धरान बजारमा सडक बिस्तार गर्न समस्या
बाइपास गर्ने कि बजारबाटै सडक बिस्तार गर्ने भन्ने विषय मा विवाद भएपछि झनै समस्या बढेको हो।
सडक आयोजनाले धरानको मुख्य बजार क्षेत्रमा दुवै तर्फ केन्द्रबाट १५÷१५ मिटर चौडाइ खाली गराइदिन धरान उपमहानगरपालिकालाई पत्राचार गरेको छ। आयोजनाले साउन ११ गते पत्राचार गर्दै सडकको दुवैतर्फ १५÷१५ मिटर अर्थात् कुल ३० मिटर चौडाइको सडक खाली गराइदिन अनुरोध गरेको हो।
यसअघि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र इटहरी उपमहानगरपालिका भित्र सोही मापदण्ड लागु भएकोले त्यसै अनुसार अगाडी बढ्न आयोजनाले अनुरोध गरेको छ।
योजना प्रमुख बद्रीप्रसाद शर्माले सेड ब्याक सहित सडकको क्षेत्र ६२ मिटरको भए पनि तत्काल ३० मिटर मात्र बिस्तार गरिने जानकारी दिएका छन्। हाललाई ३० मिटर कायम गर्न सके पर्याप्त हुने उनको तर्क छ।
हाल कोसी राजमार्ग धरान बजार क्षेत्रमा १५ मिटर मात्र कायम छ। मापदण्ड अनुसार ६२ मिटर नै कायम गराउँदा धेरै भौतिक संरचना क्षति हुने भएकाले सडक क्षेत्र घटाउने प्रयास थालिएको हो।
मुख्य बजार क्षेत्रका २ हजार बढी घर भत्काउनु पर्ने भएकोले स्थानीय सरकार देखी सरोकारवाला निकाय सडक साँघुरो पार्न लागि परेका छन्।
मापदण्ड अनुसार सडक केन्द्रबाट दुवैतर्फ २५÷२५ मिटर सडक हुनेछ भने सेड ब्याक थप ६÷६ मिटर हुने व्यवस्था छ। सडक योजनाले भने अनुसार थप १५ मिटर चौडाइ खाली गराउँदा पनि सडक छेउका अधिकांश घर भत्किने सम्भावना छ।
२०७२ साल सम्म धरान उपमहानगरपालिकाले ५० फिट अर्थात् १५ मिटर मापदण्ड अनुसार घर नक्सा निर्माणको इजाजत दिएको पाइन्छ। भौतिक पूर्वाधार मन्त्रालयले २०७२ सालमा राजमार्ग मापदण्ड अनुसार मात्र घर निर्माणको नक्सा पास गर्न निर्देशन दिएपछि १०५ फिटमा मात्र इजाजत दिने गरिएको छ।
धरान उपमहानगरपालिकाका योजना तथा इन्जिनियरिङ महाशाखा प्रमुख इन्जिनियर सुरज श्रेष्ठका अनुसार सडक बिस्तारको क्रममा अहिले नै कोसी राजमार्गको मापदण्ड सुनिश्चित गरेर मात्र खाली गराउनु पर्ने देखिएको छ। त्यसो नगरे पुनः सडक बिस्तारको नाममा घर भत्काउनु पर्ने हुनसक्ने उनले बताए।
स्थानीय सरकारको चासो
सडक बिस्तारको क्रममा बाइपास निर्माण गर्ने विषयको बहस चले सँगै राजनीतिक खेल सुरु भयो। धरान –१५ सेउती बगरबाट राजमार्ग बाइपास गर्ने मुद्दा सतहमा आएपछि धराने जनता विरोधमा उत्रिए।
सुकुम्वासी अगुवाहरूले आफूहरू लाई बिचल्लीमा पार्न खोजेको भन्दै आन्दोलन गरे। राजमार्ग आसपासका बासिन्दाले धरानको चिनारी मेटाउने प्रयत्न भएको भन्दै विरोध जनाए। पछि दोस्रो चरणको स्थानीय निर्वाचनमा सडकको क्षेत्र घटाउने र बाइपास गर्ने विषयले प्राथमिकता पायो।
१०५ फिट चौडाइको राजमार्ग विस्तार हुँदा बजारका सबै उठिबास हुने भएकोले बाइपास गर्नुपर्ने माग उठ्यो। सोही अनुसार तत्कालीन कार्यवाहक मेयर तथा हालकी उपमेयर मञ्जु भण्डारीले बाइपास गर्नेबारे अध्ययन गर्ने जानकारी गराइन्। पछि सकुम्बासीको तीव्र विरोध पछि त्यो विषय प्रक्रियामै पुग्न सकेन।
धरान नगर कार्यपालिकाले ८० फिट मापदण्ड कायम गराउन सङ्घीय सरकारसँग पहल गर्ने निर्णय समेत गर्यो। आयोजनाको १०० फिट खाली गराउने पत्र पछि जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू ८० फिट मापदण्ड कायम गराउन दौडधुपमा लागेका छन्।
राजनीतिक दलहरूको छलफलले ८० फिट नै कायम गराउने सहमति गरेको छ। सोही अनुसार धरानका मेयर तिलक राईको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै सडक क्षेत्र घटाउन आग्रह गरे। धेरै भौतिक संरचना क्षति हुने भएकोले विकल्प खोज्न आग्रह गर्दै विभिन्न मन्त्रालयमा उनीहरूले जानकारी गराए। सुकुम्वासी समस्या समाधान गर्ने गरी बाइपास गर्न सकेमा धेरै सहज हुने जानकारी गराएको मेयर राईले बताए।
अन्यत्र पनि समस्या
सडक साँघुरो बनाउने विषय धरानको मात्र हैन। ६ लेन सडक बिस्तारको क्रममा मुख्य बजार क्षेत्र बाधक बनेका छन्। विराटनगर देखी नै सडकको मापदण्ड विपरीत निर्माण कार्य अगाडी बढ्दै आएको छ। विराटनगरमा पनि २५ मिटरको सडकलाई साँघुरो पारेर १५ मिटरमा निर्माण गरिएको छ।
त्यसपछि दुहबी बजार क्षेत्रमा ‘बिल्टफ एरिया’ भन्दै स्थानीयले सडक बिस्तारमा रोक लगाएका छन्। दुहबीको उत्तरमा पर्ने सोनापुर देखी खनारसम्म खोलाको क्षेत्रमा सडक बनाउनुपर्ने भएकोले बाइपासको समस्या देखिएको छ। इटहरीको मुख्य चोकमै सर्वोच्च अदालतको आदेशका कारण निर्माण कार्य रोकिएको छ। रानी देखी धरानसम्मका प्रमुख बजारहरू मा सडक क्षेत्र बिस्तारमा धेरै समस्या भएको आयोजनाका इन्जिनियर शर्माको भनाई छ।
भदौ ८, २०७८ मंगलबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।