गाउँमा रोजगारी नभएपछि भारत पलायन हुँदै युवा जनशक्ति

गाउँमा रोजगारी नभएपछि भारत पलायन हुँदै युवा जनशक्ति
रोजगारीका लागि भारत जान लागेका कर्णालीका युवा

कोरोनाकै कारण उनले महिनामा २० हजार रुपैयाँ कमाउँदै आएको रोजगारी गुमाउनु पर्यो।  रोजगारी गुमाएपछि स्वदेशमा नै केही गर्ने जोस र जाँगरका साथ उनी नेपाल फर्के।

नमन गाउँमा फर्केको पनि  ६ महिना भइसक्यो। अहिले उनलाई जहान परिवार पाल्नै मुस्किल परेको छ। घरको जेठो छोरा भएकोले पनि उनलाई घरको धेरै जिम्मेवारी छ।

यसरी नै बेरोजगार भएपछि भाइ बहिनी र आमा बुवालाई कसरी पाल्ने होला भन्ने चिन्ताले नमनलाई रातदिन पिरोल्ने गर्छ। अब यहाँ काम नपाए पछि उनी फेरी भारत जान गाडी भाडा खोजी रहेका छन्।

‘भारतको गुजरातमा होटेल लाइनमा काम गर्थेँ, त्यहाँबाट कमाएको पैसाले  भाइ बहिनी र बुवा आमालाई खुसी दिन सकेको थिएँ, कोरोनाले गर्दा रोजगारी गुम्यो।’, उनले भने, ‘ठिक छ यहाँ रोजगारी गुमे पनि स्वदेशमा पनि होटेल छन्, त्यहीँ काम गरौँला भनेर आएँ तर यहाँ काम पाउनै मुस्किल छ, अब भारत तिरै जान गाडी भाडा खोजिरहेको छु।’

आफूसँग भएको सिप स्वदेशमा नै सदुपयोग गर्न चाहेका नमन अहिले कामका लागि विभिन्न ठाउँमा धाउँदा पनि काम पाउन सकेका छैनन्।

कालिकोटको रास्कोट नगरपालिकाका भीमबहादुर वि.क. अहिले स्वदेशमै रोजगारीको खोजीमा छन्। विगतमा उनको पनि आय आर्जनको मुख्य स्रोत भनेकै भारत हो।

कोरोनाका कारण गाउँ फर्केका उनी  अहिले बस्तुभाउको गोठाला गएर दिन कटाइरहेका छन्।

‘म भारत जान थालेको पनि ८-९ वर्ष भयो, भारत गएर नै मेरो रोजीरोटी चल्थ्यो, अहिले गाउँमा बेरोजगार छु त्यसैले हल गोरु र एक गाई चराउँछु।’, उनले भने, ‘केही दिन त मुख्यमन्त्री रोजगार कार्यक्रमबाट पनि काम गरेँ त्यसबाट जम्मा  चार-पाँच हजार कमाई भयो।’

सुर्खेतका रमन बादी बेरोजगार भएकै कारण मानसिक तनावमा छन्। भारतबाट ल्याएको कमाइले केही महिना धाने पनि अहिले घरमा चामल खाने पैसा समेत नभएको उनले गुनासो गरे।

‘अलि अलि ल्याएको पैसाले केही महिना त धान्यो तर, अहिले त भोकै मरिएला भन्ने चिन्ताले सताएको छ।’, उनले भने, ‘झन् तिज नजिकै आइरहेको छ, छोराछोरीले पनि राम्रा कपडा र खानेकुरा भनेर सताउन थालेका छन्, यतै केही काम  गरौँ भने कतै पनि पाइँदैन।’

भरतबाट गाउँ फर्किएका कालिकोट नरहरिनाथ –३ का बिरु वि.क. गाउँमा रोजगारी नपाएपछि पुनः भारत जान थालेका छन्।

सात जनाको परिवार पाल्नुपर्ने उनलाई बाध्यता छ तर, यहाँ बेरोजगार भएर उनले पाल्न नसक्ने भएपछि भारत तिरै जान थालेको उनले बताए।

नमन, भीम र बिरु त प्रतिनिधि पात्र हुन्, गाउँमा रोजगारीको पर्खाइमा हजारौँ युवाहरू छन्।

कतिपय युवाहरू त स्वदेशमा रोजगारी नपाएपछि पुनः भारत तिरै हानिएका छन्।

कोरोना भाइरस कोभिड -१९ बाट प्रभावित भएका र भारतबाट फर्केका नागरिकका लागि नगरपालिका भित्र हुने विकास निर्माणका काममा मेसिनरी साधन नलगाई व्यक्तिको श्रमबाटै बाटै काम गर्ने नीति तथा कार्यक्रम ल्याएको वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख मोहनमाया ढकालले बताइन्। 

‘हामीले सानातिना योजनामा  मेसिनको प्रयोग बन्द गराएका छौँ, त्यस्ता काममा बेरोजगार युवाहरूलाई काम दिन्छौँ।’, उनले भनिन्, ‘बेरोजगार युवाका लागि उद्यमशीलता सम्बन्धी विभिन्न सिप  समेत सिकाउने नीति तथा कार्यक्रममा उल्लेख गरेका छौँ।’

कोभिडबाट प्रभावित भएका र रोजगारी गुमाएका युवाहरूका लागि प्रदेशबाट सहुलियतमा अनुदान दिने कार्यविधि तयार हुन लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मुनबहादुर रावतले जानकारी दिए।

‘पछिल्लो समय कोरोनाकै कारण उद्योग बन्द भएका, रोजगारी गुमाएका युवाहरूलाई फोकस गरी कार्यक्रम ल्याउँदै छौँ।’ उनले भने, ‘त्यसबाट प्रभावित युवाहरू समेटिने छन्।’

भदौ ८, २०७८ मंगलबार ०६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।