मापन हुँदैन पिउने पानीको गुणस्तर
तर, पिउने पानीको उत्पादन र बिक्री वितरण कार्यलाई व्यवस्थित गर्न बनेको सरकारी निर्देशिका समेत कार्यान्वयन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम प्रमुखसहित तीन जनाको भरमा धानिएको छ।
प्रदेश २ का आठ वटै जिल्ला कार्यक्षेत्र भएको यो कार्यालय मातहतमा प्रदेशका चार ठाउँमा डिभिजन कार्यालय छन्। पर्सा, सर्लाही, महोत्तरी र सप्तरीमा रहेका कार्यालयमा कतै एक राजपत्राङ्कित तृतीय श्रेणी त कतै सुब्बा स्तरका एक कर्मचारी मात्र छन्। कार्यालयका प्रमुख विजय खनालले भने, ‘कार्यालय सहयोगी सहित चार्टै ठाउँमा दुई–दुई कर्मचारी छन्।’
खाद्य स्वच्छता तथा गुणस्तर नियमन शाखा, खाद्य प्रविधि तथा पोषण शाखा, खाद्य तथा दाना प्रयोगशाला र योजना अनुगमन तथा प्रशासन शाखा गरी चार वटा एकाइ रहेको कार्यालयमा कर्मचारीको कुल दरबन्दी राजपत्राङ्कित द्वितीय प्राविधिक प्रमुखसहित १५ जनाको छ। स्वीकृत दरबन्दी अनुसार वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य अनुसन्धान अधिकृत, प्राविधिक सहायक, माइक्रो बायोलोजिस्ट, नायब प्राविधिक सहायक, कम्प्युटर अपरेटर सबै कर्मचारी प्राविधिक छन्। कार्यालयको साङ्गठनिक संरचनामा प्रशासन र लेखा हेर्ने कर्मचारीको दरबन्दी उल्लेख छैन।
कार्यालय प्रमुख खनालका अनुसार कार्यालयका चार कर्मचारीमध्ये खाद्य निरीक्षक प्रवीण तिवारी प्रशासन, मुद्दा, स्टोर, नमुना सङ्कलन र बजार अनुगमन गर्ने जिम्मेवारीमा छन्। अप्रशोधित तथा प्रशोधित पानीको भौतिक तथा रासायनिक विश्लेषणका लागि कार्यालय भित्र नै प्रयोगशाला छ। प्रयोगशालामा आवश्यक र पर्याप्त उपकरण छन्, तर, प्रयोगशालाका खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झालाई अनुज्ञा पत्र हेर्नुपर्ने भएकाले कार्यालय प्रमुख खनाललाई नै गुणस्तर परीक्षणमा खटिनुपर्छ।
खनाल खाना दानाका लागि सार्वजनिक विश्लेषक हुन्। खाद्य ऐनअनुसार उनले गुणस्तर परीक्षणमा हस्ताक्षर गर्ने अधिकारी पनि हुन्। तर, परीक्षण गर्न सहयोगी नुहुँदा उनलाई भन्सार वा प्रहरीबाट प्राप्त सामग्रीको परीक्षण एक्लै गर्नुपर्छ। उनले भने, ‘सही कुरा गर्दा प्रयोगशाला पूर्ण क्षमताका साथ सञ्चालन हुन सकेको छैन तर, अत्यावश्यक परीक्षण भने रोकेका छैनौँ।’
निर्देशिका अनुसार प्रशोधित पिउने पानी उद्योगहरूले महिनामा कम्तीमा एक पटक मान्यताप्राप्त प्रयोगशाला बाट पानीको विश्लेषण गराउनुपर्ने र अझ प्रत्येक चार महिनामा एक पटक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यस मातहतका कार्यालय बाट त्यस्तो विश्लेषण गराउनुपर्ने हुन्छ। तर, कर्मचारी अभावका कारण धनुषाको जनकपुरधाम र वरपर रहेका बोतल र जार दुवैमा प्रशोधित पानी उत्पादन गर्ने वा जारमा मात्र प्रशोधित पानी उत्पादन गर्ने २१ वटा उद्योगमध्ये अधिकांशले त्यसो गराएको पाइँदैन।
जिल्लाका उद्योगहरूले सामान्यतया एक लिटरको बोतल र २० लिटरको जारमा प्रशोधित पानी उत्पादन गर्ने गर्छन्। ‘जिल्लाका उद्योगहरूमध्ये धेरैजसोमा बाह्य वातावरणको अवस्था बाहेक भौतिक पूर्वाधार तथा सुविधा उपलब्ध छैनन्’, जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायी सङ्घका अध्यक्ष सञ्जयकुमार झाले भने। उनका अनुसार केही उद्योग त अझै प्रदूषित स्थल वरपर नै छन्। ती उद्योगहरूले प्रशोधित पानीमा पुनःसंक्रमणको सम्भावित जोखिमबाट सुरक्षित हुन प्लान्ट स्थल सुधार वा स्थानान्तरण गर्ने सुरसार गरेका छैनन्।
तर, खाद्य निरीक्षक तिवारीले भने जिल्लाका उद्योगहरूमा प्रशोधित पानी भर्ने, सफा गर्ने र बिर्को लगाउने काम भने स्वचालित मेसिनबाटै भइरहेको बताए। उनले भने, ‘बोतलमा बिक्री वितरण हुने प्रशोधित पानी उत्पादन प्रक्रियाका लागि स्वचालित मेसिन नै प्रयोग हुन्छ। तर, जारको पानीका लागि यस्तो चाहिँ हुँदैन।’
बजारमा उपलब्ध बहुसङ्ख्यक ब्रान्डका प्रशोधित पानी बोतल र जारमा लेबल नटाँसिने वा टाँसिए पनि अक्षरहरू स्पष्ट नरहने समस्या रहेको खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालयकै कर्मचारीहरू बताउँछन्। खाद्य अनुसन्धान अधिकारी रुत्नकान्त झाले ब्याच नम्बर, लट नम्बर, उत्पादन मिति, म्याद गुज्रिने मिति, मोल आदि उल्लेख हुनुपर्ने लेबल नलगाउने र लगाए पनि प्रस्ट नरहने समस्या देखिएको बताए। कार्यालयले पोहोर साल जनकपुरधाम–१६ स्थित गंगाजल पानी उद्योगलाई मापदण्ड नअपनाएको भनी कारबाही समेत गरेको थियो। त्यसका बाबजुद पनि उद्योगहरूले सरकारी मापदण्ड पछ्याएका छैनन्।
घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र लिएर मात्र प्रशोधित पिउने पानी उत्पादन गर्न सक्ने व्यवस्था छ। यी व्यवस्थासहितको निर्देशिकामा उद्योगका हकमा बाह्य वातावरणको अवस्था, भौतिक पूर्वाधार तथा सुविधा, कामदारहरूको व्यक्तिगत सरसफाइ, प्रयोगशालाको व्यवस्था तथा गुण नियन्त्रण प्रक्रिया, मेसिनरी तथा उपकरण, प्याकेजिङ्ग सामग्री, लेबल, अभिलेख व्यवस्थापन आदि उल्लेख छ।
‘मापदण्डअनुसार यहाँ थोरै मात्र उद्योग सञ्चालित छन्’, गुरु ड्रिकिंङ्ग वाटरका सञ्चालक विक्रम मण्डलले भने, ‘घर परिवारकै सीमित सदस्यले बोतल सफा गर्ने, पानी भर्ने, बिर्को लगाउने र बजारसम्म पुर्याउने प्रशोधित पानी उद्योग सञ्चालन भइरहँदा गुणस्तरको अपेक्षा गर्न सकिन्न।’ उनले बोतलको पानी नै शुद्ध नभएका बेला जारको पानी प्रशोधित भएको अनुमान गर्न निकै कठिन भएको बताए। मण्डलकै कुरामा सही थाप्दै जनकपुरधाम प्रशोधित पानी उद्योगका अध्यक्ष झाले अनुगमन र गुणस्तर परीक्षण नै नहुँदा प्रशोधित पानी उत्पादन गर्ने प्लान्टमा पूर्वाधार भएको वा जडान गरिएका उपकरणको प्रयोग भइरहेको भन्नु मूर्खतापूर्ण हुने टिप्पणी गरे। उनले अधिकांश पानी प्लान्ट एउटा ठुलो कोठामा सञ्चालन भइरहेको बताए।
मापदण्डमा प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ्ग गर्ने सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष तथा प्रयोगशालाका लागि उद्योगले छुट्टा छुट्टै स्थानको व्यवस्था गर्नुपर्ने लेखिएको छ। ‘पानीको स्रोत नै दूषित ठाउँमा रहेको उद्योगमा प्रयोगशाला रहने अवस्था नै रहँदैन’, झाको भनाइ छ।
खाद्य निरीक्षक तिवारीले अनुगमनमा जाँदा उद्योगीहरूले मेसिन भर्खरै बिग्रेको र मर्मतका लागि पारि(भारत) पठाएको बताउने गरेको जानकारी दिए। ‘यसले पनि पानीको गुणस्तरमा शंका ागर्ने ठाउँ रहन्छ। तर, हामीसँग अनुगमन गर्ने पर्याप्त जनशक्ति छैन’, उनले भने। अनौठो कुरा छ भने प्रशोधित पानीको नाउँमा बिक्री वितरण हुने अप्रशोधित पानीमा फोहोर मैला र मरेका कीरा फटयांग्रा देखिने, लेउ लाग्ने, रंग फेरिने, गन्हाउने जस्ता अनेक समस्या रहेको उपभोक्ताहरूले दाबी गर्दै आए पनि खाद्य तथा गुण नियन्त्रण कार्यालयमा तीन वर्षयता एउटा पनि उजुरी परेको छैन।
पानीमा अस्वस्थ प्रतिस्पर्धा, उपभोक्ता मारमा
जनकपुरधाममा उत्पादित बालाजी ब्रान्डको प्रशोधित पानीको प्रति कार्टुन दुई सय १० रुपैयाँ पर्छ। अर्को सियाजी ब्रान्डको पानी प्रतिकार्टुन एक सय ३० पर्छ। त्यस्तै गुरु ब्रान्डको प्रशोधित पानी एक सय १५ मा प्रतिकार्टुन पाइन्छ। यो थोक मूल्य हो। एक–एक लिटर पानीका १२ वटा बोतल एक कार्टुनभित्र हुन्छ ।
‘सुरुमा हामीले एक कार्टुनको पानीको मोल एक सय ३० रुपैयाँ राखेका थियौँ। तर, अन्य उद्योगहरूले यसको दाम घटाए हामीले पनि मूल्य कम गर्न बाध्य भयौँ। जबकि एक कार्टुन पानी उत्पादन गर्न कम्तीमा एक सय १० देखि एक सय १५ रुपैयाँ पर्छ’, गुरु ड्रिकिङ्ग वाटरका मण्डलले भने।
बालाजीको जारको पानी मूल्य अभिवृद्धि करसहित प्रति जार ६० रुपैयाँमा किन्नुपर्ने हुन्छ। त्यहाँ अन्य उद्योगहरूका पानी प्रतिजार ३० रुपैयाँमा किन्न सकिन्छ। अझ राम्रा मानिएका उद्योगहरूको जारलाई केही उद्योगले आफ्ना लेबल नटाँसी पानी बिक्री वितरण गर्ने गर्छन्।
मापदण्ड विपरीतका उद्योगहरूले प्रशोधित पानीको मूल्य सस्तो बनाएपछि बेली ब्रान्डको पानी उत्पादन बन्द भएको छ। किन्ले, एक्वाफेना, पतञ्जलिको दिव्य जल जस्ता ब्रान्डलाई पनि प्रतिस्पर्धा गर्न हम्मे परिरहेको छ।
कुनै पनि उद्योगबाट उत्पादित सामग्रीमा खरिद मूल्यको २० प्रतिशत थपेर खुद्रामा बिक्री गर्न पाइने प्रावधान छ। तर, प्रशोधित पानी बिक्री वितरण गर्ने किराना पसल, रेस्टुरेन्टहरूमा भने शतप्रतिशत भन्दा बढी नाफा लिएर पानीको बोतल बेच्ने गरिएको छ। जनकपुरधाम बजारमा प्रतिलिटर पानी बोतल २० रुपैयाँदेखि ३० रुपैयाँ सम्ममा पाइन्छ ।
उद्योगीहरूबिच हुने अस्वस्थ प्रतिस्पर्धाकै कारण पानी बोतलको लेबलमा नै मूल्य टाँस गर्दा उद्योगले अधिकतम खुद्रा मूल्यमै शतप्रतिशत नाफा दिने गरी रकम उल्लेख गर्ने गर्छन् ।
भदौ १०, २०७८ बिहीबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।