प्रदेश १ : गठबन्धनमा बहुमत, आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित 

प्रदेश १ : गठबन्धनमा बहुमत, आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित 
मुख्यमन्त्री भिम आचार्यलाई बधाई दिंदै निवर्तमान मुख्यमन्त्री शेरधन राई (फाइल फोटो)

इटहरी : मुख्यमन्त्री परिवर्तन भएको एक सातामै प्रदेश १ सरकार अल्पमतमा परेको छ। शेरधन राईले राजीनामा दिएपछि मुख्यमन्त्री बनेका भिम आचार्यको सरकार अल्पमतमा परेको हो।

 नेकपा एमाले भित्रको समीकरण मिलाउन राईले आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्। 
तर, नेकपा एमाले विभाजन पछि बनेको नेकपा (एकीकृत समाजवादी) मा १० जना प्रदेश सांसद जाने भएपछि आचार्य लाई बहुमत नपुग्ने प्रस्ट भएको छ। सांसद राजेन्द्र राईको नेतृत्वमा १० सांसदले माधव नेपाल नेतृत्वको समाजवादी पार्टी रोजेका हुन्। सोमबार र मङ्गलवार बिदा भएको कारण निर्वाचन आयोग पुग्न नपाएका उनीहरू बुधवार दिउँसो ११ बजे आयोग पुग्ने तयारीमा छन्। 

५१ सांसद सहित बहुमतमा रहेको एमालेमा सभामुख र फरार एक सांसद बाहेक ४९ सांसद कायम छन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। एमालेले अन्य साना दलसँग गठबन्धन गर्दासमेत बहुमत नपुग्ने भएपछि आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो। सांसद राईको नेतृत्वमा राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा (लिम्बु), गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन्। 

नेपालको संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त दलको हैसियतमा आचार्य मुख्यमन्त्री भएका हुन्। सरकार नेतृत्वको दल विभाजन भएमा धारा १८८ (२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। बुधवार प्रदेश निर्वाचन आयोगमा दल विभाजनको जानकारी पुगे पछि आचार्यले विश्वासको मत लिनुपर्ने भएको छ। हालको अङ्कगणितमा काँग्रेस बाहेक अन्य साना दलसँगको गठबन्धनमा समेत बहुमत नपुग्ने भएपछि आचार्य अल्पमतमा पर्ने भएका हुन्। 

एमालेको सरकार अल्पमतमा परेपछि ५ दलीय  गठबन्धनमा आश्चर्यजनक दरार नआए नयाँ सरकार बन्ने निश्चित छ। नयाँ सरकारको लागी गठबन्धनको निरन्तरता र समाजवादी जाने निर्णय लिएका संसदको अडानमा भर पर्ने देखिएको छ  

आचार्यले गत बिहीबार शपथ लिए लगत्तै शुक्रवार दुई जनालाई मन्त्रीमा नियुक्त गरे। माधव नेपाल समूहका अन्य सांसदलाई पनि मन्त्री बनाउने तयारीमा रहेका आचार्यलाई १० सांसदको नयाँ दल रोजाइले समस्या पारेको छ। आचार्यले यी १० जनामध्ये अधिकांशलाई मन्त्री बनाउने आश्वासन दिँदै आफूलाई सघाउन आग्रह गरेका थिए।

पहिला ९ सांसद दाबी गर्ने समाजवादीका नेता राईले कम्तीमा १५ जना सांसदले आफूलाई साथ दिने बताउँदै आएका छन्। आचार्यले मुख्यमन्त्रीको शपथ लिए लगत्तै नेता राईले प्रदेश सरकार दुई दिनमै अल्पमतमा पर्ने बताएका थिए।

ओली पक्षका नेता एवम् निवर्तमान मन्त्री हिक्मत कार्की भने समाजवादीमा लाग्नेको संख्या नगण्य हुने र एमालेको वर्चस्व कायम रहने दाबी गरिरहेका छन्। मङ्गलवार मात्र काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाको निवासमा पुगेका उनले नयाँ समीकरणको तयारी रहेको बताएका छन्। उता काँग्रेसले भने गठबन्धनलाईनै निरन्तरता दिने बचन दिएको छ।  


 

भदौ १६, २०७८ बुधबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।