प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई आफ्नैबाट धोका, धरापमा पद 

प्रदेश १ का मुख्यमन्त्री आचार्यलाई आफ्नैबाट धोका, धरापमा पद 

इटहरी : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्। नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीमा १० जना सांसद आबद्ध भएपछि आचार्यको मुख्यमन्त्री पद नै धरापमा परेको छ।

अहिलेको अङ्कगणित अनुसार विश्वासको मत नपाउने अवस्थामा पुगेका आचार्यले प्रदेश सरकारलाई पूर्णता नदिई पद छाड्नुपर्ने भएको छ। 

निवर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा मुख्यमन्त्री बनेका भीम आचार्यलाई आफ्नैले धोका दिएका छन्। पहिला राईको पक्षमा लागेका सांसदले पूर्ण साथ दिए पनि उनको गोजीका सांसद भनिएकाहरूले धोका दिएका हुन्। 

निर्वाचनका बेला मुख्यमन्त्री बन्न छानिछानी आफू निकटकालाई समानुपातिकतर्फबाट सांसद बनाएका आचार्यलाई अहिले तिनै सांसदले छाडेका छन्। चुनाव देखि नै मुख्यमन्त्रीको लाइनमा रहेका उनले सोहीअनुसार तयारी थालेका थिए।

प्रतिनिधि सभामा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीसँग भित्री चुनावी तालमेल गरेर चुनाव जितेका आचार्य अहिले आफ्नैबाट धोकामा परेका छन्। 

मुख्यमन्त्री बन्ने दाउमा आफू इतरका नेताहरूलाई टिकट नदिएको आरोप खेपेका आचार्य  त्यस बेला एमाले प्रदेश– १ इन्चार्ज थिए। इन्चार्ज हुँदा उनी माधव नेपाल निकट भए पनि सुनसरी, मोरङ, झापामा उनले आफ्नो छुट्टै गुट चलाएका थिए। टिकट बाँड्दा पैसाको बार्गेनिङ गरेको अडियो समेत सार्वजनिक भएको थियो।

कुनै बेला आचार्य निकट मानिएका संविधानसभा सदस्य रेवतिरमण भण्डारी प्रतिनिधिसभाको टिकट नपाएपछि उनको विरुद्ध थिए। सार्वजनिक कार्यक्रममा पनि आचार्य भ्रष्ट भएको प्रमाणित भएको भण्डारीको आरोप थियो। आचार्यलाई संसदीय दलको नेता हराउन उनले समेत भूमिका खेले। 

उनैले टिकट दिएर सांसद भएका जीवन घिमिरेले मन्त्री हुने लोभमा आचार्यलाई संसदीय दलमा पराजित गरे। उनकै विश्वास पात्र मानिएका राजन राईले समेत सहयोग गरेनन्।

आचार्य शेरधनसँग दुई मतले पराजित भए। ५२ सांसदका बिच भएको मतदानमा उनले २४ मत पाएका थिए। अहिले तिनै २४ जनामध्ये १० जना समाजवादीमा लागेका छन्। 

आचार्यकै जोडबलमा सांसद भएका उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, पदमकुमारी गुरुङले समेत उनको साथ छाडेका छन्। सांसद राजेन्द्र राई आचार्य निकट सांसद थिए।

बुधबार उनकै नेतृत्वमा सावित्रा रेग्मी, खिनु लङ्वा (लिम्बु), गणेश काङ्माङ, सुनिता चौधरी र सरिता थापाले आचार्यको साथ छाडे। उनीहरू आचार्यकै पहलमा सांसद भएका हुन्। 

५१ सांसद सहित बहुमतमा रहेको एमालेमा सभामुख र फरार एक सांसद बाहेक ४९ सांसद कायम छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। एमालेले अन्य साना दलसँग गठबन्धन गर्दा समेत बहुमत नपुग्ने भएपछि आचार्य नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित छ। 

संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त दलको हैसियतमा आचार्य मुख्यमन्त्री भएका हुन्। सरकारको नेतृत्व गरेको दल विभाजन भएमा धारा १८८ (२) बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। 

नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले एमालेबाट एकीकृत समाजवादीमा सनाखत भएपछि यसबारे गठबन्धनमा छलफल हुने बताए। उनले केन्द्रदेखि कै सहमतिका आधारमा मुख्यमन्त्री कसलाई दिने भन्ने निर्णय गर्ने जानकारी दिए। 

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। 

भदौ १६, २०७८ बुधबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।