स्थानीयको अवरोधपछि उठेन फोहोर, बुटवल दुर्गन्धित

स्थानीयको अवरोधपछि उठेन फोहोर, बुटवल दुर्गन्धित

बुटवल : स्थानीयको विरोधका कारण बुटवलको फोहोर ९ दिनदेखि उठ्न सकेको छैन। फोहोर नउठ्दा बुटवल उपमहानगरपालिका दुर्गन्धित भएको छ।

बुटवलस्थित हात्तिसुड र विनापाते क्षेत्रको बस्ती छेउलाई डम्पिङ साइड बनाएको उपहानगरले स्थानीयको विरोधपछि फोहोर उठाउन छाडेको हो। बुटवल उपमहानगरपालिकाले वडा नम्बर ११, हात्तिसुडमा विगत चार वर्षदेखि अव्यवस्थित रुपमा फोहोर थुपार्दै आएको छ। 

अस्थायी डम्पिङ साइट बनाएर दुर्गन्ध फैलाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।

दैनिक ५३ टन बढी उत्पादन हुने उपमहानगरको फोहोर व्यवस्थापन हुन नसक्दा स्थानीय खुला ठाउँ, खोला तथा नहरमा फाल्न थालेका छन्।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको बताए। उनले स्थानीयको मागअनुसार समस्याको समधान गरेर तत्काल फोहोरमैला व्यवस्थापन गर्नुका साथै फोहोरमैलाको दीर्घकालीन योजना उपमहानगरपालिकाले बनाइरहेको बताए।

स्थानीयले भने उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई गम्भीरताका साथ नलिएको भन्दै गुनासो गरेका छन्। उपमहानगरपालिकाले फोहोर ल्याउने र दुर्गन्ध नफैलियोस् भनेर बालुवाले पुर्ने गरे पनि दुर्गन्ध फैलिएको स्थानीय बस्ती विकास समिति हात्तिसुडका अध्यक्ष राजेश थापाले बताए। 
उनले उपमहानगरपालिकाले फोहोरबाट आउने दुर्गन्ध नरोक्दासम्म सो स्थानमा फोहोर फाल्न नदिने बताए। ‘हामीले पटकपटक उपमहानगरपालिकालाई ध्यानाआर्कषण गराउँदा पनि सुनुवाइ नभएपछि फोहोर फाल्न नदिएका हौं,’ उनले भने।

स्थानीयको पटकपटक विरोध भइरहँदा समेत उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थापनको दीर्घकालीन कार्ययोजना भने बनाउन सकेको छैन। कार्य सम्पादन मूल्याकंनमा लगातार पाँच पटकसम्म उत्कृष्ट भएको बुटवल उपमहानगरपालिका फोहोर व्यवस्थापन भने चुकेको छ।

बजार क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन समधान नखोजिँदा बस्ती नजिकै डम्पिङ गर्नुको विकल्प उपमहानगरपालिकासँग छैन।

उपमहानगरपालिकाको फोहोर यसअघि पनि नदी किनारमै थुपारिँदै आएको थियो। जसका कारण जग्गा उकासियो र धेरै क्षेत्रमा बस्ती नै बस्यो।

सुरुमा मैनाबगर क्षेत्रमा फोहोर व्यवस्थापन गरेको उपमहानगरपालिकाले २०५५ सालदेखि तिनाउको पूर्वतर्फ फोहोर व्यवस्थापन गर्दै आएको छ। दुई दशक नदी क्षेत्रमा फोहोर फाल्दा पुरानो बसपार्क पछाडिको खयरघारी र पवित्रनगर, सुन्दरनगर बस्ती फोहोर फाल्दा उकासिएको जग्गामा बनेका बस्ती हुन्।

पुरानो बसपार्क पछाडि खयरघारीदेखि थुपार्दै गएको फोहोर अहिले लुम्बिनी वाणिज्य क्याम्पस पछाडिको हात्तीसुडसम्म पुगेको छ। अहिले त्यो बस्तीमा फोहोरले दुर्गन्ध फैलिएको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन्। 

उपमहानगरपालिकाले हात्तीसुडमा फोहोर संकलन गर्ने भएपछि स्थानीयसँग दुर्गन्ध नफैलाउने र बस्तीको विकास गर्ने सम्झौता गरेको थियो। सम्झौता अनुसार एक फुट फोहोर जम्मा भएपछि चार इन्च माटोले पुर्दै लैजाने सम्झौता भए पनि उपमहानगरपालिकाले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको फोहोर व्यवस्थापन समिति हात्तिसुडका कृष्ण भण्डारीले बताए।

६ वर्षअघिसम्म दैनिक ३० देखि ३२ टन मात्र फोहोर उत्पादन हुने बुटवलमा अहिले दैनिक ५३ टन फोहोर उत्पादन हुँदै आएको छ।

फोहोर व्यवस्थापनमा उल्झन


बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि एसियाली विकास बैंकसँग ऋण अनुदानका लागि सम्झौता गरेको थियो। तर यो कार्यको थालनी हुन सकेन। सन् २०१० मा एडिबीसँग फोहोर प्रशोधन केन्द्रका लागि २८ करोडको सम्झौता भयो। त्यसपछि फोहोर मैला प्रशोधन केन्द्रका लागि उपमहानगरपालिकाले जेडआइइसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता समेत गरेको थियो। 

साविक बुटवल १५ को जितेश्वरी सामुदायिक बनमा योजना निर्माण गर्ने भने पनि स्थानीयको अवरोधपछि देविनगर र त्यहाँ पनि विरोध भएपछि देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक बनमा योजना निर्माण गर्ने भनियो। 

शिवनगर सामुदायिक वन क्षेत्रमा ४ सय ८४ हेक्टर क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने गरी योजना तयार भए पनि दुई वटा नगरपालिकाबीच समन्वयको कमी र अस्तित्वको लडाइँका कारण सफल हुन सकेन।

सम्झौता भएको आठ वर्षसम्म पनि जग्गा अभावमै उपमहानगरपालिका रन्थिनिएपछि उक्त परियोजनाबाट एडिबीले हात झिक्यो।
 

भदौ १७, २०७८ बिहीबार ०६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।