अभावसँग जुध्दै कोभिड उपचारमा खटिएका फ्रन्टलाइनर

अभावसँग जुध्दै कोभिड उपचारमा खटिएका फ्रन्टलाइनर

त्यो बेला अक्सिजनको हाहाकार थियो। बिरामीका आफन्त अक्सिजनको खोजी गर्दै उद्योगसम्म धाए। अक्सिजनको माग अनुसार पूर्ति भएन।

अक्सिजनको जोहोमा बिरामीका आफन्त दौडिरहँदा कोभिड अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. नन्दु पाठक अक्सिजन व्यवस्थापनका लागि दौडधुप गरिरहेका थिए।

यो सम्वाददाता समय मागेर ६ जेठमा भेट्न पुग्दा टुसुक्क बसेर बोल्ने फुर्सद समेत थिएन डा. पाठकलाई। ‘हेलो सर, बेड खाली छ?’ भन्दै तारनतार फोन आइरहेका थिए। 

प्रश्न सकिन नपाउँदै डा. पाठक प्रतिप्रश्न गर्थे, ‘एचडियु, आइसियु कि भेन्टिलेटर?’ तर उताबाट जवाफ आउँथ्यो, ‘आइसियु।’

‘भर्खरका लागि भए कतै छैन। भीम अस्पताल वा युसिएमएसमा कतै छ कि बुझ्नूस न है,’ डा. पाठक कुरा सकिनासाथ फोन राख्थे।

००० 

बेड भरिभराउ। दैनिक मृत्यु ५÷७ जना। भुईँमै बिरामीको उपचार भइरहँदा एकाएक अक्सिजन अभाव भयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल र कोभिड फोकल पर्सन डा. पाठकलाई चैन थिएन। रातभर अक्सिजन उद्योगमा फोन र अस्पतालको व्यवस्थापनमा दौड गरिरहन्थे।

तर, अहिले अवस्था केही सहज भएको छ। डा. पाठक नेतृत्वको टिमले बुटवलमा कोभिडका बिरामीलाई उपचारबाट वञ्चित हुन केही हदसम्म रोक्यो। फ्रन्टलाइनर बनेर बिरामीको सेवामा खटियो।

‘बेडबारे जानकारी लिन दैनिक ४० कलभन्दा बढी आउँथे। बिहानदेखि रातिसम्म आउने फोन बिरामीका हुन्थे,’ ती दिन सम्झँदै डा. पाठक भन्छन्, ‘भ्याएसम्म आफूले बेड मिलाउने प्रयास गर्थेँ। हुँदै नभएपछि दुःखका साथ छैन भन्नुको विकल्प थिएन।’

डा. नन्दु पाठक वरिष्ठ फिजिसिएन हुन्। उनी हाल बुटवलको कोभिड विशेष अस्पतालको फोकल पर्सनको जिम्मेवारीमा छन्। कोरोनाको पहिलो लहरमा राउन्डमा कोभिडका बिरामीको उपचार गरेका डा. पाठक कोभिडको दोस्रो लहरमा भने बिरामीको उपचार मात्र हैन, अस्पतालको सबै व्यवस्थापनको जिम्मेवारीमा छन्। स्वास्थ्यकर्मी, चिकित्सक परिचालनदेखि अस्पतालमा आवश्यक औषधि र स्वास्थ्य सामग्रीको जोहो उनकै काँधमा अहिले पनि छ।

१२ वैशाखमा कोरोना फोकल पर्सनको जिम्मेवारी पाएका पाठक करिब २ महिना दोस्रो महामारीको नियन्त्रण र उपचारमा खटिए। अक्सिजन अभाव भए पनि सहज व्यवस्थापनमा लागिरहे। केही हदसम्म सफल पनि भए।

अक्सिजनको व्यवस्थापनमा सम्बन्धित निकायले गम्भीर पहलकदमी नगर्दा त्यो बेला अभाव अझ बढी भएको उनी बताउँछन्। १ महिनाअघिदेखि नै अक्सिजनको व्यवस्थापन गर्न सरकारी पक्षलाई जानकारी गराए पनि त्यो पहल नहुँदा अहिले अक्सिजनको समस्या झन् जटिल बन्दै गएको पाठकको भनाइ छ।

दोस्रो लहरको कोभिड कालमा लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड आकस्मिक कक्ष र बुटवलको रामनगरस्थित धागो कारखानामा बिरामीको उपचार र व्यवस्थापन मात्र हैन उनले त्यो बेला नन कोभिड बिरामीको उपचार गरिरहेका थिए। ‘अरू बिरामी कम भएका कारण ननकोभिडलाई पनि हेर्नुपर्ने अवस्था थियो। सबैतिर समय व्यवस्थापन गरेर सेवा गरें,’ विगत सम्झँदै उनले भने।

डेढ वर्षदेखि छोराछोरीसँग अलग

कोरोनाको पहिलो लहर सुरु हुनसाथ बुटवलमा पनि सङ्क्रमित फेला परे। प्रादेशिक अस्पताल, प्रदेश सरकार र सङ्घसंस्थाको पहलमा बुटवलको धागो कारखानामा कोरोना विशेष अस्पताल निर्माण भयो। प्रादेशिक अस्पतालकै चिकित्सकहरूलाई व्यवस्थापन गरेर कोभिडका बिरामी हेर्ने गरी अस्पताल विकास समितिले निर्णय ग¥यो।

त्यसपछि अस्पतालका सबै चिकित्सक र नर्सलाई राउन्ड अनुसार कोभिडका बिरामी हेर्न लगाइयो। त्यही बीचमा डा. पाठकले पनि कोभिडका बिरामीको उपचार सुरु गरे। घरमा बुबा–आमा, श्रीमती र छोराछोरीसँगै भएकाले त्यसपछि उनी परिवारसँग घरमा बसेनन्। छोराछोरीलाई डेढ वर्षदेखि राम्रोसँग सुमसुम्याउन समेत उनले पाएनन्।

डा. पाठकका ९ वर्षका छोरा सन्दर्भ र ४ वर्षकी छोरी सन्सीता छन्। 

‘बुबा बढी डराउनुभयो। आफूले पनि यसमा हेलचेक्र्याइँ गर्नु हुँदैन भनेर म छुट्टै बसें। बच्चा बच्चीबाट टाढा भएँ। टाढैबाट हेराहेर मात्र भयो,’ उनले भने। 

आइसियु व्यवस्थापन नगर्दा दुःखी भएँ

११ वर्षे जागिर अवधिमा धेरैको ज्यान बचाएका डा. पाठकले वैशाख १५ देखि जेठ अन्तिम सातासम्म कतिपय बिरामीको अक्सिजन अभावमा मृत्यु भएको नजिकबाट देखे। समयमै आइसियुमा लैजान नसक्दा मृत्यु भएका दृश्य अहिले पनि पाठक सामु झलझली आउँछन्।

‘बिरामी होम आइसोलेसनबाट आत्तिँदै अस्पतालमा आउनुहुन्थ्यो। त्यहाँ आउँदा अवस्था जटिल बन्थ्यो। आइसियुमा राख्नुपर्ने अवस्था भइसकेको हुन्थ्यो। तर आइसियूमा बेड नहुने। अन्यत्र लैजाँदै गर्दा कतिको मृत्यु भयो, कतिपयले लैजाने तयारी गर्दागर्दै ज्यान गयो। आइसियुमा पर्याप्त बेड नहुँदा बिरामीको व्यवस्थापन गर्न सकिएन। मलाई अहिले पनि दुःख लाग्छ’ डा. पाठकले भने।

डा. पाठक फोकल पर्सनको जिम्मेवारीमा आएपछि धागो कारखानाको आइसोलेसनलाई ३६ बेडको एचडियु गरेका थिए। प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई कोभिड आकस्मिक कक्ष बनाएर त्यहाँ पनि बिरामीको उपचार गर्ने व्यवस्था उनैले मिलाएका थिए। अहिले धागो कारखानामा रहेको कोभिड अस्पताल प्रादेशिक अस्पतालको परिसरमै लगिएको छ।

जोखिम भत्ता र तलब समयमा नपाउँदा पनि सेवामा खटियौँ

विष्णु घर्ती क्षेत्री

गुल्मी, धुर्कोट गाउँपालिका हाडहाडे घर भई बुटवल देविनगरमा बस्दै आएकी २२ वर्षीया विष्णु घर्ती क्षेत्रीले बुटवलको कोरोना विशेष अस्पतालको आइसियुमा काम गरेको एक वर्षभन्दा बढी भयो। मेडिटेक कलेजबाट अध्ययन गरेकी विष्णुलाई सुरुवाती समयमा कोभिड बिरामीको उपचार कसरी गर्ने भन्ने चिन्ता थियो। घरपरिवारमा त्रास र डर पनि।

पिपिई लगाएर काम गर्नुपर्ने भएकाले विष्णुलाई सकिँदैन कि भन्ने डर मनमा थियो। तर हिम्मत हारिनन्। जे गर्छु भनेर पढेकी थिइन्, त्यही उद्देश्य अनुसार काम गर्ने अठोट लिइन्। 

त्यसपछि उनले दैनिक ६ घण्टासम्म पिपिई लगाएर काम गरिन्। दोस्रो लहरले बढी सङ्क्रमण र मृत्यु बढाएको भए पनि विष्णुमा अहिले भने डर छैन। हिम्मत अझै बढेको छ। जनताको ज्यान बचाउन केही योगदान हुनुपर्छ भन्ने लागेकै कारण विष्णु अहिले निरन्तर बिरामीको सेवामा लागिरहेकी छिन्।

कोरोनाको पहिलो चरणमा अस्पतालले कोभिड उपचारमा खटिने नर्स तथा चिकित्सकलाई होटलमै राखेर अस्पतालमा उपचार गर्ने प्रबन्ध गरेको थियो। स्वास्थ्यकर्मीले सुरुसुरुमा त जोखिम भत्ता पाएका थिए। तर त्यो समयमा केही पाएनन्। सबैले बस्ने–खाने व्यवस्था आफैँ गरे।

‘दोस्रो भेरियन्टले सङ्क्रमण र मृत्युदर बढेको थियो। परिवारसँग बस्ने अवस्था थिएन। तर यो बेलामा हामीलाई छुट्टै बस्ने व्यवस्था अस्पतालले गरेन। तर पनि हामीले स्वार्थभन्दा माथि उठेर काम गर्यौं,’ विष्णुले भनिन्।

जोखिम बढ्दै जाँदा सेवा–सुविधा कटौती हुनुका साथै नियमित तलब समेत समयमा नआउँदा खर्च व्यवस्थापन गर्न अप्ठ्यारो भए पनि काम भने निरन्तर गरेको विष्णुको भनाइ छ।

‘पहिले जोखिम भत्ता थियो। दोस्रो लहरको समयमा भएन। नियमित आउने तलब पनि २÷३ महिनामा आयो। हामी भाडामा बस्नेलाई खर्च व्यवस्थापनमा झन् समस्या भए पनि सेवामा लाग्यौं,’ उनले भनिन्।

रिविना जोशी श्रेष्ठ

बुटवल, देविनगर बस्दै आएकी रिविना जोशी श्रेष्ठले पनि कोभिड अस्पतालमा काम गर्न थालेको एक वर्ष हुन लाग्यो। उनी प्रादेशिक अस्पतालको कोभिड आइसियुमा कार्यरत छिन्। 

कोरोनाको पहिलो लहरमा सङ्क्रमितको उपचार गर्दागर्दै कोभिड सङ्क्रमित भएकी रिविनामा अहिले डर कम हिम्मत बढी छ। दोस्रो लहरको समयमा कोरोनाको सङ्क्रमण दर र मृत्युदर बढ्दै जाँदा घर–परिवारले उनलाई अस्पताल नजान सुझाए। तर पेसा नै सेवामुखी रोजेपछि रिविना परिवारलाई सम्झाउँदै सेवामा समर्पित भइन्। अहिले पनि उनी दैनिक ६ घण्टा काममा खटिइरहेकी छिन्।

निरन्तर ६ घण्टा पिपिई लगाएर काममा खटिएकी रिविना पहिलो कोरोनाको लहरको तुलनामा दोस्रो लहरमा धेरै सङ्क्रमितको मृत्यु भएको देख्दा दुःखी छिन्। ‘ज्वरोले थलिएपछि बिरामी घरमै बस्नुहुन्थ्यो। अप्ठ्यारो परेपछि पिसिआर गर्ने अनि भाइरसले गाल्दै लगेपछि आइसियुमा राख्दा बिरामीको ज्यान बच्ने थिएन। सङ्क्रमित स्वयंकै लापरबाहीकै कारण दोस्रो लहरमा धेरैले ज्यान गुमाएका थिए,’ त्यी दिन सम्झँदै उनले भनिन्।

रिविनाको गुनासो भने अस्पताल विकास समितिसँग छ। जोखिम भत्ता सुरुको केही समय पाए पनि त्यो समयमा नपाएको उनले बताइन्। सुरुमा होटलमा बस्ने व्यवस्था अस्पताल विकास समितिले गरेको थियो। तर दोस्रो लहरको जोखिममा घरबाटै आउने–जाने गर्नुपर्यो,’ उनले भनिन्, ‘कोठामा आइसोलेटेट भएर बस्न सकिएन। घर–परिवारलाई जोखिममा राखेर सेवा गरियो।’

मेगा क्षेत्री 

बुटवल लक्ष्मीनगरकी मेगा क्षेत्रीले वैशाख अन्तिम सातातिर परिवारबाट बारम्बार एउटै दबाब सामना गरिन्, ‘जोखिम बढी छ। यो बेला ज्यान अनि मात्र जागिर।’

त्यो बेला बुटवलको धागो कारखानाको कोभिड विशेष अस्पतालको आइसियुमा कार्यरत थिइन उनी। परिवारको त्यो दबाब मान्ने अवस्था थिएन । परिवारको सपोर्ट नहुँदानहुँदै पनि मेगा दैनिक नियमित अस्पतालमा खटिइरहेकी थिइन्।

एक वर्षअघिदेखि कोभिड अस्पतालमा कार्यरत मेगालाई सुरुको समयमा परिवारबाट सहयोग र सपोर्ट थियो। सुरुसुरुमा होटलमा बसेर अस्पताल आउने–जाने गरेकोमा दोस्रो लहरको समयमा घरबाटै आउजाउ गर्न थालेपछि परिवारले जोखिम नमोल्न बारम्बार आग्रह गरेको उनी बताउँछिन्।

‘परिवारलाई जोखिम हुन्छ भनेरै घरबाट मलाई सपोर्ट थिएन। तर मैले यही पेसा रोजें। यसैमा खुसी देखें। त्यस कारण परिवारको दबाब मान्ने अवस्था थिएन,’ उनले भनिन्।

दैनिक ६ घण्टा पिपिई र मास्क लगाएर सङ्क्रमितको उपचारमा खटिने मेगालाई आफ्नो सेवाप्रति त्यति धेरै सन्तुष्टि भने छैन। ‘हामी ६ घण्टासम्म लगातार पिपिई लगाएर काम गरिरहन्छौंं। यति गर्दा पनि बिरामीलाई बचाउन सक्दैनौं। दुःख लाग्छ,’ उनले भनिन्।

दोस्रो लहरमा सङ्क्रमितको मृत्यु हुँदा बाहिरबाट आउने हल्लाले पनि मेगा दुःखी बनिन्। परिवार र आफू स्वयं जोखिम मोलेर काम गर्दा समेत अस्पतालमा उपचार नै हुँदैन भन्ने हल्ला सुन्दा दुःख लाग्ने मेगाले बताइन्।

पिपिई र मास्क लगाएर नियमित काम गर्दा छाती फुले जस्तो हुने र श्वासप्रश्वासमा समस्या भए जस्तो अनुभव आफूलाई हुँदै आएको उनी बताउँछिन्।

भदौ १५, २०७८ मंगलबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।