ओलीलाई बलियो बनाउन लाग्दा आफ्नै क्षेत्रमा कमजोर भए भीम रावल

ओलीलाई बलियो बनाउन लाग्दा आफ्नै क्षेत्रमा कमजोर भए भीम रावल

धनगढी : अन्तिम समयमा माधव नेपालको साथ छाडेर भीम रावल जसरी एमाले अध्यक्ष केपी ओली समूहमा समाहित भए त्यसरी नै सुदुरपश्चिमका नेताहरूले रावलको साथ छाड्दै गएका छन्।

ओलीको कट्टर आलोचक रहेका उनले जसरी अन्तिम समयमा नेकपा एकीकृत समाजवादी गठनसँगै नेपालको साथ छाडे त्यसरी नै रावलका विश्वासपात्रहरुले उनको साथ छाड्दै छन् प्रदेशमा।

उनी एमालेभित्र सुदुरपश्चिममा बलियो पकड भएको नेताका रूपमा हेरिन्छ। नेकपामा हुँदा होस् या एमालेमा विवाद हुँदा सुदुरपश्चिममा उनी बलिया नै थिए। उनले सुदुरपश्चिमका समर्थकका कारण ओलीलाई अप्ठ्यारोमा पार्दै गए पनि। तर जब उनी ओली तिरै लागे उनको त्यो शक्ति देखिएन आफ्नै प्रदेशमा।

अहिले रावलसँगै ओलीतिर लाग्नेमा सङ्घीय सांसदको सदस्यमध्ये झपट रावल मात्र हुन्। प्रदेश सभा र सरकारमा समेत उनी कमजोर देखिएका छन्। सुदूरपश्चिम प्रदेश सभामा सभामुख सहित २५ सांसद रहेको एमालेमा तत्कालीन अवस्थामा ८ जना केपी ओली पक्ष र १७ जना माधव समूहमा खुलेका थिए।

रावल माधव समूहमै रहेका कारण बहुमत सांसदहरू उनकै समूहमा रहेको विश्लेषण हुन्थ्यो। रावल एमालेमै फर्कँदा उनी आफ्नै क्षेत्रमा कमजोर देखिए। प्रदेश सरकारमा एमालेबाट अहिले चार मन्त्री र तीन राज्यमन्त्री भएकोमा उनीहरूमध्ये आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मात्रै रावललाई खुलेर साथ दिएका छन्।

रावल निकट मानिएका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्व मन्त्री माया भट्ट नेपालको नयाँ दलतिर लागेका छन्। प्रदेश सभा सदस्य अमर साउद, बलबहादुर सोडारी, कृष्णराज सुवेदीले पनि रावलको साथ छाडेका छन्।

‘सबै सांसदहरूले कित्ता क्लियर गरिसकेका छैनन्,अझै धेरै सांसदहरू नयाँ पाटीमा खुल्छन्,’ रावल निकट एक सांसदले दाबी गरे ,‘२-४ बाहेक सबै माधव नेतृत्वको पार्टीमै जान्छन्, रावलले गद्दारी गरेकाले अब उहाँको साथमा बस्न सक्दैनौँ।’

अध्यक्षको लोभमा ओलीतिर ?

एमाले विवाद बल्झिनु अघि देखी नै ओलीका कट्टर विरोधी हुन रावल। एमालेमा उपाध्यक्ष रहेका उनलाई एमाले–माओवादी केन्द्रको एकता चित्त बुझेको थिएन। कारण उनी एमालेमा अव अध्यक्षको दाबेदार थिए। तर नेकपामा अध्यक्ष पाउन उनलाई फलाम चपाउनु जस्तै थियो।

त्यसमा उनी सकारमा समेत सहभागी हुन पाएनन्। त्यही बेला एमसिसीबारे विवाद भएपछि उनले त्यसलाई हतियार बनाएर ओलीको कठोर आलोचना गर्न थाले।

नेकपाको विघटनसँगै एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्कने सर्वोच्च अदालतको फैसलापछि सबैभन्दा खुसी रावल नै थिए। रावल खुसी हुनुको कारण एमालेमा दोस्रो वरीयतामै रहने आस थियो। तर उनको त्यो चाहना ओलीले सजिलै पुरा हुन दिएनन्। अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरी ओलीले नेपालसहित भीम रावलसहितलाई कारबाही गरे।

उनी नेपाल समूहमा रहेर पार्टी एकताको कार्यदलको संयोजन गर्दा ओलीले उनको साटो अर्कै नेतालाई पठाउन नेपाललाई आग्रह गरेको समाचार बाहिरिएको थियो। नेपाल र ओलीबीच दुरी बढेपछि ओली र रावलबीच बालुवाटारमा भेट भएपछि उनको भूमिका बदलियो।

नेपाल समूहका केही नेताले‘ ओलीले आगामी महाधिवेशनबाट एमाले अध्यक्ष बनाउने आश्वासन दिएपछि रावल लचिलो बनेको’ भन्दै आलोचना गरेका थिए। १० बुँदे सहमतिको कार्यान्वयनको आवरणमा एमाले जेठ २ को अवस्थामा फर्कँदा उनको उपाध्यक्षको पद पनि फर्कन्थ्यो। त्यसैको बलमा आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुने र ओली समूहको सहयोगमा पार्टीको नेतृत्वमा पुग्ने लोभमा रावल नेपाललाई छाडेर ओली तिरै लागेको उनी निकटका केही नेताको विश्लेषण छ।

रावलको साथ छाड्ने दाबी गर्ने सुदुरपश्चिममका नेताहरू उनको आलोचना त गर्छन् तर औपचारिक रूपमा बोल्न चाहँदैनन्। यसले उनीहरू निर्णयमा पुगिसकेको भन्दा पनि पर्ख र हेरको रणनीतिमा रहेको सङ्केत पनि देखिन्छ।

भदौ ११, २०७८ शुक्रबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।