बुटवलमा चुरे पहिरो : २३ वर्ष अघि दिइएको बस्ती स्थान्तरणको सुझाव बेवास्ता
बुटवल : अविरल आएको वर्षाका कारण पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतीनगरका दर्जन बढी घर जोखिममा परेका छन्।
ज्योतीनगरदेखि माथिबाट लेदो सहितको पहिरो खस्दा त्यस आसपासका दर्जन बढी घरहरू जोखिममा परेको हो। आधा दर्जन घर पहिरोले पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। त्यो स्थानमा गत भदौ ११ गते पनि पहिरो गएको थियो। तर, गए राती गएको पहिरो ०५५ साल पछिको ठुलो पहिरो हो।
पहिरोले पुराएको क्षतिको पूर्ण विवरण आई सकेको छैन।
वर्षा नरोकिएको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले जोखिममा परेका घर परिवारलाई बुटवल स्थित बुटवल बहुमुखी क्याम्पसमा सारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मनोज कुँवरले बताए।
सुझावको बेवास्ता
बर्सेनि वर्षा याममा मात्र हैन हिउँदमा पनि ज्योतीनगर, लक्ष्मीनगर, आर्दशनगरमा पहिरो गई रहन्छ। चुरे तल रहेका यी बस्तीले बर्सेनि सामान्य क्षति पुराउँदै आएका छन्। गत वर्ष ज्योतीनगरमै चुरे क्षेत्रबाट आएको बाढीले केही घर भत्किनुका साथै पशु चौपाया बगाएको थियो।
हिउँद र वर्षा याम जुन बेला पनि पहिरो जाने सम्भावना भएकाले यसको दीर्घकालीन समाधानका लागि आवाज बेला बेलामा उठिरहन्छ। ०५५ सालमा चुरे पहाडबाट झरेको पहिरोले आर्दशनगर र ज्योतीनगरमा ठुलो क्षति पुराएपछि जाईकाका प्रतिनिधिहरूले चुरे पहाडको निरीक्षण पछि तत्कालीन बुटवल नगरपालिकालाई बस्ती स्थानान्तरणको सुझाव दिएको थियो।
कान्छो चुरे पहाड भएकाले महाभारतको जस्तो नभई बलौटे माटो भएकाले पहिरोको जोखिम रहेको, माथि बाट आएको पानी बर्खा याममा जमिन मुनि बाट जानुपर्नेमा संरचना निर्माणपछि ५ फुट तल सम्म जग खन्दा पानी ब्लक भएका कारण पहिरो जाने जोखिम र चुरे पहाडमा ठुला रुख नै अभिशाप भएकाले बस्ती हटाउन सुझाव दिएको भए पनि यसको कुनै पहल कदमी नहुँदा अहिले २३ वर्ष पछि त्यस क्षेत्रमा क्षति पुगेको स्थानीयको गुनासो छ।
चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्चका संयोजक कमल गौतमले जाईकाका प्रतिनिधि सहितको टोलीले दिएका सुझाव कार्यान्वयन नहुँदा त्यस क्षेत्रका बासिन्दा बर्सेनि जोखिममा बस्नु परेको बताए।
हालै यही चुरे क्षेत्रमा दुई केबलकार निर्माणाधीन अवस्थामा छन्। यसले चुरे क्षेत्रमा केबलकार : विनाशलाई निम्तो दिएजस्तै हुने देखिन्छ।
भदौ १३, २०७८ आइतबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।