सुदूरपश्चिममा गौरा पर्व मनाइँदै,कोरोना त्रासले छैन उल्लास !

सुदूरपश्चिममा गौरा पर्व मनाइँदै,कोरोना त्रासले छैन उल्लास !

धनगढी : ‘यो मेरो वालो लिसिन लोट्या,ज्यू हो लिसिन लोट्या। सासू बरालीले हेरी दिथ्योबाला हेरी दिथ्यो। हल्लोरी वाला कल्लोरी।’ यो गौरा भित्राइ सकेपछि गाइने फाग हो।

आज गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान् पर्व गौरा पर्वको पहिलो दिन महिलाहरूले घर घरमा तामाको भाँडामा बिरुँडा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वको विधिवत् रूपमा सुरुवात गर्दछन्।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरूले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरुँडा भिजाउने चलन रही आएको पण्डित शङ्कर सञ्जालले बताए। ‘पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास छ, उनले भने, ‘त्यति बेला देखि गौरा र महेश्वरको विवाहको सम्झनाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको हो।’

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुँडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ मन्दिरमा भित्राएर पूजा अर्चना गरी विवाहित महिलाहरूले दुबधागो चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।

गौरा पर्वको मुख्य आकर्षणको रूपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यंग्य पनि गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ। गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भए पनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ।

देखिएन छैन रौनक

तागाधारी पुरुषहरूले जनै धारण गरे जस्तै सुदूर पश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन्। शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रहेको छ।

तर, यो वर्ष कोरोना कारण गाउँ, घर,सहर बजारमा  गौराको रौनक छैन।

‘कोरोनाका कारण सामूहिक रूपमा जमघट हुन पनि डर लागिरहेको छ’, कैलाली घोडाघोडीका पदम कुँवरले भने, ‘गौराको समयमा सामूहिक रूपमा ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरू खेल्थ्यौँ तर  स्थानीय प्रशासनले भिडभाड नगर्न पनि भनेको छ यसपालि गौरा खल्लो होला जस्तो छ।’

गौराको समयमा अन्य वर्षको तुलनामा बजारहरूमा समेत चहलपहल कम भएको व्यापारीले बताएका छन् । ‘गौराको समयमा बजार चहलपहल कम छ’, सुखडका व्यापारी सिता जोशीले भनिन्, ‘यस वर्ष गौराका लागी आवश्यक सामाग्रीहरू पनि धेरै गएका छैनन्।’

 

भदौ १४, २०७८ सोमबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।