ढाकाको स्क्रिन प्लेमा छानियो किरण पोखरेलको ‘पुतलीको सपना’
यसै वर्ष सुरु भएको ल्याबमा ११ फिल्मको स्क्रिप्ट छानिँदा नेपालबाट किरण पोखरेलको स्क्रिप्ट ‘पुतलीको सपना’ छानिएको हो। छानिएका फिल्महरूलाई ल्याबले मेन्टरसिप प्रदान गर्नेछ।
फेस्टिभलले मेन्टरसिप पाएका ११ फिल्ममध्ये पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुने फिल्मलाई २ हजार अमेरिकी डलर पुरस्कार स्वरूप स्क्रिप्ट डेभलेपमेन्टका लागि प्रदान गर्नेछ।
त्यस्तै ढाका फेस्टिभलको ‘फिल्महट’ कार्यक्रमअन्तर्गत संसार भरबाट उपस्थित भएका वितरक तथा फिल्म निर्माताहरुबीच फिल्म प्रोजेक्टको अवधारण प्रस्तुत गर्ने अवसर दिनेछ।
नेपालबाट छानिएको फिचर फिल्म ‘पुतलीको सपना’ आफ्नो लैङ्गिक परिचयका लागि आफैभित्र सङ्घर्ष गर्दागर्दै तत्कालीन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगको किशोरीको कथा हो।
फिल्म स्टडिजमा स्नातक गरेका लेखक, निर्देशक पोखरेलले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न फिल्म, डकुमेन्ट्री, रियालिटी सो लगायतमा लेखन, निर्देशन तथा निर्माण गरिसकेका छन्। उनको सर्ट फिल्म ‘मानुषी’ले एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल २०१३ मा उत्कृष्ट फिल्म, त्यस्तै अर्को सर्ट फिल्म ‘विङ्गस’ले कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा वितरण गरिएको नेस्प्रेस्सो ट्यालेन्ट २०१८ मा उत्कृष्ट फिल्मको पुरस्कार पाएको थियो।
लेखन प्रक्रियामै रहेको यस फिल्मको निर्माता रेजनेटिङ्ग पिक्चर्स मार्फत सुशान्त श्रेष्ठ हुन्।
त्यस्तै निर्माता सुशान्तले दक्षिण कोरियाको एसियन फिल्म स्कुल (फिस), बुसानअन्तर्गत निर्माताको ६ महिने कोर्समा पनि ‘पुतलीको सपना’ माथि काम गरिरहेका छन्।
त्यस्तै निर्देशक किरण र निर्माता सुशान्तले अर्को एक सर्ट फिल्मको पनि तयारी गरिरहेका छन्। सो स्क्रिन प्ले ल्याबमा बङ्गलादेशबाट ५, भारतबाट २, नेपाल, श्रीलङ्का, अफगानिस्तान र भुटानबाट एक एक फिल्म छानिएको छ।
भदौ ९, २०७८ बुधबार १६:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।