेन्टोमाइम आर्टिस्ट भएको उनी दावी गर्छन्। भन्छन्, ‘त्यसपछि एक पटक मदन-हरिले अन्धो बनेर गरेका थिए जस्तो लाग्छ। अरू त मुक प्रहसन नै भनेर भएन। ग्वाराको प्रस्तुति नै नेपालको पहिलो र उत्कृष्ट प्रस्तुति थियो। मैले आजसम्म उनको जस्तो कला विदेशी कलाकारमा पनि देखेको छैन।’

कस्तो थियो नेपालका पहिलो व्यावसायिक मुक प्रहसनकर्ताको त्यो प्रस्तुति? 
नेपालको सन्दर्भमा ५४ वर्षको इतिहास बोकेको पश्चिमाहरुले भन्ने गरेको पेन्टोमाइम एनपी ग्वारापछि सुस्ताउँदै गयो। 

हाडा नेपालमा मुक प्रहसन कम हुनुको कारण अभिनय कलामा उच्चतम निखारता कलाकारमा नभएको र मिहिनेत धेरै चाहिने भएकाले कलाकारले यस विधालाई त्यति ध्यानमा नराखेको उकेरासँग दावी गर्छन्। 

वरिष्ठ कलाकार हाडा भन्छन्, ‘मुक प्रहसनको सबैभन्दा ठूलो पाटो नै निखार अभिनय हो। त्यसको लागि धेरै मिहिनेत चाहिन्छ। राम्रो अभिनय गर्न सकिएन भने दर्शकलाई हसाउन सकिँदैन। हाम्रा कलाकारले मिहिनेत गर्न अल्छी गरेर पनि होला दुई पटकभन्दा बढी मैले मुक प्रहसन देखिनँ।’ 

२०२४ सालमा ग्वाँराले दिएको त्यो मुख प्रहसनका बारेमा हाडा  भन्छन्, ‘एनपी स्टेजमा हलुवा बनाउँथे। हलुवा बनाउँदा उनी अनेक समस्या ल्याउँथे। र, त्यो समस्याको रमाइलो तरिकाबाट समाधान पनि गर्थे। उनले हलुवा बनाइरहँदाका हरेक क्षणहरूलाई समस्यामुलक रूपमा चित्रण गर्थे र उनको त्यो असहज अवस्था देखेर दर्शक मुर्छा परेर हाँस्थे।’

हाडाका अनुसार एनपी ग्वाराले मुक प्रहसनमा हात, तल्लो ओठ र आँखाको भरपुर फाइदा उठाउँथे। उनको अभिनयमा यति निखार थियो कि भावभंगीले दर्शकले के भन्न खोज्दैछ, के हुँदैछ प्रष्ट महसुस गर्न सक्थे। 

उनी थप्छन्, ‘हाडाले हलुवा पाक्यो कि पाकेन भनेर चाख्दा समेत दर्शक हाँस्थे। अब उनले के गर्छन् भन्ने यति कौतुहलता हुन्थ्यो कि, दर्शकको आँखा उनीबाट हट्दै हट्दैनथ्यो। म आफैंलाई समेत त्यस्तै हुन्थ्यो, आँखा झिम्क्याउँदा केही छुटिहाल्छ कि भनेर।’

एनपी ग्वाराले मुक प्रहसनका लागि निकै मिहिनेत गर्ने गरेको पनि उनी बताउँछन्। ग्वाराले उक्त प्रदर्शनको लागि आफूमा निखार ल्याउन कुनै कसर नछाडेकाले पनि आजसम्म हाडाको आँखामा ग्वाराको त्यो ‘हलुवा’ प्रस्तुति झलझली आइरहन्छ।

‘उनी २०४० सालतिर नै बित्ते। मुक प्रहसनमा उनमा जस्तो निखरता मैले आजसम्म कुनै कलाकारमा देखिनँ,’ हाडाले उकेरासँग भने।

नेपाली सिनेमा र मुक प्रहसनको प्रयोग
नेपाली नाटक, हाँस्यव्यंग्य जस्तै नेपाली सिनेमामा पनि मुक प्रहसनको प्रयोग जानी-नजानी भएको पाइन्छ। जस्तै प्रदीप भट्टराईको 'जात्रा' फिल्ममा त्यसको प्रयोग राम्रोसँग देख्न पाइन्छ। मह जोडीको लालपुर्जामा पनि माइम, पेन्टोमाइमको प्रयोग भएको छ। उसो त अभिनयमा माइम अपरिहार्य नै हुन्छ। 

‘मैले जात्रामा जानेर, प्रयोग नै गर्छु भनेर प्रयोग गरेको होइन,’ निर्देशक भट्टराई भन्छन्, ‘तर अहिले सम्झँदा प्रयोग राम्रोसँग भएको रहेछ भन्ने लाग्यो।’ 

चलचित्रको इतिहासमा अभिनयसँगै माइम पनि जोडिएर आउँछ। माइम, पन्टोमाइम नै भनेर प्रयोग नभए पनि सुरुवाती समयदेखि नै नेपाली सिनेमामा माइमको प्रयोग हुँदै आइरहेको छ भन्न सकिने तर्क गर्छन् चलचित्र विश्लेषक तथा निर्देशक मनोज पण्डित।

‘नेपाली सिनेमामा मुक प्रहसनको जानी-नजानी प्रयोग भएको छ। यो हाम्रो लागि नौलो नै भने होइन,’ पण्डित भन्छन्, ‘हामीले चार्ली च्याप्लिन लगायतका कलाकारले जस्तो मुक प्रहसनमै आधारित भएर सिनेमा त बनाएका छैनौँ। तर मुक प्रहसनको प्रयोग भने गरिरहेका छौँ। र, यो संसारले स्वीकारिसकेको आर्ट फम हो। यसबाट नेपाली सिनेमाले भोलिका दिनमा कलात्मकतामा झन् राम्रा अभ्यास गर्न सक्छ, गर्छ भन्नेमा कमेडी च्याम्पियनमा विक्कीको उक्त प्रस्तुतिपछि उठेको पेन्टोमाइम बहसले आशा भने जगाएको छ।’

भदौ १७, २०७८ बिहीबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।