प्रदेश १ : सत्ता टिकाउन र गिराउन मन्त्री दिने आश्वासन

प्रदेश  १  :  सत्ता टिकाउन र गिराउन मन्त्री दिने आश्वासन

नेकपा एमाले विभाजन भएपछि बनेको नयाँ समीकरणले शक्ति बाँडफाँडको शृङ्खला सुरु भएको हो। बिहीबार नै मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र आचार्यलाई मुख्यमन्त्रीमा समर्थन गर्ने भएका छन्। 

सत्ता परिवर्तनपछि आचार्यलाई मुख्य मन्त्री टिकाउन एमालेलाई ४ जना सांसद जोगाउनुपर्ने बाध्यता देखिएको छ। एमाले टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्व प्रदेश सांसद राजेन्द्र राईले गरेका छन्। बुधबार फेसबुक पोस्ट मार्फत उनले ४ जना सांसदले प्रदेश सरकार ढाल्न सकिने अभिव्यक्ति दिएका छन्। एमाले भित्र प्रभावशाली मानिएका उनी नयाँ समीकरण अनुसारको सरकार नबन्दै सत्ता परिवर्तनको खेलमा लागेका छन्।

एमालेका ५१ सांसद मध्ये १ सभामुख र फौजदारी अभियोग लागेका अर्का १ जना फरार छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। त्यसको लागी राजेन्द्र राईले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी¬) मा ४ जना सांसदको समर्थन रहे नयाँ सरकार टिक्ने सम्भावना नरहने देखिएको छ। 

सत्ता समीकरणमा जनता समाजवादी पार्टी पनि गठबन्धनमै आबद्ध भएकोले एमालेलाई समर्थन गर्ने सम्भावना देखिँदैन। तत्कालीन एमालेका ४ जना सांसदले भीम आचार्यलाई समर्थन नगरे तत्काल नयाँ सरकार बने पनि उनले विश्वासको मत पाउने सम्भावना छैन। 

सकेसम्म बढी सांसद आफ्नो पक्षमा पार्न सांसद राईले प्रयास जारी गरिरहेका छन्। राई नेपाली कांग्रेस सहितको गठबन्धनको सरकार बनाउने तयारीमा लागेकाले पछि मन्त्री दिने सर्तमा सांसद रोक्न लागी परेका हुन्। उता एमाले नेताहरूले राईको समर्थनमा रहेका सांसदलाई एमालेमै रहन र मन्त्री पद लिन आग्रह गर्दै आएका छन्। 

विपक्षी दललाई भने बहुमत पुर्याउन साना दलको सहित ५ जना सांसदको आवश्यक पर्ने देखिएको छ। राप्रपा र लोकतान्त्रिक मञ्चको समर्थन नभए एमालेका ७ सांसद आवश्यक पर्ने भएको छ। 

 

भदौ १०, २०७८ बिहीबार १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।