बलात्कार आरोप लागेका मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
सुर्खेत : बलात्कारको आरोप लागेका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बर्खास्तको माग गर्दै नेकपा एमाले निकट युवा–विद्यार्थीले बजारमा प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन्।
एमाले समर्थित युवा विद्यार्थीले मन्त्री शाहीको बर्खास्तको माग गर्दै आइतबार प्रदर्शन तथा घेराउ गरेका हुन्। ‘यति हुँदा पनि मन्त्रीलाई बर्खास्त गरेर छानबिन सुरु नगरिएपछि यो पहिलो चरणमा प्रदर्शन गरेका हौं, अझै पनि सरकारले नसुने चरणबद्ध सडक आन्दोलनको घोषणा गर्छौं,’ अनेरास्ववियूका अध्यक्ष धुपेन्द्रबहादुर शाहीले भने, ‘बलात्कार गर्ने मन्त्री र संरक्षण गर्ने सरकारविरुद्धको आन्दोलनमा सबैको साथ सहयोग रहेको छ।’
मन्त्री शाहीलाई सांसद हुँदा आफ्नै स्वकीय सचिवकी श्रीमती बलात्कार गरेको आरोप लागेको छ। पीडित पक्षले भने अहिले त्यो घटनाका विषयमा केही बोलेको छैन। केही दिन अगाडी पीडित भनिएकी ती महिलाले फेसबुकमा एउटा स्टाटस लेख्दै भनेकी थिइन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ। यो सरासरी गलत हो। मेरो व्यक्तिगत जीवनमा कसैले चरित्र हत्या गर्छ भने म उसैको नामबाट चिठी लेखेर मर्छु, सोही व्यक्ति नै जबाफदेही हुनुपर्छ।’
यता कृषि मन्त्री शाहीले पछिल्लो राजनीतिक घटनाक्रम अनुसार आफूलाई झुटो आरोप लगाएर बदनाम बनाउने कार्यमा केही गिरोह लागि परेको बताए।
‘मिडिया र सामाजिक सञ्जालमा जुन खालको मेरो चरित्र हत्या गरिएको छ, यो सरासर गलत हो, राजनीतिक इस्युका कारण मलाई फसाउन खोजिएको हो’, मन्त्री शाहीले भने, ‘यस्ता भ्रामक कु प्रचार बन्द गर्न सम्पूर्ण मिडिया, नागरिक समाजलाई अनुरोध गर्दछु।’
यस्तै कर्णालीमा कार्यरत विभिन्न नागरिक सङ्घ–संस्थाहरूले पनि शाहीले महिलामाथि गरेको बलात्कार घटनाका विषयमा प्रदेश सरकार र यहाँका राजनीतिक दलहरूको धारणा सार्वजनिक गर्न माग गरेका छन्।
विभिन्न नौ वटा नागरिक सङ्घ–संस्थाहरूले बलात्कार आरोपको समाचार बाहिर आउँदा पनि हालसम्म प्रदेश सरकार र राजनीतिक दलहरूले घटनाका बारेमा धारणा सार्वजनिक नगरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
नागरिक सङ्घ–संस्थाहरूले संयुक्त विज्ञप्ति मार्फत सरकार र समाजको नेतृत्व गर्ने राजनीतिक दलहरू र सरकारले दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाएका छन्।
‘कर्णाली प्रदेश सरकारका कृषि मन्त्री शाहीलाई एक महिला लाई बलात्कार गरेको आरोप लागेको समाचार आइरहेका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा प्रदेश सरकार र यहाँका दलहरू गम्भीर नभएको पाइयो।’
हिंसा निगरानी समूह, महिला मानव अधिकार रक्षक सञ्जाल, गैसस महासंघ, महिला अधिकार एलायन्स तथा सामाजिक न्याय मञ्च, नेपाल पत्रकार महासंघ, मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश, मेची–महाकाली संयुक्त बुहारी आवाज, मानव अधिकार समूह सुर्खेत र क्रियाशील पत्रकार महिला समूहले सार्वभौम सत्ता सम्पन्न जनताबाट बनेको सरकारको सार्वजनिक पद धारण गरी शक्ति र सत्ताको दुरुपयोग गर्ने मन्त्री शाहीमाथि सो पदमा बस्ने नैतिक जिम्मेवारी माथि प्रश्न उठिरहँदा पनि प्रदेश सरकार जबाफदेही नभएको उल्लेख छ।
‘आरोपित मन्त्रीमाथि न कुनै छानबिन छ न कानुनी अनुसन्धान प्रक्रियाको थालनी भएको छ, उल्टै सत्तामा बसेका जिम्मेवार व्यक्तिद्वारा महिला अस्तित्वको चिरहण गर्ने कार्यलाई प्रोत्साहन दिन खोजिएको छ,’ संयुक्त प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘२१ औं शताब्दीमा पनि महिला अस्तित्वको मोलमोलाइ बजार, घर, समाज, सत्तासम्म भई राख्नु महिला तथा मानव अधिकारको गम्भीर उल्लङ्घन एवम् ज्यादती हो।’
नागरिक तथा अधिकारवादी संस्थाहरूले घटनाको बारेमा प्रदेश सरकार र दलहरूले यथाशीघ्र धारणा सार्वजनिक गर्नुपर्ने माग राखेका छन्।
मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको एक साता पुग्न लाग्दा पनि प्रदेश सरकार र सत्ता साझेदार दल मौन भएपछि नागरिक स्तर बाट यसको विरोध भएको छ।
नेकपा एमालेबाट निर्वाचित सांसद शाहीले गत वैशाखमा दलीय ह्विप उल्लङ्घन गर्दै मुख्यमन्त्री शाहीको सरकार जोगाइदिए पछि मुख्यमन्त्रीले विमला केसीलाई राजीनामा गर्न लगाएर शाहीलाई कृषि मन्त्री बनाएका थिए। कृषि मन्त्री शाही अहिले माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा लागेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। एमालेले सरकार र सत्ता पक्ष चुप लागेर बस्नुलाई गम्भीर घटना भनेको छ।
‘कर्णालीमा माओवादी केन्द्र र काँग्रेसको संयुक्त सरकार छ, कर्णालीका माओवादी र काँग्रेसलाई के विषयले छुन्छ बुझ्न सकिएन,’ एमाले कर्णाली प्रदेश इन्चार्ज एवम् प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले भने, ‘सार्वजनिक रूपमा गम्भीर आरोप लागिसक्दा तत्काल बर्खास्त गर्नु पर्नेमा न सरकार बोल्छ, न पार्टी बोल्छ, न पार्टीमा लागेका बोल्छन् ।’
भदौ १३, २०७८ आइतबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।