अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई विश्वासको मत लिन सकस

अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई विश्वासको मत लिन सकस

काठमाडौ  : राष्ट्रिय राजनीतिमा माधव नेपालको साथ छाडे बापत मुख्यमन्त्रीको चिट्ठा हात पारेका दुई नेता सङ्कटको भुमरीमा परेका छन्।

नेकपा एमालेको फुटमा अन्तिम समयमा आएर नेपाल छाडेर ओलीको कित्तामा उभिएका अष्टलक्ष्मी शाक्य र भीम आचार्य पार्टी विभाजनसँगै मुख्यमन्त्री पद जोगाउने सङ्कटमा परेका हुन्। नेपाललाई सरप्राइज दिँदै बागमती प्रदेशको मुख्यमन्त्री हात पारेकी शाक्य सिङ्गो एमाले हुँदा मात्र विश्वासको मत लिन सक्ने अवस्थामा छिन्। नेपाल समूहको नेकपा एकीकृत समाजवादीको साथ नपाउने हो भने उनको त्यो पद धरापमा पर्ने देखिन्छ।

नेपालसँग कै सल्लाहमा मुख्यमन्त्री बनेको भनिएकी शाक्यलाई केपी ओली र नेपाल मध्ये को रोज्ने त्यो छान्न अब १९ दिनको समय छ। नेपालको सल्लाहमा मुख्यमन्त्री बनेको र नेपाललाई नै साथ दिने हो भने उनले अबको १९ दिन भित्र कित्ता क्लियर गरे सांसद पद जोगिन्छ तर, नेकपा एमालेले साथ नदिने हो भने मुख्यमन्त्री पद के हुन्छ भन्न सकिन्न। उनी एमालेमा रहने हो भने नेपाल पक्षका एकीकृत समाजवादीले साथ नदिए त्यहाँ पनि बहुमत नपुग्ने स्पष्ट छ।

पछिल्लो अवस्था अनुसार बागमतीमा ११० सांसद मध्ये ५६ जना एमालेमा थिए। एमालेमा रहेका मध्ये राजेन्द्र पाण्डे र शाक्यको मन्त्रिपरिषद्का सदस्य समेत रहेका कृष्णप्रसाद खनालले समाजवादी पार्टीमा सनाखत गरिसकेका छन्। २ मात्र सांसद समाजवादीमा लाग्दा पनि शाक्यले विश्वासको मत पाउन कठिन हुन्छ। समाजवादीका नेता समेत रहेका पाण्डे बागमतीमा अन्य ८ सांसद आफूहरूसँग रहने दाबी गर्छन्।

पाण्डेले भने जस्तै उनीसहित १० सांसद समाजवादीमा रहने हो भने सांसदमा प्रतिनिधित्व गर्ने साना दलले साथ दिँदा पनि शाक्यको मुख्यमन्त्री पद जोगिन सक्दैन।

यता केपी ओलीका विश्वास पात्र शेरधन राईलाई बिस्थापित गर्दै बिहीबार मात्र प्रदेश १ को मुख्यमन्त्रीको शपथ खाएका आचार्य पनि विश्वासको सङ्कटमा उभिएका छन्। ९३ सदस्य रहेको प्रदेशसभामा एमाले एक हुँदा एमालेसँग रहेका ५१ मध्ये एक जना फौजदारी अभियोग लागेर फरार छन्। बाँकी मध्ये पनि राजेन्द्र राई समाजवादीको पक्षमा सांसदलाई तान्न भरमग्दुर प्रयास गरिरहेका छन्। एकल बहुमतका लागि ४७ मत आवश्यक पर्ने आचार्यलाई राईले ४ मात्र सांसद आफ्नो पक्षमा ताने भने पनि विश्वासको मत पाउन कठिन हुने देखिन्छ।

 

भदौ ११, २०७८ शुक्रबार १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।