सुस्त गतिमा भेरी–बबई डाइभर्सनको  काम , आक्रोसमा प्रभावित

सुस्त गतिमा भेरी–बबई डाइभर्सनको  काम , आक्रोसमा प्रभावित

सुर्खेत : राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गतको दोस्रो चरणको काम सुस्त भएको छ।

आयोजनाको पहिलो चरण अन्तर्गतको सुरुङ खन्ने काम तोकिएको समय भन्दा अगाडी नै  सकिए पनि दोस्रो चरणको काम सुस्त भएको हो। दोस्रो चरण अन्तर्गत हेड वक्स र पावर हाउसको काम चार वर्षभित्र सक्नुपर्ने भए पनि दुई वर्ष बितिसक्दा समेत ३० प्रतिशत मात्रै काम सकिएको छ।

आयोजनाको बाँध रहेको स्थान चिप्लेमा स्वचालित गेट, पेन स्टक, स्टिल माइनिङ र विद्युत् गृह बबईमा टर्बाइन, विद्युतीय उपकरण सब स्टेसन लगायत काम निर्माण प्रक्रियामा छन्। 

आर्थिक वर्ष २०७९÷०८० सम्म निर्माण कार्य सम्पन्न गरी बाँके र बर्दियाको ५१ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र ६४.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। 

चिनियाँ कम्पनीसहित रमण जेभीले दोस्रो चरण अर्थात् बाँध र पावर हाउसको काम आगामी २०८० भित्र सक्ने गरी जिम्मा लिएको छ। आगामी दुई वर्ष भित्र सक्नुपर्ने आयोजनाको समष्टिगत प्रगति हेर्दा पहिलो चरणको सुरुङ मार्ग बाहेक अन्य कामको प्रगति निराशाजनक छ।

दोस्रो चरणमा बाँध र पावर हाउस निर्माणका लागि निर्माण कम्पनीसँग २०७६ साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँमा सम्झौता भएको थियो। चार वर्षको लागि भएको सम्झौताको बाँकी अवधि दुई वर्ष छ।

जसमध्ये समयका हिसाबले ५० प्रतिशत अर्थात् २ वर्ष बितिसकेको छ भने, भौतिक प्रगति भने ३० प्रतिशत मात्रै भएको छ । हालसम्म एक अर्ब ५९ करोड ६२ लाख रुपैयाँ वित्तीय प्रगति रहेको छ।

यसरी हेर्दा बाँकी दुई वर्षमा आयोजनाको ७० प्रतिशत काम सक्नुपर्ने दबाब छ।

समग्रमा आयोजनाको समयका हिसाबले ७५ प्रतिशत सकिएको छ अब बाँकी २५ प्रतिशत बाँकी रहँदा कामको प्रगति ५० प्रतिशत पनि भएको छैन। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अविनाशी सिग्देलका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति भने ४८ प्रतिशत मात्रै छ।

कोरोना सङ्क्रमणले समेत सुरुवाती चरणमा आयोजनाको निर्माण कार्य प्रभावित बनाएको र नदीको बहाव बढेपछि बाँध स्थलमा गर्नुपर्ने कतिपय काम रोकिएका छन्। ‘सुरुवाती चरणमा महामारीले कतै न कतै केही न केही असर चाहिँ गरेकै थियो, मजदुर नै सङ्क्रमित हुनुभयो त्यत्ति बेला केही ढिला भयो,’ उनले भने, ‘सरकारले राष्ट्रिय गौरवको आयोजना नरोक्नु भनेपछि स्थानीय प्रशासन सहित सरोकारवालाहरूबाट सहकार्य र समन्वय हुँदा आयोजनामा आवश्यक सामग्रीहरू पुग्न थालेपछि काम तीव्र पारिएको हो, अहिले त्यस्तो कुनै समस्या छैन।’

आयोजना स्थलमा हाल झन्डै दुई सयभन्दा बढी कामदार छन् ।

नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण भएको आयोजनाको ठेक्का सम्झौता रकम १० अर्ब ५६ करोड ९७ लाख मध्ये नौ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

अहिलेसम्म आयोजनाको १२ दशमलव २० किलोमिटर लामो र ४ दशमलव २० मिटर ब्यास भएको सुरुङ निर्माण भइसकेको छ।

 

स्थानीय जनप्रतिनिधिलाई अपनत्वको अनुभव छैन

आयोजना प्रभावित क्षेत्रका स्थानीय नागरिक र जनप्रतिनिधिहरुले शिलान्यास गर्दा भएका सहमति कार्यान्वयन नभए काम अगाडी बढ्न नदिने चेतावनी दिएका छन्।

आयोजनाबाट बढी प्रभावित हुने भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाका जनप्रतिनिधिहरुले आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादनका साथै भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने भए पनि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट कुनै पनि लाभ लिन नसेको बताए हुन्।

‘स्रोत क्षेत्रका जनताका प्रतिनिधि भएका नाताले यहाँका जनताले उठाएका मागहरू सम्बोधन गर्नका लागि जनसरोकार समिति गठन गरेका छौँ,’ गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले भने, ‘प्रधानमन्त्री र सरोकारवालालाई सुरुमा जनताका मागहरूका विषयमा जानकारी गराउँछौँ, सम्बोधन नभए आयोजनाको काम अघि बढ्न दिँदैनौँ।’

यस्तै भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले आयोजना उद्घाटनका क्रममा भएका प्रतिबद्धता र तत्कालीन सरकारले बनाएको योजना अनुसार कामहरू अघि बढाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे।

भेरीको पानी बबईमा खसालेर विद्युत् निकाल्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिन सिँचाइ हुने भए पनि प्रभावित क्षेत्रका जनताले यो आयोजनाबाट के लाभ लिने ?,’ मेयर चन्दले भने, ‘मागहरू पूरा नभए आयोजनाको काम रोक्नुपर्ने बाध्यता हुन्छ ।

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले राष्ट्रिय गौरवको आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले पनि गौरव गर्ने खालको वातावरण बन्नुपर्ने बताए। ‘भन्दा राष्ट्रिय गौरवको योजना भन्ने, तर स्थानीय जनता पीडित भइराख्ने गर्दा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘स्थानीयका माग, आवश्यकता र विगतका प्रतिबद्धता अनुसार आयोजना अघि बढ्नुपर्छ ।’

भदौ १६, २०७८ बुधबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।