राउटेको अवस्थाबारे बुझ्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पुगे सुर्खेतको काल्चे

राउटेको अवस्थाबारे बुझ्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पुगे सुर्खेतको काल्चे

सुर्खेत : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे बस्तीको अवलोकन गरी उनीहरूको अवस्थाबारे छलफल गरेका छन्। 

अध्यक्ष तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गरेका हुन्।
कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले मङ्गलवार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै वासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए। 

‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन’, उनले भने ।
राउटे समुदायका मुखिया सहितको टोलीलाई राज्यले स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने बताउँदै उनले एक ठाउँमा बस्न राउटे समुदायलाई आग्रह गरे। तिमिल्सिनाले सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिन सल्लाह सल्लाह दिएका थिए।

अध्यक्ष तिमिल्सिनाले राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भए पनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरूको अवस्थामा सुधार नहुने बताए।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एक ठाउँ बस्न तयार भए सरकार समक्ष आफूले पहल गर्ने आश्वासन समेत दिएका छन्।

भदौ १६, २०७८ बुधबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।