कर्णालीमा एमाले विभाजनको असर : दुवै समूहलाई जनविश्वास गुम्ने डर 

कर्णालीमा एमाले विभाजनको असर : दुवै समूहलाई जनविश्वास गुम्ने डर 
नेकपा एमालेको कर्णाली प्रदेश स्तरीय भेला (फाइल फोटो)

पार्टी विभाजनपछि कर्णालीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी र केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेका नेताहरू आ—आफ्नो कित्ता ‘क्लियर’ गर्न थालेका छन्। 

एमालेको पछिल्लो अधिवेशनबाट जिल्ला नेतृत्व सम्हालेका १० मध्ये ७ जना माधव समूहमा खुलेका थिए। ती मध्ये पनि अहिलेसम्म मुगु, जुम्ला र रुकुम पश्चिमका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा खुलेका देखिन्छन्। माधव समूहमै रहेका डोल्पाका दत्त रोकायाको भने मृत्यु भइसकेको छ।

विगतमा माधव समूहमै खुलेका सुर्खेतका ध्रुवकुमार शाही, जाजरकोटका करवीर शाही, दल रावल लगायतका नेताहरू हाल एमालेमा नै देखिएका छन्।

एमालेभित्र ध्रुवीकरण हुँदा कर्णाली प्रदेशसभामा एमालेका २० सांसदमध्ये माधव समूहमा ९ र ओली समूहमा ११ जना थिए। तीमध्ये चार जनालाई एमालेले कारबाही गरेको छ। बाँकी १६ मध्ये मुगुका चन्द्रबहादुर शाही र रुकुमका देवी ओली नेकपा समाजवादीको केन्द्रीय सदस्य मनोनयन भइसकेका छन्।

 सांसद ओलीले गत वैशाखमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर पनि पछि आफ्नो मत सच्याएकी थिइन्।

‘जेठ ३ गतेभन्दा अगाडी मनोनीत भएका सांसदहरूको हस्ताक्षर आवश्यक पर्ने र म जेठ २ पछि मात्र मनोनीत भएका कारण मेरो हस्ताक्षर आवश्यक नपर्ने भएकोले म दल दर्ता गर्दा नगएको हुँ’, नेकपा समाजवादीका केन्द्रीय सदस्य चन्दबहादुर शाहीले भने, ‘समाजवादी पार्टीलाई कर्णालीमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने तरिकाले अगाडी बढिरहेको छु, यसैमा मेरो सक्रियता बढ्ने छ।’

उसो त तत्कालीन नेकपा हुँदा पनि एमालेको आन्तरिक विवादको सुरुवात कर्णालीबाटै भएको हो। नेपाल समूहमा रहेका सुर्खेतका पद्मा खड्का, जाजरकोटका करवीर शाही संस्थापन पक्षमा देखिएका छन्। यस्तै दैलेखका सुशील थापा आफूले अझै सम्म प्रस्ट धारणा बनाइ नसकेको बताउँछन्।

  ‘मैले अहिलेसम्म यता र उता भनेर प्रस्ट धारणा बनाएको छैन, पहिला त म माधव नेपाल पक्ष नै हो’, सांसद थापाले भने, ‘निर्वाचन क्षेत्रका नेता कार्यकर्ता, एमाले संसदीय दल, एमाले प्रदेश र जिल्ला कमिटीसँग आवश्यक सरसल्लाह गरेर एउटा निर्णयमा पुग्नेछु।’

प्रदेशमा नेकपा समाजवादीको नेतृत्व यस अघि प्रदेशसभा सदस्य समेत रहेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कूर्मराज शाही, नन्दसिंह बुढा लगायतका नेताहरूले गरेका छन्। गत वैशाखमा चारै जनाले ‘फ्लोर क्रस’ गरेर  कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। जसमध्ये ज्वालाबाहेक तीन जना अहिले प्रदेश सरकारमा मन्त्री छन्।

एमालेतर्फ भने कर्णाली प्रदेशसभामा एमालेका संसदीय दलका नेता समेत रहेका सुर्खेतका यामलाल कँडेल, सल्यानका गुलाबजंग शाह, माओवादीबाट निर्वाचित भई एमालेमा प्रवेश गरेका दैलेखका धर्मराज रेग्मी छन्। उनलाई माओवादीले कारबाही गरेर सांसद पदबाट मुक्त गरिसकेको छ।

यस्तै, केन्द्रीय राजनीतिमा सक्रिय र माधव नेपाल पक्षका नेता विष्णु रिजाल पनि संस्थापन पक्षमा खुलेरै होमिएका छन्। हुम्लाका गोरख बोगटी, जाजरकोटका करवीर शाही लगायतका नेताहरू एमालेमै छन्।

पार्टी विभाजनपछि पनि कर्णालीमा एमालेको संस्थापन पक्ष बलियो देखिन्छ। नेकपा समाजवादीले आफ्नो पक्षका नेताहरूलाई अझै हातमा लिन सकिरहेको छैन। यो हिसाबले कर्णालीमा दुवै समूहलाई जनविश्वास गुम्ने खतरा छ।

यसअघि दुवै समूहको राम्रो पकड भएका जिल्लामा पनि पार्टी फुटेपछि दुवै समूह असुरक्षित महसुस गर्न थालेका छन्। जसका कारण दुवै पक्षले जनविश्वास गुमाउने खतरा बढेको छ। यसको प्रत्यक्ष राजनीतिक लाभ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले लिने देखिन्छ।

कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापाले ओलीको तानासाही प्रवृत्तिविरुद्ध आफूहरू उभिएको बताए। ‘हामीले एमालेमा आजसम्म सङ्घर्ष गर्यौं फुटेर अलग्गै हुने रहर त कदापि होइन तर, ओली र उहाँले बनाएका नेताको अहंकारको परिणाम हो यो’।, उनले भने, ‘अब कर्णालीमा नेकपा समाजवादीले व्यापक रूपमा आफ्ना नीति तथा कार्यक्रम आम नागरिक सामु पुर्याउनेछ।’

 

नेकपा समाजवादी सुर्खेतको नेतृत्व बडूवाललाई

नेकपा समाजवादी पार्टी सुर्खेतमा मोहन बडूवालको नेतृत्वमा २५१ सदस्यीय जिल्ला कमिटी गठन भइसकेको छ। एमालेका निवर्तमान सचिव समेत रहेका बरुवाल पहिलेदेखि नै माधव नेपाल समूहमा थिए।

केपी शर्मा ओलीका कारण एमाले रुपी घर भत्किएको बडूवालले बताए।

‘अब हामी भत्किएको घरलाई पुन निर्माण गर्छौं र, जस्तोसुकै भूकम्प आए पनि नभत्किने गरी पुन निर्माणको प्रक्रियामा लागिरहेका छौँ’, उनले भने, ‘ओलीले एमालेको विधानलाई आत्मसात् गर्न सक्नुभएन, महाधिवेशनको नीति र पार्टीको मूल्य, मान्यतालाई पनि ख्याल गर्न सक्नुभएन।’

उनका अनुसार सुर्खेतका नौ वटा स्थानीय तह र ९९ वडामा  वडा कमिटी गठन गरिएको छ।

 

स्थानीय तहमा पनि विभाजनको असर

  नेकपा एमाले विभाजनको असर जिल्ला र स्थानीय तहमा देखिन थालेको छ। सुर्खेतमा माधव नेपाल पक्ष बलियो भए पनि जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीसहितका तीन तिहाइ भन्दा बढी एमालेमै रहेपछि सुर्खेतमा माधव नेपाल पक्ष कमजोर देखिएको छ। पहिला शाही नेपाल पक्षका थिए।

सुर्खेतमा पार्टी अधिवेशनमा एमालेको माधव समूह विजय भएको थियो। एमालेका तत्कालीन जिल्ला सचिव मोहन बडूवालको नेतृत्वमा समाजवादी गठन भए पनि नयाँ पार्टी प्रवेश गर्नेहरूको सङ्ख्या न्यून देखिएको छ।

६३ सदस्यीय नेकपा एमाले जिल्ला कमिटीमा सदस्य हर्क रानाको मृत्यु भइसकेको छ। बाँकी ६२ जनामा नौ जना मात्रै नयाँ दलमा सहभागी भएका छन्। पार्टी पदाधिकारीमा सचिव मोहन बरुवाल र उपसचिव टोपबहादुर रास्कोटी समाजवादीतर्फ खुलेर लागेका छन्।

संयोजक रहेका बडूवाललाई साथ दिन जिल्ला कमिटीबाट खगेन्द्र पोखरेल, केदार कँडेल, हरि खनाल, मनबहादुर कामी, गुमानसिंह कामी, रामकुमार दर्लामी र जागुराम थारु समाजवादीमा सहभागी भएका हुन्।

सुर्खेतमा नौ वटा पालिकाका ९९ वडामा एमाले एक्लैले स्थानीय तहको निर्वाचनमा ४३ वटा वडामा विजय प्राप्त गरेको थियो। तीन ओटा स्थानीय तहमा प्रमुख उपप्रमुख जितेको एमाले विभाजन हुँदा भने केही वडा अध्यक्ष र सदस्य मात्रै नयाँ पार्टीमा सहभागी भएका छन्।

एमालेले सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र लेकबेशी नगरपालिकामा जितेको थियो। सिम्ताका अध्यक्ष कवीन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, लेकवेशीका नगरप्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्ति छन्तेल, चौकुनेका अध्यक्ष धीरबहादुर शाही र उपाध्यक्ष निर्मला राना पनि एमालेमै बस्ने भएका छन्।

त्यस्तै वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकाल एमालेमै छन्। उनी नेकपा विभाजनको बेला समेत केपी ओली पक्षमा थिइन्।

वीरेन्द्रनगर नगरपालिकाका तीन जना वडा अध्यक्ष खुलेर समाजवादीमा लागेका छन्। १६ वडा रहेको वीरेन्द्रनगरमा नौ वडामा एमालेले जितेको थियो। नयाँ दलमा सहभागी भएका वडा अध्यक्षहरूमा वडा नं. ८ का रत्नबहादुर बुढा, वडा नं. १० का लोकप्रसाद चालिसे र वडा नं. १२ का थम्मप्रसाद गौतम हुन्।

चौकुने गाउँपालिका वडा नं. १ का लक्ष्मण आले र सदस्यहरू समाजवादीमा सहभागी भएका छन् भने पञ्चपुरी नगरपालिकाको वडा नं. ५ का वडा अध्यक्ष रतनबहादुर बिसी समाजवादीमा लागेका छन्। सो नगरपालिकाको वडा नं. १, ३, ५, ७ र ९ मा एमालेले जितेको थियो।

सुर्खेतका नौ वटा पालिकाका एमाले अध्यक्षहरूमा एक जना मात्रै समाजवादीमा देखिएका छन् भने एक अध्यक्ष अझै खुलेका छैनन्। पञ्चपुरी नगर कमिटी अध्यक्ष मनबहादुर विश्वकर्मा मात्रै समाजवादीमा खुलेर लागेका छन्। अन्य सबै पालिकाका अध्यक्षहरू एमालेमै रहेका छन् ।

 

दैलेखमा  ६ जनप्रतिनिधि समाजवादी पार्टीमा 

११ वटा स्थानीय तह रहेको दैलेखमा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जना नेकपा समाजवादीमा खुलेका छन्। समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही रहेका छन्।

यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छिन् भने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन्। यसअघि माधव नेपाल समूहमै रहेका चामुण्डा विन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले अहिले प्रस्ट धारणा बनाइसकेका छैनन्।

माधव समूहकै नेताका रूपमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने अहिले खुलेर ओली पक्षमा देखिएका छन्। उनले केही दिनअघि काठमाडौं गएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए। 

कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख÷उपप्रमुखमध्ये ५९ जना एमालेबाट निर्वाचित छन् । ती मध्ये पनि ३० जना नेपाल समूहमा थिए।

 

 

भदौ १०, २०७८ बिहीबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।