फिल्म ‘म त मर्छु कि क्या हो’ : ‘मेरी बास्सै’ को नयाँ एपिसोड
केही वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘मेरी बास्सै’ नामको हाँस्य टेलिशृंखला निकै चर्चामा थियो। धुर्मुस, सुन्तली, माग्ने बुढो, मुइयाँ, मुला साग, चम्सुरी, दारी बा, बल्छी धुव्रे, राजु मास्टर, इकु लगायतका पात्रले राम्रैसँग दर्शक रिझाएका थिए त्यति बेला।
यीमध्ये कतिपय पात्रले त अहिलेसम्म त्यही पुरानै चरित्र भजाएर आफ्नो दैनिकी चलाइरहेका छन्। मेरी बास्सैको चरित्रबाटै दैनिकीदेखि समाजसेवाको काम चलाउनेसम्ममा पर्छन्, सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ धुर्मुस र सुन्तलीले केही समयअघि सार्वजनिक गरेको म्युजिक भिडियो ‘तिमी मेरो पार्वती’ होस् या अहिलेको फिल्म ‘म त मर्छु कि क्या हो’, दुवैमा मेरी बास्सैकै चरित्रलाई पस्केका छन्। म्युजिक भिडियोमा यी दुई मुस्कान पासा र फत्यौरी बनेका थिए भने फिल्ममा उनीहरूको पहिचान नै बन्न पुगेको छ, धुर्मुस र सुन्तली।
धुर्मुसले मेरी बास्सैमा बोल्ने चर्चित संवाद, ‘कस्तरी हाँस्छे, म त मर्छु कि क्या हो’ थेगोलाई लिएर फिल्म ‘म त मर्छु कि क्या हो’ को शीर्षक तय गरिएको छ।
फिल्मको कथा सार यस्तो छः
सुन्तली धुर्मुसले जागिर नखाए झुन्डिएर मर्ने धम्की दिँदै घरको धुरीमा पासो लगाउन खोज्छिन्। धुर्मुसले आफू कृषि बैङ्कको कर्जा शाखामा म्यानेजर भएको बताउँदै सुन्तलीलाई आत्महत्या गर्नबाट जोगाउँछ।
घरमा बैङ्कको म्यानेजर भने पनि ऊ वास्तवमा कुखुरा फार्मको एक सामान्य कर्मचारी हुन्छ। समय बित्दै जाँदा उसको वास्तविकता सुन्तलीले थाहा पाउँछिन्। श्रीमानसँग सम्बन्ध विच्छेदसम्मको कुरा उठ्छ।
रियल लाइफमा समेत जोडी रहेका धुर्मुस र सुन्तलीको सम्बन्ध रिलमा विच्छेद होला या नहोला, यत्ति कुराको चासो लागे मात्रै फिल्म हेर्नुहोला। किनभने फिल्म हेर्ने प्रक्रिया हलमा गएभन्दा झन्झटिलो छ।
सुरुमा मोबाइलमा पहिल्यै फुल भएको स्पेस खाली गर्न राम्रा एपलाई हटाउनु पर्यो। त्यसपछि मुभिज एप डाउनलोड गर्नुपर्यो। त्यसमा व्यक्तिगत विवरण सबै राखेर खाता खोल्नु पर्यो। पैसा तिर्नका लागि अर्को एप प्रभु पे डाउनलोड गरेर त्यहाँ पनि व्यक्तिगत विवरण राख्नु पर्यो। फेरि मोबाइल बैङ्किङको सुविधा सुचारु गरेको छैन भने अर्को लामो झन्झट।
मोबाइल बैङ्किङ सुचारु गरिसकेपछि प्रभु पेमा पैसा लोड गर्नु पर्यो। तीन सय २० रुपैयाँको फिल्म हेर्न कम्तीमा पाँच सय लोड गर्नु पर्ने हुन्छ। एपबाट पैसा तिरेपछि एउटा कोड दिन्छ, त्यसलाई कपी एण्ड पेस्ट गरेपछि बल्ल फिल्मसम्म दर्शकको पहुँच पुग्छ। तर यत्रो झन्झट उठाइसकेपछि पनि गुणस्तरीय फिल्म हेर्न भने पाइने छैन।
फिल्ममा निकै गम्भीर विषयवस्तु उठान गरिएको छ। पोल्ट्री फर्म खोलेका किसानको पीडालाई फिल्ममा देखाइएको छ तर निकै हलुका तरिकाले। हँसाउने चक्करमा कथावस्तुको गहनता सबै बिलाएको छ।
महिलावादी आँखाले हेर्ने हो भने त झनै समाजसेवी समेत रहेका धुर्मुस र सुन्तलीबाट अपेक्षा नै गर्न नसकिने गल्ती भएको छ। श्रीमानले भ्रष्टाचार गर्ने र त्यसमा सघाउ पुर्याउने पात्रको रूपमा महिलालाई उभ्याइएको छ। आफू घरमा बस्ने, छिमेकीलाई चिढ्याएर धन र श्रीमानको फुर्ती लगाउने महिलाले फिल्मको अन्त्यमा ढँटुवा, भ्रष्टाचारी, अरू महिलालाई नजर लगाउँदै हिँड्ने, लाज–शरम पचेको लबस्तरोसँग माफी समेत मागेको दृश्यले मन कटक्क बनाउँछ।
त्यस्तै ध्वनि संयोजनमा पनि गतिलो काम देखिँदैन। एउटा दृश्य छ, जहाँ धुर्मुस मकैको सालिक भएको ठाउँमा दुःखी बनेर बस्छन् र जिन्दगी मकैको घोगा जस्तै बनेको बताउँछन्। साथै सुन्तलीसँगको रोमाञ्चक दृश्यको सम्झना गर्छन्। उक्त दृश्यमा धुर्मुसले रोमाञ्चक कल्पना होइन, भयङ्कर डरलाग्दो दृश्य देखाएजस्तो सङ्गीतको प्रयोग गरिएको छ। सस्पेन्स दृश्यमा प्रयोग गरिने सङ्गीत, रोमाञ्चक कल्पनामा प्रयोग हुँदा अनायासै नाक खुम्चिन्छ।
फिल्मको अन्त्य देख्दा झनै मन भरिएर आउँछ। धेरै फिल्ममा दोहोरिएको कथा र प्रस्तुतीकरणलाई जस्ताको तस्तै देखाउने अनि पत्रकारले कथा सबै लेखिदियो भन्ने पनि हुनसक्छ तर यो बाध्यता हो।
फिल्मको अन्त्य यसरी भएको छः
श्रीमतीले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरिसकेको, स्टकका रूपमा एक केटीलाई अविवाहित भन्दै भ्रममा पारेको, जागिरबाट बिरक्तिएको, घरजग्गा सबै लिलाम भइसकेको मुख्य पात्रले पुरानो साहुको कार दुर्घटनाको सामना गर्न पुग्छ।
उसले साहुलाई अस्पताल लैजान्छ। सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गर्न हिँडेकी श्रीमती आमा बेहोस भएपछि अस्पताल पुग्छिन्। आमालाई ओ नेगेटिभ समूहको रगत आवश्यक पर्छ। सबैसँग भन्छिन् तर कसैको रगत मिल्दैन। अन्त्यमा चिकित्सक आएर रगत दिने मानिस भेटिइसकेको बताउँछिन्। गएर हेर्दा उही मुख्य पात्रलाई देख्छिन्।
उसले आफ्ना कमजोरी ढाक्ने एक÷दुई इमोसनल संवाद बोल्छ, जसमा आमा सानैमा मरेको कथा हुन्छ। थाहा नपाई सबै कुरा सुनेकी श्रीमती उल्टै माफी माग्दै श्रीमानको शरणमा पुग्छिन्। त्यही पात्रका कारण करोडौँ गुमाएको पुरानो साहुले त झनै सन्तान नभएको भन्दै धर्मपुत्र नै बनाउँछन्। अपुताली खाएको सम्पत्तिसँगै ऊ धनी हुन्छ र फिल्म सकिन्छ।
यसका अलावा फिल्मभरि प्रशंसायोग्य काम भने सङ्गीतमा भएको छ। फिल्ममा समावेश एक मात्रै ओरिजिनल गीत ‘ए मेरो परान जान्छौ धरान’ को हरेक पाटो राम्रो छ। त्यस्तै फिल्मको अन्त्यमा रिमेक गरिएको ‘इशाराले बोलाउनु पर्दैन’ गीतको भिडियो राम्रो बनेको छ।
अन्य कुराहरू भने भद्रगोल छ। ओटिटीमा प्रदर्शन भएकाले यसको छायाङ्कन, एडिटिङ, कलरिङको पाटोलाई पूर्ण बेवास्ता गर्नुपर्ने हुन्छ। फिल्ममा धुर्मुस र सुन्तलीको अभिनयले भने नोस्टाल्जिक बनाउँछ। केही वर्षअघि टेलिभिजनमा देखिएका पात्रलाई दुरुस्तै फिल्ममा देख्दा पुरानो याद ताजा हुन्छ।
फिल्म हेर्दा कुनै पनि कोणबाट सन्तुष्टि प्राप्त नभए पनि कोभिडको समयमा प्रदर्शन गरेकामा भने निर्माण पक्षलाई धन्यवाद दिनै पर्छ।
भदौ १३, २०७८ आइतबार ११:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।