जनवादी संगीतप्रेमीलाई टुहुरो बनाएर गए ‘टुहुरे’

जनवादी संगीतप्रेमीलाई टुहुरो बनाएर गए ‘टुहुरे’

वि.सं. २०३३ सालतिरको कुरा हो। जनवादी गायक जेवी टुहुरेको हातमा एउटा किताब आइलाग्यो। पाना पल्टाएर हेर्दा त्यहाँ उनले एउटा कविता देखे- आमा दिदी-बहिनी हो, कति बस्छौ दासी भई सुखको सधैं प्यासी बनेर। कविताको यही पंक्तिले उनको ध्यानाकर्षण गर्यो।

उनले यो पंक्तिलाई गीत बनाउने निर्णय गरे। एक साथीको साथ लागेर अगाडि केही पंक्ति थपेर गीत तयार पारे। माथिको गीत त्यही थपथाप पारिएको कविताबाट बनेको गीत हो।

यी र यस्ता धेरै भाकामा आवाज दिएका जनवादी गायक जेवी टुहुरे संगीतप्रेमीलाई टुहुरो बनाएर गएका छन्। उनको ७८ वर्षको उमेरमा बिहीबार मध्याह्न साढे बाह्र बजे निधन भएको हो।

वि.सं. २००१ सालमा धरानमा जन्मिएका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो। जन्मने बित्तिकै उनलाई जुठेल्नामा फलियो रे। त्यसैले उनको नाम जुठबहादुर रहन गएको कुरा उनका अन्तर्वार्ताहरुमा सुन्न सकिन्छ। हुर्कंदै-बढ्दै जाँदा उनलाई नाम परिवर्तन गर्ने रहर जागेछ।

वि.सं. २०२१ सालमा बाबु बितेपछि उनको नाम पनि जुरेछ, जेवी टुहुरे। २१ वर्षको छँदा बाबु गुमाएकोले सम्पूर्ण जिम्मेवारी उनैको काँधमा आयो। जसले गर्दा आफूलाई टुहुरो महसुस गरेको र नामको पछाडि टुहुरे जोडेको नाम बताउने क्रममा उनले हरेकलाई सुनाउँथे।

टुहुरेको स्कुले पढाइ खासै छैन। जम्मा तीन कक्षासम्म मात्रै पढेका थिए। तर अरुलाई सुनाउँदा उनले अगाडि साढे झुन्ड्याउन छाड्दैनथे। तीन कक्षाको पनि आधा वर्षसम्म स्कुल गएकाले साढे तीन कक्षासम्म पढेको उनी सुनाइरहन्थे।

स्कुले पढाइ कम भए पनि हुर्कँदै जाँदा जीवन पढ्न थाले टुहुरेले। अझै केही समयसम्म त स्कुलको शिक्षक समेत भए। उनले पढाएका विद्यार्थी अहिले डाक्टर, पाइलट बनेको रमाइलो मानेर सुनाउँथे।

धरानतिर भारतीय लाहुरे धेरै थिए। प्रत्येक घरबाट इन्डियन आर्मीमा भर्ति हुन मान्छे जान्थे। ती लाहुरेले ल्याएको क्यासेटमा हिन्दी गीत सुनेर उनी गीत-संगीतप्रति आकर्षित भएका थिए। विस्तारै त्यसैको प्रभाव समेत टुहुरेमा परेको थियो।

रेडियो नेपालको सुरुवात भएपछि भने उनले हिन्दी गीतलाई चटक्कै छाडे। किनभने, टुहुरेको रस धर्मराज थापाको लोक गीततिर बसेको थियो।

फर्क फर्क फर्क फर्क हो, गाउँतिरै फर्क हो
गाउँले हामी मिलेर अमृत बोली छर्कौं हो
फर्क फर्क फर्क फर्क हो
ढिलासुस्ती खत्तमै गरौं, भ्रष्टाचार उन्मुलन गरौं
गाउँघरमा गएर अमृत बोली छरेर हो।

टुहुरेले गाएको यो पहिलो जनवादी गीत हो। तत्कालीन राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएपछि उनले यो गीत गाए। राजा महेन्द्रलाई सघाउनभन्दा गाउँ फर्क अभियानका लागि यो गीत गाएको उनको बुझाइ थियो।

आँधी खोलाले, बसाइँ हिँड्नेको ताँतीले, चौंरी चर्ने ठाउँमा, छोराहरु हो, दुःखको बोझ, के दिउँ दाइजो, रातको अनिँदो लगायत उनका चर्चित जनवादी गीत हुन्।

२०२५ सालमा टुहुरेले कम्युनिष्ट पार्टीको सदस्यता लिए। गीत गाउने मानिस भएकाले कम्युनिष्टहरुले विशेष रुपमा च्यापेकै कारण उनी राजनीतिमा समेल भएका थिए। विस्तारै उनले माओत्सेतुङदेखि अन्य कम्युनिष्ट नेताको किताब पढ्न थाले। थाहै नपाई टुहुरे कम्युनिष्ट बने।

पञ्चायतकालमा गीत गाएकै भरमा उनी जेल परे, कुटाइ खाए। संकल्प नाम दिएर गीति अभियान नै चलाएका थियो टुहुरेको टोलीले। सातु-चामल बोकेर समेत उनीहरुको गीत सुन्न सात डाँडापारिबाट मानिसहरु आउँथे।

एमालेबाट सुरु भएको टुहुरेको राजनीतिक यात्रा पछि माओवादी केन्द्रबाट समानुपातिकतर्फ संविधान सभा सदस्य भएर टुंगियो। उनी २०७० सालमा संविधान सभा सदस्य बनेका थिए।

जीवनको अन्त्यसम्म पनि गीतमा उठाएको आवाज जनतासम्म नपुगेकोमा दुःखी थिए टुहुरे। आफूले सोचेजति परिवर्तन जनतामा नआएको उनको दुखेसो थियो। यही दुखेसो साथै लिएर उनी सदाका लागि यो संसारबाट बिदा भएका छन्।

भदौ १०, २०७८ बिहीबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।