निर्वाचन समितिमा अझै पुगेन क्रियाशील सदस्यता : अनिश्चित बन्दै कांग्रेसको वडा अधिवेशन

निर्वाचन समितिमा अझै पुगेन क्रियाशील सदस्यता  : अनिश्चित बन्दै कांग्रेसको वडा अधिवेशन

काठमाडौँ : नेपाली काँग्रेसको वडा अधिवेशन आउन ९ दिन मात्र बाँकी रहँदा पनि पार्टी केन्द्रीय समितिले क्रियाशील सदस्यको नामावली निर्वाचन समितिलाई बुझाउन सकेको छैन।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच क्रियाशील सदस्यताको सम्बन्धमा सहमति भए पनि सूची तयार गर्ने काम नसकिएकाले निर्वाचन समितिमा बुधवार सम्म पनि नामावली पुग्न नसकेको हो। वडा अधिवेशनको मतदाता नामावलीको रूपमा रहने क्रियाशील सदस्य को नामावली प्राप्त नहुँदा निर्वाचन समितिले आवश्यक काम अघि बढाउन नसकेको समितिका संयोजक महेन्द्र यादवले बताए।

समयमा मतदाता नामावली प्राप्त नभएपछि देश भरका सबै वडामा एकै दिन अधिवेशन गर्न कठिन हुने यादव बताउँछन्। हिमाली जिल्लामा तोकिएको मितिमा अधिवेशन गर्न कठिन हुने यादवको अनुमान छ। ‘अहिले सम्म हामीलाई क्रियाशील सदस्यता प्राप्त भएको छैन।’, यादवले उकेरासँग भने, ‘सदरमुकाम बाट ५ दिन लाग्ने ठाउँमा कसरी मतदाता नामावली पठाउन सकिन्छ।’ 

निर्वाचन समितिले क्रियाशील सदस्यता प्राप्त भएको मितिले १९ दिनमा वडाको अधिवेशन गर्न सकिने गरी मिति तय गर्न प्रस्ताव गरेको थियो। समितिले मागे भन्दा ४ दिन कम समय हुने गरी भदौ ३ गते सदस्यको नामावली समितिलाई दिने गरी पार्टी केन्द्रीय समिति बैठकले कार्य सूची तय गरे पनि सदस्यता सम्बन्धी विवाद समयमा मिलाउन नसक्दा निर्वाचन समितिले नामावली पाउन नसकेको हो।

‘महामन्त्री पूर्णबहादुर खड्काले आज केही जिल्लाको सदस्यको नामावली उपलब्ध गराउने बचन दिनु भएको छ।’, संयोजक यादवले भने, ‘आज हिमाली जिल्लाको नामावली प्राप्त भयो भने फास्ट ट्र्याकबाट काम गर्दा सम्भव हुन्छ की?’ समयमा सदस्यता को विवरण प्राप्त नहुँदा निर्धारित मितिमा वडा अधिवेशन गर्न सकिनेमा संयोजक यादव नै ढुक्क छैनन्। 

पार्टीका सबै तहका नेता कार्यकर्ताको सहयोग भएमा सम्भव हुन्छ की भन्ने उनको अपेक्षा छ।  एकै दिन सम्भव नभएमा दुई चरणमा गर्ने की भन्ने उनको सोच छ।

सदस्यता नामावली सँगै आरक्षण कोटामा चुनाव लड्नेहरूका लागि जनसङ्ख्याको विवरण पनि उपलब्ध भएको छैन। पार्टी केन्द्रीय समितिले महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई त्यसको जिम्मा दिएको छ। रिजालले क्रियाशील विवाद मिलाउन लामो समय खर्च गर्नु परेकाले त्यता ध्यान दिन पाएका छैनन्।

निर्वाचन समितिले जिल्लामा पठाउने मतदान अधिकृत तय गरे पनि नाम सार्वजनिक गरेको छैन। प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह र वडाको निर्वाचन अधिकृत र समिति अझै तय गरिएको छैन।

‘कामको स्प्रीट हेर्दा भदौ १८ गते वडाको अधिवेशन सम्भव हुने देखिँदैन।’, एक केन्द्रीय सदस्य भन्छन्, ‘निर्वाचन समितिले नामावली नपाउँदासम्म ढुक्क भएर तोकिएको मितिमा अधिवेशन हुन्छ भन्न सकिन्न।’ 

ती केन्द्रीय सदस्य जस्तै पार्टीका कार्यकर्ता पनि तोकिएको मितिमा वडा अधिवेशन हुनेमा सशङ्कित देखिन्छन्। जिल्ला सभापतिहरू सदस्यको नामावली सार्वजनिक गरेर त्यसमा देखिएको त्रुटि सच्याउन समय माग्दै धर्नामा छन्। सभापतिहरूले मागेको त्रुटि सच्याउने समय दिने हो भने निर्वाचन समितिमा आज पनि नामावली उपलब्ध हुँदैन। आज पनि नामावली उपलब्ध नभए अधिवेशन सम्भव नहुने निर्वाचन समितिले जनाएको छ।  

 

भदौ ९, २०७८ बुधबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।