दाइजो प्रथा विरुद्ध जुरमुराउँदै मुस्लिम युवा
सुनसरी : दाइजो (दहेज) प्रथाले मुस्लिम समुदायलाई गाँज्दै लगेपछि मुस्लिम समुदायकै युवाहरू दहेज विरुद्ध जुरमुराउन थालेका छन्।
मधेसी समुदायको पर्याय जस्तै बनेको दाइजोले छोरी प्रति वितृष्णा बढाउँदै लगेपछि मुस्लिम युवाहरू यो प्रथाको विरुद्धमा जुरमुराउन थालेका हुन्। मधेसमा पर संस्कृति ग्रहणको शृङ्खलाले मुस्लिम समुदाय प्रभावित भएका छन्।
सुनसरी मुस्लिम समाज नामक संस्थाको माध्यम बाट युवाहरूले दाइजो विरुद्धमा अभियान सुरु गरेका छन्। सुनसरीको दुहबी नगरपालिका– ९ का मजबुल मिया अध्यक्ष रहेको संस्थाले सुनसरीका मुस्लिम युवालाई अभियानमा जोडेको छ। दाइजोको कारण छोरीहरू पढ्न नपाउने र हिंसाको सिकार हुने क्रम बढेपछि आफूहरू यो अभियानमा लागेको उनले बताए।
मुस्लिम समुदायमा विवाह गर्दा उल्टै छोरीलाई सम्पत्ति दिनुपर्ने संस्कार भए पनि पछिल्लो समय छोरीका बाबु आमाले ऋण गरेर भए पनि दाइजो दिने चलन बढेको उनी बताउँछन्। ‘बिहे गर्ने केटाले केटीलाई उसले भने जति सम्पत्ति दिने हाम्रो पुरानो चलन हो, त्यसलाई हाम्रो भाषामा देहेन मेहर भनिन्छ।’, उनले भने ‘हाम्रो संस्कारमा केटी राजी भए पछि मात्र बिहे गर्न मिल्छ, तर अहिले त्यो चलन हराउँदै दाइजोको चलन बढ्दै गएपछि पछिल्लो समय छोरीको बिहे नै नहुने भन्ने चिन्ताले अभिभावकलाई सताउने गरेको मिया बताउँछन्।
गाउँमा दाइजोका कारण सिर्जित धेरै घटना देखे पछि छोरी पढाउने र छोरीको बिहेमा सहयोग गर्ने अभियान सुरु गरेको उनले सुनाए। अभियानकै क्रममा उनीहरूले दुहबी– ९ मा फलैँचा बनाएका छन्। त्यही फलैँचामा हरेक हप्ता समाजको समस्याको बारेमा छलफल हुन्छ।
दाइजोको समस्या जटिल बन्दै गएपछि अभियानमा लागिपरेको संस्थाका सदस्य नयमुद्धीन हुसेन बताउँछन्। हुसेनका अनुसार पहिला साइकल दिए हुने विवाहमा अहिले मोटरसाइकल र लाखौँ नगदमा बार्गेनिङ हुन थालेको छ।
गाउँ भरका युवाहरूलाई भेला पारेर दहेज बिना नै बिहे गर्ने प्रतिबद्धता समेत संस्थाले गराउने गरेको संस्थाका सदस्य महम्मद सामुद्धीनले बताए। संस्थाले पढ्न नपाएका छोरीहरूलाई पढाई खर्च उपलब्ध गराउने गरेको सदस्य आलम असलम हुसेले जानकारी दिए।
‘किताब किन्न समेत पैसा नहुनेले कसरी पढाउन र दाइजो दिएर विवाह गर्न सक्छन्?’ अध्यक्ष मियाले भने, ‘छोरी जन्मिए पछि दाइजो दिनुपर्ने र पढाउन खर्च समेत गर्नुपर्ने भएपछि अभिभावकले झन्झट मान्ने गरेका छन्।’
सोही गाउँकी सावित्री खातुन दाइजो विरुद्धको अभियानमा सक्रिय छिन्। तीन छोराकी आमा उनले सबै छोराको दाइजो बिनै विवाह गरिन्। महिला हिंसा विरुद्ध अभियानमा लागेकी सावित्री गलत सामाजिक बुझाइको कारण दाइजो प्रथा फस्टाएको बताउँछिन्। दाइजोकै कारण छोरा नजन्मिएको भन्दै सम्बन्ध विच्छेद भएका घटना समेत रहेको उनले बताइन्।
दुहबीकै युवा सञ्जालले पनि दाइजो तथा बाल विवाह विरुद्धको अभियान सुरु गरेको अभियन्ता मालती पासवानले बताइन्। सञ्जालले ४० वटा सम्भावित बालविवाह रोकेको उनले जानकारी दिइन्। आफ्नै दिदीको विवाह समेत उमेर नपुगी गर्न नहुने भन्दै रोकेकी उनले समाजमा बालविवाह र दाइजोका घटनाको विरुद्धमा आवाज उठाइरहेकी छिन्।
महिला हिंसाको सुरुवातनै दाइजो रहेको उनको विश्वास छ । जति सानो उमेरमा विवाह गर्यो त्यति नै कम दाइजो लाग्ने सामाजिक विश्वास रहेका कारण बाल विवाह बढेको उनको बुझाइ छ।
भदौ ९, २०७८ बुधबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।