चौथो अंगमा हरि शर्मा : हाम्रा मिडिया हिसाब-किताब सार्वजनिक गर्न किन सक्दैनन् ?

चौथो अंगमा हरि शर्मा : हाम्रा मिडिया हिसाब-किताब सार्वजनिक गर्न किन सक्दैनन् ?

अब त्यो अबस्था रहेन। प्रविधिको विकासले मिडिया संसारभर व्यापक रुपमा विस्तार भएको छ। नेपालमा पनि त्यसको प्रभाव परेको छ।

कुन पढ्ने, कस्तो पढ्ने, कुन सुन्ने, कुन हेर्ने रोज्न पाइएको छ। राष्ट्रियस्तरका पत्रपत्रिका, अनलाइनको पनि विस्तार भएको छ। सूचनाको स्रोत र प्रयोग दुवै विस्तार भएको छ। 

मिडियालाई मैले दुई प्रकारमा छुट्याउने गरेको छु, अनौपचारिक र औपचारिक। अनौपचारिक भनेको सोसल मिडिया हो भने औपचारिक भनेको पत्रपत्रिका, टिभी, रेडियो अनलाइन। 

पछिल्लो समय युट्युब, ट्विटर, इन्स्टा, टिकटक, फेसबुक इन्टरनेटको सुविधा भएकाहरुले सहजै चलाउन सक्ने भए। चलाउन नजान्नेले पनि अरुले चलाएको देख्न सक्ने भए। औपचारिक तथा अनौपचारिक मिडियाको प्रयोग बढ्दै गएको देखिन्छ। २०/२५ वर्षको तथ्यांक हेर्ने हो भने सञ्चार माध्यमको धेरै विस्तारित भएको देखिन्छ। अनौपचारिक मिडियामा व्यक्तिले प्रस्तुत गर्ने माध्यम पाइरहेका छन् भने औपचारिक मिडियाबाट महत्वपूर्ण सूचना पाइरहेका छन्। 

मिडियामा राजनीति हावी
२०४६ सालको बहुदलपछि हेर्दा राजनीति मात्रै नभएर विषयवस्तुको दृष्टिकोण हेर्दा सामाजिक विषयवस्तु, सामाजिक मुद्दाहरुले प्रवेश पाएको त देखिन्छ तर स्पष्ट देखिने नै गरी राजनीति हावी भएको देखिन्छ। 

सामाजिक सञ्जालमा सामाजिक विषय, रीतिथिति, कुरीतिबारे चर्चा-परिचर्चा भएको हामी देख्छौं। सामाजिक सञ्जालमा त मनोआकांक्षा नै प्रकट भएको देखिन्छ। हिजो सार्वजनिक सञ्चार सामाजिक प्रयोगका लागि हुन्थ्यो भने अहिले व्यक्तिगत मनोकांक्षा पूरा गर्ने साधन भएको छ। प्रेम र सद्भावको समिश्रण भएको देखिन्छ। हामी सञ्चार माध्यमका प्रयोगकर्ता र उपभोक्ता दुवै हौँ। यसरी हेर्दा सञ्चार माध्यमको संरचनामा ठूलो फेरबदल भएको देखिन्छ। 

औपचारिक-अनौपचारिक दुवै मिडियामा राजनीति हावी छ। सामाजिक सञ्जालमा पनि तिनै नेताको भाषण भाइरल भएको देखिन्छ भने औपचारिक मिडियाले पनि राजनीतिकै समाचारहरु बढी दिएका छन्। यसो भन्दै गर्दा अन्य विषय आएका छैनन् भनेको होइन। मिडियाले लेखकहरु पनि जन्माएको छ। धेरै व्यक्तिको पहुँचमा मिडिया पुगेको छ। 
मिडियाले उठाउने विषयवस्तु फराकिलो भएर आएको छ। तर विधाहरु फराकिलो भएको देखिँदैन। उदाहरणको लागि शिक्षाका लागि निस्कने पत्रिका शिक्षक मासिक थियो। अहिले त्यो निस्केको छैन। अरु पनि केही खुले होलान् तर निरन्तरता दिन सकेका छैनन्।
 
२०५०  सालतिर वातावरण सम्बन्धी केही पत्रिका निस्कन्थे। अहिले देखिँदैनन्। मिडियामा आमनागरिकलाई छुने उनीहरुको व्यवहारमा परेको विषयवस्तु निकै कम छन्। अहिले प्रत्येक नेपालीको घरमा एक न एक जना वैदशिक रोजगारीको लागि जान्छन् भनिन्छ। मिडियाले यसबारे बिट त छुट्याएका छन् तर यससम्बन्धी विशिष्ट अध्ययन गर्ने किसिमको बिट छ जस्तो मलाई लाग्दैन। यो त राष्ट्रिय ‘इस्यु’ हो नि।

अझै पनि समाचारमा केन्द्रका इस्युमात्रै हावी भए। क्षेत्रीय समाचारको अभाव छ। केही त नभएका हैनन् तर ती संस्थागत छन् कि छैनन्। आवाज दिने, विवाद गर्ने ठाउँ बढेका छन् तर त्यसको गाम्भीर्यता र निरन्तरताको बारेमा म टिप्पणी गर्न सक्दिनँ। 

मिडियाले समाज भड्काउँदैन

पछिल्लो समय नेपाली सञ्चार माध्यमले जातीय संवेदनशीलता, लैंगिक संवेदनशीलतालाई ध्यान दिएका छन्। तर यस्ता समाचार प्रस्तुत गर्दा मिडियाले सामाजिक सहिष्णुता, एकता भत्काएको आरोप लगाएको पनि पाइन्छ। हाम्रो मानवीय स्वभाव नै के हो भने नयाँ विषय स्वीकार्न नसक्ने। मान्छेको स्वभाव नै यथास्थितिमा रहने हुन्छ। 

समाज जहिले पनि राम्रो/नराम्रो, उचित/अनुचित के हो भन्ने द्वन्द्वबाट गुज्रिरहेको हुन्छ। अनुसन्धानहरुले पनि यी कुरा बताएका छन्। जे चलिरहेको छ, त्यही चलिरहोस् भन्ने लाग्छ हामीलाई, जसले शक्तिलाई नियन्त्रण गर्ने, सम्बन्धहरुलाई परिभाषित गर्ने गर्छन् आफू अनुकुल। यस्तो गर्नेहरुले शक्ति सन्तुलनमा खलल नआओस् भन्ने ठान्नु स्वभाविक नै हो। 

तर, जो शक्तिमा छैन, उसले उठाएको कुरा उसको लागि जीवन-मरणको सवाल हुनसक्छ। अरुले त्यो कुरा उठाए भनेर विचलित हुने होइन। यो त पक्कै पनि संवादबाट टुंगिने कुरा हो। कहिले पनि एउटा विचारलाई निमट्यान्न पार्दैमा अर्को विचार नजन्मिने भन्ने हुँदैन। समाज नै विविधता भएपछि अन्तरद्वन्द्व हुन्छन्। 

सहिष्णुता, एकतामाथि शासकले थुपार्ने, निर्देशन गर्ने होइन कि नागरिक तहबाटै एकअर्काको अस्तित्वलाई स्वीकार्ने बन्नु हो। भारतमा हिन्दु-मुस्लिम दंगा हुँदा सद्भाव र्याली निकाल्ने चलन छ, त्यो पनि बहुसंख्यक हिन्दुबाट। समाजका वर्चस्वशालीहरुले आफ्ना सर्तहरुमा स्थायित्व चाहेका हुन्छन् अनि सद्भाव र्याली निकाल्ने सहिष्णु हुनुपर्छ भन्ने पाठ सिकाउन थाल्छन्।

त्यस्तै नेपालमा फरक विचार आउने वित्तिक्कै जहाँ ती फरक विचार सम्प्रेषित हुन्छन् ती मिडियाहरु निशानामा परेका हुन्छन्। मिडियाले सहिष्णुता बिगारेका होइनन्, बहुल विचारधारालाई स्थान दिएका हुन्। 

जुन समाजमा समान भाव छैन, एक नागरिक र अर्को नागरिक बराबर छैनन्, त्यो समाजमा सद्भाव टिक्दैन। हामी बराबर पनि भन्ने, उनीहरुमाथि भएको हिंसालाई बेवास्ता गरेर पनि बस्ने गर्दासम्म सद्भाव हुँदैन।

मिडियाले तिनै फरक विचारलाई सहज भाषामा लेखेर सम्प्रेषण गर्ने हो। त्यसरी सम्प्रेषण गर्दा फरक विचार नपचाउनेलाई ठेस लागेको मात्रै हो। नत्र मिडियाले सहिष्णुता बिगारेका होइनन्।

सबै फरक विचार नराम्रा हुँदैनन्। फरक कुरा नहेर्ने, नसुन्ने भन्ने हुँदैन। हाम्रो विचार कतिको उदार छ भन्ने कुरामा भर पर्छ। मिडियाले विचार निषेध गर्ने होइन। मिडियाले प्रस्तुत गरेका सामग्रीमा एउटालाई त्यो मन पर्न सक्छ अर्कोलाई मन नपर्न सक्छ। त्यो व्यक्तिपिच्छे फरक हुने कुरा हो।

त्यसकारण, मिडिया साक्षरता के हो? कसरी बुझ्ने हरेक क्षेत्रको सूचनाको सम्प्रेषण समाजको लागि किन महत्वपूर्ण छ, सूचना कसले उत्पादन गर्छ, सूचनाकर्ता उत्पादकको हैसियतले हाम्रो कर्तव्य र मर्यादा के हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ।

प्रश्नलाई निषेध गर्दा समाज अघि बढ्दैन

प्रश्न सोध्ने प्रचलन वैदिककालदेखि नै हो। उपनिषद्हरु प्रश्नोत्तर शैलीमा नै छन्। हाम्रो शिक्षा प्रणालीमा गुरुले भनेको सुन्नुपर्छ भन्ने भयो तर प्रश्न सोध्नुपर्छ भन्ने भएन। शिष्ट, मर्यादित हुँदाहुँदै पनि फरक र कठोर प्रश्न सोध्न सकिन्छ भन्ने धारणा पाइँदैन।  
प्रश्नलाई निषेध गर्ने हाम्रो सामाजिक प्रणाली छ। सत्य के हो भने, प्रश्नलाई निषेध गर्यो भने कुनै पनि समाज अगाडि बढ्दैन।   

मिडिया किन चाहिन्छ? लेख, कविता किन चाहिन्छ? समाचारले हामीलाई के गर्छ? भन्नेहरुको आधार के हो? नैतिक शिक्षा, सामाजिक शिक्षा भन्ने वित्तिक्कै राज्यले नेताले, परिवारले, समाजले यो गर्न हुन्छ, यो गर्न हुँदैन भन्ने सिकाइन्छ तर के आधारमा गर्न हुन्छ, के आधारमा गर्न हुँदैन भनेर सिकाइँदैन। हरेक उत्तरको आधार र हरेक विषयमा  छलफल गर्यौं भने सहिष्णु रुपमा प्रश्न गर्ने र प्रश्नलाई सहिष्णु बनाउने परिपाटी गर्यौं भने मिडियाप्रति अहिले जे जति कुरा उठेका छन्। त्यो उठ्दैन। 

मिडियाहरु अराजक भए, असिहष्णु भए भन्ने धारणा गहिरो गरी परेको पाइन्छ। प्रतिस्पर्धा बढेर जाँदा केहीमा नैराश्यको भाव बढेको पनि सुनिन्छ। हामीले लेखेको, पढेको, सुनेको विषयलाई संश्लेषण गर्न सक्नुपर्ने हो। अनि न हामी लोकतान्त्रिक हुन्छौँ। जुन देशमा नागरिकले प्रश्न गर्न सक्दैन, लोकतन्त्र टिक्न त कठिन हुन्छ नि। 

उत्पादनकर्ताले मिडिया नियन्त्रण गर्ने होइन

औपचारिक मिडिया नियमन गर्ने प्रेस काउन्सिल छ। ठूलो सामाजिक अस्थिरता बढ्यो अनौपचारिक सोसल मिडियाहरु नियमन गर्नुपर्छ भन्ने यदाकदा सुनिन्छ। यसलाई कति नियमन गर्दा उपयुक्त हुने हो? सामाजिक सञ्जालमा प्रकट विचारलाई रोक्दा चाहिने बेलामा पनि  सूचना सम्प्रेषण नहुने हो कि भन्ने पनि देखिन्छ। एकातिर सामाजिक सञ्जालबाट सूचना र कुसूचना दुवै प्रभाहित हुने, सामाजिक मनोदशालाई पनि दर्शाउने भएकोले नियन्त्रण गर्नुपर्छ  भन्ने एक पक्षको आवाज देखिन्छ भने अर्को पक्षको नियन्त्रण गर्न हुँदैन भन्ने देखिएको छ। यो बडो संवेदनशील विषय भएको छ। 

वर्तमान परिप्रेक्ष्यमा जुन प्रकारको बहस चलेको छ, यो सही बहस हो भन्ने मलाई लाग्दैन। सतही बहसमा छौं हामी। यसको दूरगामी असर के पर्छ भन्ने विषयमा त्यति गहिरिएर छलफल भएको छैन। सामाजिक सञ्जाल र मिडियालाई नियन्त्रण गर्ने जुन बहस भएको छ, त्यो दीर्घकालीन सामाधान होइन। हाम्रो सामाजिक बहस अहिले यति गरे पुगिहाल्छ नि भन्नेमा छ, यो सही होइन।

मलाई के लाग्छ भने मिडिया जसका लागि हो, त्यसले नियन्त्रण गर्न पाउनुपर्छ नकि उत्पादनकर्ताले। के पढ्ने, के नपढ्ने  भन्ने पाठकले रोज्ने हो, उत्पादनकर्ताले हैन। के सुन्ने, के नसुन्ने भन्ने कुरा व्यक्ति स्वयंमा नियन्त्रण हुन्छ। जतिसुकै नराम्रो विषयवस्तु पस्किए पनि मैले नहेर्दा हुन्छ, नपढिदिँदा हुन्छ।  

सञ्चार माध्यममा विषयवस्तुको उत्पादन र सम्प्रेषण गर्न आर्थिक पाटो जोडिएको हुन्छ। पाठक भएन भने चल्न सक्दैन। अहिलेको मिडिया बजार व्यवस्थामा आधारित छ। अर्थराजनीति  पनि हेर्नुपर्छ। यद्यपि हामीले पाठकलाई सर्वोपरि ठान्यौँ भने उनीहरुलाई के चाहिन्छ भन्ने कुरा निर्णय गर्न सक्षम छन् भन्ने कुरा बुझ्यौं भने नियन्त्रण र प्रतिनियन्त्रणका जुन कुरा छ, यसबाट बाटो निकाल्न सकिन्छ जस्तो लाग्छ। 

मिडिया खहरे खोला जस्ता भएका छन्, नसुकून्

अहिले देखिएको नैतिक द्विविधा हो। केही दिनअघि सामाजिक सञ्जालमा माओवादी द्वन्द्वमा मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको फोटो भाइरल भयो। जसले फोटो खिच्नुभएको हो, उहाँ अहिले पनि सार्वजनिक हुन चाहनुभएको छैन। जसले खिच्नुभयो उहाँलाई खिच्ने बेलामा पनि द्विविधा भयो होला। जसले हत्या गर्न लागेको हो, उसलाई पनि द्विविधा भयो होला। अहिले मिडियामा पनि द्विविधा देखिन्छ।

ठूलाठूला घटना मञ्चन हुँदा नैतिक द्विविधा देखिएको छ। कुनै पनि हत्या, हिंसा, बलात्कारको घटना हुँदा पीडितको फोटो छाप्ने/नछाप्ने द्विविधा देखिन्छ। खासै यो द्विविधाबारे छलफल त भएको छैन तर जुनसुकै क्षेत्र पनि नैतिक द्विविधामा परेको देखेको छु। मिडिया पनि नैतिक द्विविधाबाट गुज्रिरहेको छ। 

कस्तो किसमको नैतिक द्विविधा त?

जसले यो समाजमा द्वन्द्व निम्तयायो, मिडिया भीडमा लागेको छ भन्नेहरुको संगठन के हो? उनीहरुको नैतिक धरातल के हो? हामी खोज्दैनौँ। सजिलोका साथ पुरातनवादी दक्षिणपन्थी भनेर पन्छिने गर्छौं। कुनै व्यक्तिले भ्रष्टाचार गर्यो। कुनै फाइलमा हस्ताक्षर गरेको कारणले ऊ त्यतिबेला कस्तो प्रकारको नैतिक द्विविधाबाट गुज्रेको थियो? यतातर्फ ध्यान दिएको देखिँदैन। अब यस्ता विषय पनि आउन जरुरी छ।

समाज पनि खहरे खोला जस्तै भएको छ। मिडिया पनि खहरे खोला जस्तै भएका छन्। प्रश्न गर्न दौडेको दौड्यै छ, समाचार बाढीसरी आएको आयै छ। तर के उत्पादन भइरहेका छन्, कस्ता समाचार आइरहेका छन्, एकछिन अडिएर सोचौँ त। मिडिया खहरे खोला जस्तो भएका छन्, नसुकून् भन्ने मेरो चाहना हो। 

सञ्चारमाध्यमहरु साघुँरो घेरामा रहेका छन्। आफ्नै वरपरका लेखकहरु बनाउने, सबैलाई नसमेट्ने। लेखक, स्तम्भकार पनि सीमित भए। आफ्नो-आफ्नो सर्कलभित्र रमाइरहेका छौँ। एउटा वृत्तभित्रबाट अर्कोमा जान सक्ने अवस्थामा छैनौँ। 

अनलाइन मिडियाहरु बढेर गएको देखिन्छ। मिडियाले केही नयाँ लेखक पनि नजन्माएको होइन तर नयाँ मिडिया कतिन्जेल टिक्छन्? भन्नेमा शंका छ। कतिपय मिडिया त काम गर्न सजिलो हुन्छ, ठेक्का पट्टा गर्न सजिलो हुन्छ भनेर ‘साइड विजनेस’को रुपमा खोलेको पाइन्छ। त्यसकारण थेग्न सक्छन् कि सक्दैनन् भन्ने प्रमुख कुरा हो। 

समाचारमा स्वार्थ देखिन थाल्यो

अहिलेका मिडिया व्यावसायिक हुन्। व्यावसायिक भनेको प्रोफेसनल भन्न खोजेको होइन। व्यापारिक नियम-कानुनको प्रयोग भएका। रोजीरोटीका निम्ती खुलेको उद्योग-व्यवसाय जस्तो। मिडियाकर्मीको सेवा-सुविधा बढेकै हुन्छ यस्तो मिडियामा। लोकतन्त्रअघिका मिडिया लोकतन्त्र प्राप्तिका लागि हुन्थे। प्रकाशकहरुले काँधमा जिम्मेवारी बोकेर पत्रिका निकाल्थे। मिडियाकर्मी आफैंमा लोकतन्त्रका सिपाही हुन्। तर अहिले व्यवसायी बढी, जिम्मेवारी कम हो कि जस्तो लाग्न थालेको छ। 

कहीँकहीँ मिडिया म्यानेजिङ डाइरेक्टरले नियन्त्रण गर्छन् कि सम्पादकले भन्ने बहस पनि सुनेको छु। भारतकै कुरा गर्ने हो भने सम्पादकीय स्वतन्त्रताको लागि संघर्ष भएको देखिन्छ। लगानीकर्ताहरुले पनि सामाजिक हितको लागि हो भन्ने सोच्थे मिडियाको बारेमा। अहिले त भारतमा पनि गोदी मिडिया भनेर एक पक्षीय देखिएका छन्। 

मलाई के लाग्छ भने, मिडियामा सम्पादक होइन, सञ्चालक बलियो भएका छन्। सायद हाम्रोमा पनि सम्पादकीय स्वायत्तता कम भएको हो कि। सम्पादकीय नीति सम्पादकले नबनाएको हो कि। समाचारहरुमा व्यापारिक इन्ट्रेस्ट प्रष्टै देखिन्छ। समाचारमा पत्रकारको धारणा मिसिन थालेका छन्, यो राम्रो भएन।

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल भन्नुहुन्छ, फ्रन्ट पेज त आमनागरिक हो नि। यो पृष्ठमा मिडियाले आफ्नो प्रशंसा गाउने होइन। सम्पादकको धारणा राख्न त विचार पृष्ठ छँदै छ नि। पत्रिका पल्टाउने वित्तिक्कै आफ्नैबारे समाचार छापेका हुन्छन्। हामीले किन पढ्ने उनीहरुको महिमा गाएको? समाचारमा आफ्नो धारणा घुसाइदिएर स्वच्छता र विश्वसनीयता कम हुँदै गएको छ। 

समाचार पढ्ने हो, पक्षधरता होइन। लेख्नेले पक्षधरता दिएपछि समाचारको गम्भीरता  सिद्धिन्छ। 

लोकतन्त्रको सबैभन्दा ठूलो दुस्मन अपारदर्शीता हो। अनुमान, षडयन्त्र लोकतन्त्रको दुस्मन हो। मिडिया पारदर्शी छैनन्। छन् भने वर्षैपिच्छे अडिट गरेको हिसाब–किताब निकाल्न किन गाह्रो हुन्छ मिडियालाई? ठूला मिडिया समेत व्यापारिक स्वार्थमा लिप्त भएको प्रष्टै देखिन्छ। भारतीय पत्रिका इण्डियन एक्सप्रेस, म्यागेजिनले आफ्नो खर्च आम्दानी छाप्छन्। हाम्रा मिडिया यदि नागरिकका लागि हुन् भने खर्च-आम्दानी छाप्नुपर्छ।

सामाजिक सञ्जालमा हुँइया चलाउने हैन मिडियाले 

मिडियाको उदय नै लोकतन्त्रसँग गाँसिएको हो। मिडियाले यथार्थ पस्कन सक्नुपर्छ। केही समययता सामाजिक सञ्जालहरुमा एक प्रकारको हुँइया चलाउने गरेको देखिएको छ। जसले धेरै हुँइया चलायो उसैको बोलवाला देखिने। समाचारमा पनि केही फरक भएको देखेको छु। सामाजिक सञ्जालमा ट्रेन्डलाई फलो गरेर पुनर्उत्पादन गर्ने। यसो गर्दा समाचार नै हुन लायक थियो कि थिएन भन्नेतर्फ पनि विचार गरिनुपर्छ। 

यद्यपि, साधन-स्रोत सीमित भए पनि हाम्रो मिडियाले लोकतन्त्र रक्षाको लागि निरन्तर पैरवी गरेका छन् भने पारदर्शीतामा चुकेका छन्। मिडिया आफैं पारदर्शी हुनु अहिलेको आवश्यकता हो। यसो भयो भने कुन मिडिया कुन प्रयोजनको लागि हो भन्ने थाहा हुन्छ। नागरिकलाई गुमराहमा राख्न मिल्दैन मिडियाले। 

चौथो अंगका पुराना श्रृंखला

(राजनीतिक विश्लेषक हरि शर्मासँग प्रजु पन्तले उकेराको चौथो अंग कोलमका लागि गरेको कुराकानीमा आधारित।) 

भदौ १५, २०७८ मंगलबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।