बुटवलमा अन्तर्राष्ट्रियस्तरको सभा हल र प्रदर्शनी केन्द्र निर्माण एकसाथ

बुटवलमा अन्तर्राष्ट्रियस्तरको सभा हल र प्रदर्शनी केन्द्र निर्माण एकसाथ

बुटवल : अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको बुटवलका दुई ठूला परियोजनाको काम अहिले तीव्र गतिमा भइरहेको छ।

बुटवल उपमहानगरपालिका-१० रामनगर (बुटवल मण्डप) मा अन्तर्राष्ट्रिय स्तरको सभा हल र प्रदर्शनी केन्द्र निर्माणको काम एकसाथ अघि बढेको हो। 

बुटवल सभा हल निर्माण अन्तिम चरणमा पुगेको छ भने प्रदर्शनी केन्द्र निर्माणको काम लगभग आधा भइसकेको छ।

कोभिडको महामारीले केही विलम्ब भएको बुटवल सभा हल बढीमा ८ महिनामा सक्ने गरी निर्माणको काम भइरहेको परियोजनाले जनाएको छ।

बुटवलमा निर्माणाधीन बुटवल सभा हल राजधानी बाहिर सबैभन्दा ठूलो सभा हल हो। प्रदर्शनीस्थल समेत मेला महोत्सवका लागि स्थायी संरचना हुने पहिलो प्रदर्शनी स्थल हो।

२०७१ साल माघ १५ गते निर्माण कम्पनी रविना समानान्तर चन्द्रसूर्य जेवी कम्पनीसँग बुटवल सभा हलको ठेक्का सम्झौता भएको थियो।

आयोजना सम्पन्न गर्न पटक-पटक गरी ३ पटक म्याद थप गरिएको छ। निर्माणका क्रममा मण्डपमा रहेका रुखहरू काट्ने अनुमति ढिला पाउनु, भूकम्प, नाकाबन्दी र निर्माण सामग्रीको अभावका कारण समय सीमामा यो आयोजना सम्पन्न हुन नसकिरहेको अवस्थामा कोरोनाले थप प्रभावित पारेको परियोजनाले जनाएको छ।

पहिलो चरणमा एउटा १ हजार १ सय १४ जना अटाउने मुख्य सम्मेलन हल, ५० जना क्षमताको २ र १ सय क्षमताको २ गरी ५ वटा विभिन्न प्रयोजनका हल निर्माण भइसकेका छन्। 

अहिले दोस्रो फेजमा चन्द्रमा आकारको संरचना निर्माण भइरहेको छ। २०७४ असार मा जेड.सि,जि.आई.ई.सी र आशीषको जेभीले दोस्रो फेजको ठेक्का लिएका थिए।

दोस्रो फेजमा सभा हलसँग सटेर नर्थ र साउथ गरी दुई वटा भवन निर्माण भएका छन्। त्यस बाहेक दोस्रो २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रिनहाउस, स्टार्फ क्वाटर, ५ वटा, ५ वटा गार्ड हाउस, बाटो, नाली, पोखरी, पार्किङ, विद्युत पानी, जडान, हलमा कुर्ची कार्पेट राख्न, टिकट काउन्टरको काम हुनेछन्।

हाल साउथ ब्लकको काम सकिएको छ भने नर्थ ब्लक दुई तलामध्ये पहिलो तलाको काम अन्तिम चरणमा छ। त्यस्तै सर्भिस ब्लक ए र वीमध्ये १/१ तलाको काम पनि अन्तिम चरणमा पुगेको छ।

यो परियोजना सम्पन्न भएपछि आकाशबाट हेर्दा नेपाली राष्ट्रिय झन्डा आकारको हुनेछ। ‘सभा हलले झन्डाको आकार लिइसकेको छ। त्यसभित्र पर्ने चन्द्र र सूर्य तयारीको अन्तिम चरणमा छ भने चुच्चे भाग निर्माणको काम भइरहेको छ’ परियोजनाका इन्जिनियर सुमन दर्लामीले भने। सभा हलको कुल लागत १ अर्ब ३ करोड रुपैयाँ छ।

यता प्रदर्शनी केन्द्रको काम पनि धमाधम भइरहेको छ। प्रदर्शनी केन्द्रको क्यापासाइट इन्फ्रा प्रोजेन्ट र गौरी पार्वती जेभी काठमाडौंले १ अर्ब २ करोड रुपैयाँमा ठेक्का पाएका थिए।

प्रदर्शनी केन्द्रमा एउटा ठूलो प्रदर्शनी हल, दुई वटा बैठक हल, प्रशासनिक भवन र खाजा घर हुने छन्। १२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठुलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे ३ सय स्टल सहभागी हुनसक्ने इन्जिनियर दर्लामीले जानकारी दिए।

प्रदर्शनी केन्द्रका सबै हलमा गरी ८ सय ३८ स्टल रहने छन्। अहिले फस्ट फेजको काम भइरहेको उनले बताए।

स्थायी प्रदर्शनी केन्द्रको अभावमा हरेक वर्ष औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका यस क्षेत्रका उद्योगी व्यवसायीहरूलाई स्थायी प्रदर्शनी केन्द्र निर्माणपछि ठूलो राहत मिल्ने विश्वास लिइएको छ

 बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्जवल कसजुले प्रदर्शनी केन्द्र निर्माणपछि मेला महोत्सवमा अस्थायी संरचना निर्माणमा लाग्ने खर्च कटौती हुने बताए।
 

 

भदौ १६, २०७८ बुधबार ११:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।