टुङ्गियो कांग्रेसको क्रियाशील सदस्यता बिवाद
भदौ २ गते भित्र क्रियाशील सदस्यता विवाद समाधान गर्ने गरी साउन ३० गते केन्द्रीय समितिको बैठकबाट जिम्मेवारी पाएको कार्यदलले सोमवार बेलुकी पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाएको हो।
कार्यदलले प्रतिवेदन बुझाइसकेकाले अब कार्यान्वयनको काम क्रियाशील सदस्यता छानबिन समितिले गर्ने कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले उकेरालाई बताए। सदस्यता विवाद समाधान भएकाले अब कार्यतालिका अनुसार महाधिवेशनको गतिविधि अघि बढ्ने उनले जानकारी दिए।
रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता विवाद छानबिन समितिले अन्य जिल्लाको विवाद समाधान गरे पनि बारा, सप्तरी, धनुषा, सर्लाही लगायत जिल्लाको समस्या समाधान हुन सकेको थिएन। छानबिन समितिले टुङ्ग्याउन नसकेको बाँकी समस्या समाधान गर्ने गरी केन्द्रीय समिति बैठकले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य द्वय डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो।
वडा अधिवेशनका मतदाता रहने क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी विवाद टुङ्गिएसँगै कांग्रेसको १४औँ महाधिवेशनको ढोका खुलेको छ। कांग्रेसले भदौ १८ गते वडा तहको अधिवेशन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको छ। कार्य तालिका अनुसार गाउँ र नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रको अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्र तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गतेलाई तोकेको छ।
कात्तिक १० देखि १२ गते प्रदेश अधिवेशन तोकेको कांग्रेसले मङ्सिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
भदौ ८, २०७८ मंगलबार ०७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।