जहाँतहीँ बेहाल ! यस्तै छ बुटवलको हाल
समयमा निर्माण सम्पन्न नहुँदा बुटवल नगरभित्रका मुख्य राजमार्ग मात्र होइन, भित्री सडक समेत अस्तव्यस्त बनेका छन्। वर्षायाममा हिलो र हिउँदमा धुलोले सास्ती व्यहोर्न बाध्य छन् सर्वसाधारण।
सडकमा खाल्डैखाल्डा
बुटवलको मिलन चोक, अस्पताल लाइन, ट्राफिक चोक, गोलपार्कका सडकमा ठूला खाल्डा परेका छन्। बुटवल उपमहानगरपालिकाले मुख्य राजमार्ग आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै सामान्य मर्मतको काम समेत गरेको छैन।
डिभिजन सडक कार्यालयले ठेकेदारले सडक हस्तान्तरण नगरेको भन्दै मर्मतमा चासो दिएको छैन। कुनै निकाय पनि जिम्मेवार नहुँदा सवारी चालक र पैदल यात्री मारमा परेका छन्।
पार्किङ व्यवस्थापनमा चुनौती
बुटवलका मुख्य बजार क्षेत्रमा पार्किङ अस्तव्यस्त हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको व्यवसायीको गुनासो छ।
साँघुरा सडकमा चुनढुङ्गा खानीबाट चल्ने टिप्पर, सडक बाइपास नहुनु, भिआइपीहरुको आवागमन, अस्तव्यस्त रुपमा गरिने पार्किङ, जथाभावी रुपमा चल्ने ई-रिक्साका कारण बुटवलको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
ट्राफिक व्यवस्थापन सहज बनाउन मुख्य बजार क्षेत्रमा वान साइड पार्किङ व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।
टोल विकास संस्था र केही व्यापारिक प्रतिष्ठानले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रयास गरे पनि सार्थकता पाएको छैन। अमर ज्योति टोल विकास संस्थाका अध्यक्ष दीपक अधिकारीले मुख्य बजार क्षेत्रमा पार्किङ क्षेत्र नहुँदा यात्रुलाई असहज भएको बताए।
घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलाम्मे हुने सडकका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ। छाडा चौपाया व्यवस्थापनमा स्थानीय तहले ध्यान नदिँदा पनि दुर्घटनाको जोखिम बढेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
ट्राफिक प्रहरीले चेन लक, स्पिड ब्रेकर, हर्न निषेधित क्षेत्र निर्धारण, सवारी टाइम कार्ड लागू गरे पनि कार्यान्वयन हुन सकेको छैन। सडक व्यवस्थापनका लागि स्थानीय तहलाई अनुरोध गरे पनि चासो नदिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली पाण्डेले बताए।
ट्राफिक जाम व्यवस्थापन गर्न वैकल्पिक सडक
मुख्य सडकमा यातायातका साधनको चाप घटाउन आन्तरिक बाइपास सडक निर्माण थालिएको छ। जोगिकुटीदेखि ट्राफिक चोकसम्मको सडकमा यातायातको चाप व्यवस्थापन गर्ने योजना सहित दुई बाइपास सडक निर्माण भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
जोगिकुटीदेखि नेपालगन्ज रोडसम्मको कालिका पथलाई ८२ फुटमा विस्तार गर्ने काम भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
त्यस्तै उपमहानगरले ट्रक पार्किङको समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा पार्किङस्थल तयार गरिरहेको छ। नगर प्रमुख सुवेदीले बुटवलभित्र पार्किङका लागि स्थान खोज्ने काम भइरहेको बताए।
हाल बुटवलको अस्पताल लाइनमा लुम्बिनी प्रादेशिक अस्पतालको जग्गामा पार्किङस्थल तयार भइरहेको छ। त्यसबाहेक बाल मन्दिर परिसर र हाट बजारलाई वैकल्पिक पार्किङस्थलका रूपमा प्रयोग गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए।
१ हजार ५ वटा मात्र ई-रिक्सा सञ्चालन गर्ने गरी व्यवस्थापनको काम भइरहेको नगर प्रमुख सुवेदीको भनाइ छ।
सिसिटिभीले गर्दैन काम
सुरक्षा संवेदनशीलताका कारण बुटवलका विभिन्न स्थानमा २ वर्ष अगाडि १२ वटा अत्याधुनिक र क्षमतावान सिसिटिभी क्यामेरा जडान भए। जडान भएपछि मुस्किलले १ वर्ष मात्र सिसिटिभी क्यामरा चले। आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता दामोदर भण्डारीले सिसिटिभीले काम गर्न छाडेको सूचना आएकाले प्रदेश सरकारले मर्मतका लागि पहल सुरु गरेको बताए।
बुटवलको गोलपार्क, विद्युत चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुलपारिसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको कन्ट्रोल रुपमा कैद हुने गरी जडान गरिएका सिसिटिभीले काम गरेका छैनन्।
क्यामेराले काम गर्न छाडेपछि ट्राफिक व्यवस्थापनमा पनि कमी आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।
प्रदेश सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ वटा सिसिटीभी क्यामेरा जडान गरेको थियो। २ करोड ५९ लाख ९३ हजार लागतमा ११ जिल्लाका विभिन्न सहरमा सिसिटिभी क्यामेरा जोडिएका छन्।
भदौ १४, २०७८ सोमबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।