दुखी मुखियाको दुःख : हात्तीले आशु दियो, नेताले आश्वासन

दुखी मुखियाको दुःख : हात्तीले आशु दियो, नेताले आश्वासन

कोसीमा माछा मारेर फर्कँदै थिए अनमोल मुखिया। मेला लागेजस्तै भिड थियो। टप्पु क्षेत्र आसपास हात्तीको आवत जावत भइरहन्छ। त्यस दिन पनि मकुना हात्ती कोसी किनारमा देखापर्यो। हात्तीको जम्काभेटमा परे अनमोल। कोसी टप्पुमा विध्वंस मच्चाउँदै आएको मकुनाले त्यो भिडबाट अनमोललाई नै छान्यो। 

छोराको बाटो हेरि रहेका थिए दुखी मुखिया। गाउँमा हात्तीले मान्छे मारेको हल्ला सुरु भयो। सोधिखोजी गर्दा अनमोल हो भन्ने खबर सुने। तर, उनले पत्याएनन्। माछा लिन गएको छोरो आउने विश्वासमा थिए उनी। माछा भन्दा अगाडी छोराको शव आउला भन्ने सपनामा पनि सोचेका थिएनन्। जे नसोचेको त्यो भइदियो। 

अनमोलले जीवनको मोल गुमाएकै दिनबाट दुखी मुखियाको दुःख सुरु भयो। ७० वर्षीया दुखीको जीवन नाम जस्तै दुःखद छ। छोरो गुमाएको पिडा सँगै उनी राहतको पर्खाइमा भौँतारिरहेका छन्। २ वर्षमा पनि सरकारले राहत नदिएको गुनासो गर्छन् उनी। 

भदौ ८ गते मङ्गलवार कोसी टप्पु आरक्ष कार्यालयमै भेटिए मुखिया। ‘मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम चलिरहेको थियो। प्रमुख अतिथि थिए सोही क्षेत्रबाट निर्वाचित सांसद तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की। कार्कीले भाषण सुरु गर्ने बित्तिकै बसेको ठाउँबाट उठे मुखिया। रुखमा अडेस लागेर निक्कै चाख मानेर सुन्दै थिए।

आफू अर्थमन्त्री भएपछि वन्यजन्तुबाट मृतक परिवारलाई ५ लाख बाट १० लाख क्षतिपूर्ति दिन सुरु गरेको दाबी गरे। उनको कुराको स्वागतमा तालीको फोहोरा छुट्यो। तर मुखियाको आँखा रसायो ।थचक्क भुँइमा बसे उनी। दुई वर्ष सम्म राहत नपाएर आजित भएका उनलाई मन्त्रीको कुराले आशा भन्दा आक्रोश बढायो।

कोसी गाउँपालिका अध्यक्षले १० लाखबाट बढाएर २५ लाख पुर्याउन माग राखे। मन्त्री कार्कीले त्यसमा पनि आश्वासन दिए । तर राहतकै खोजीमा भौतारीएका मुखियाको घाउ झनै बल्झियो। 

दुर्घटना लगत्तै किरिया खर्च बापत गाउँपालिकाले २५ हजार उपलब्ध गराएको उनले सुनाए। कमाउने छोरो गुमाएपछि बुढेसकालमा आफै मजदुर भएका छन् उनी। ४ जना नाति नातिनासहित ८ जनाको परिवार आफैले धान्नु परेको दुखेसो गर्छन् मुखिया। काम नपाउँदा भोक सहने बानी परेको उनको तितो अनुभव छ। मुखियाको लागी राहत भनेको क्षतिपूर्ति भन्दा पनि भोक मेट्ने ओखती हो।

‘आर्जन केही पनि छैन। छिमेकीले टप्पु कार्यालयमा गएर माग्नु भन्छन्। कति दिन आउनु हजुर! काम गरी खानुपर्यो। बुढो ज्यानले हिँड्न पनि गाह्रो हुन्छ हजुर! सबैले ठगिरहेका छन्। मेरो कोही पनि छैन हजुर !,’ रसाएको आँखा पुछ्दै उनले भने। 

हात्तीको दुःख मुखियालाई मात्र हैन। गत साउन २८ गते बिहान ैदेखी सिमसिम पानी  परिहेको थियो। पर्वलको खेती रेखदेख गर्न छाता ओढेर बारीमा पुगे रामे खङ्ग। ५८ वर्षीय रामेले हात्तीको चाल पाएनन्। छेवैमा मकुना हात्ती देखेपछि भाग्न खोजे। लामो समय भाग्न सकेनन्। केही मिनेटमै हात्तीको कब्जामा परे उनी।

चिया बनाउन लगाएर हिँडेका कुमारीदेवी खङ्गका श्रीमान् कहिल्यै नफर्किने गरी बिदा भए। अझै पनि राम्ररी बोल्न सक्ने भएकी छैनन् कुमारीदेवी। छोराहरू बुबाको किरियामै छन्। आरक्ष कार्यालयले किरिया खर्चबापत ५० हजार दिए पनि बाँकी राहतको पर्खाइमा छ खङ्ग परिवार। 

राहतकै लागी आरक्ष कार्यालय पुगेकी छिन् सुनितादेवी यादव। वराहक्षेत्र ९ मा बस्दै आएकी उनी भारतीय नागरिक हुन्। दुई महिना अघि घरैमा सुतेको अवस्थामा उनका श्रीमानलाई हात्तीले आक्रमण गर्यो। दुई श्रीमतीसहित ६ छोराछोरीका बाउको मृत्युले परिवारमा ठुलो अभाव सृजना भयो। भएको भैँसी बेचेर किरिया गरेको बताउने सुनिता राहत नपाइएको गुनासो गर्छिन्। 

मन्त्री कार्कीले मानव जीवनलाई मूल्यमा तुलना गर्न नमिल्ने बताए। तर त्यही मूल्य नपाएर छटपटीमा छ पीडित परिवार। 

कोसी गाउँपालिकाकी उपमेयर अनितादेवी यादवले जनताको जीवनमा खेलबाड नगर्न सार्वजनिक चेतावनी दिएकी छिन्। ‘बालबच्चाको जीवन त अस्तव्यस्त नै भएको छ नि! मानिसको जीवन दुई चार लाखमा आउने हो भने भन्नुपर्यो। हैन भने जनता मर्दा सरकार के हेरेर बसेको छ? गरिबको चाहिँ जीवन हैन? मजदुरको ज्यान हैन?’, आक्रोशित हुँदै उनले भनिन्।

विगत ७ वर्षमा कोसी टप्पु क्षेत्रमा अर्ना र हात्तीको आक्रमणबाट  १८ जनाको ज्यान गएको छ। हात्तीबाट मात्र १५ जना स्थानीयको मृत्यु भएको आरक्ष कार्यालयले जनाएको छ। त्यसभन्दा बढी घाइते भएका छन्। हात्तीको आक्रमणबाट ७ वर्षभित्र ३३ र अर्नाबाट ४७ जना स्थानीय घाइते भएको कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

वन्यजन्तुको असर कम गर्न सामान्य तार बार गरिएको छ। आरक्ष कार्यालयले ठोस व्यवस्थापन गर्न नसक्दा टुहुरा बाल बच्चा र विधवाहरू बढिरहेका छन्। उता आरक्ष कार्यालयका वार्डेन अशोक राम जनशक्ति र बजेट अभावले समस्या बढेको बताउँछन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक दिपक खराल मानवले प्रकृति माथि दोहन गरेको बताउँछन्। मानव बस्ती जङ्गलसम्म पुगेपछि दुर्घटना बढ्ने गरेको उनले बताए। अब मानव जातीले पनि प्रकृतिलाई केही दिनुपर्छ भन्ने बुझाई सुरु भएको उनले सुनाए। 

कोसी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउने विषयमा कुनै पनि तयारी नरहेको उनले प्रस्ट पारे। तर मन्त्री कार्कीले भने कानुनी रूपमा आफूहरू अगाडी बढिसकेको आश्वासन दिएका छन्। तर, दुखीको आँसु पुछ्ने कामको थालनी अझै सुरु भएको छैन।

 

भदौ १५, २०७८ मंगलबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।