टिकापुर घटनाको ६ वर्ष : थरुहटले आन्दोलन गरिरहने

टिकापुर घटनाको ६ वर्ष : थरुहटले आन्दोलन गरिरहने

उनले अहिले पनि आफूहरू आन्दोलनमै रहेको बताए। सरकारसँग पटक पटक भएका वार्तामा थरुहटको माग सम्बोधन हुन नसकेको उनको भनाई छ। ‘संविधान बन्दा हाम्रा एजेन्डा र माग सम्बोधन हुन सकेन,’उनले भने,‘अहिले पनि हामी आन्दोलनमा छौँ,न्याय नमिलेसम्म आन्दोलन जारी रहन्छ।’

०७२ सालमा जारी भएको संविधान कपटपूर्ण रहेको थरुहट थारुवान् मोर्चाले आरोप लगाएको छ। ‘संविधानका कुन धारा कसरी व्याख्या गर्नुपर्छ र संशोधन गर्नुपर्छ भनेर जनतालाई प्रशिक्षित गरिरहेका छौँ,’चौधरीले भने,‘हाम्रो आन्दोलनको सुरुवात र अन्त्य शान्तिपूर्ण नै हुन्छ। हाम्रो आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउँछौँ।’

घटनाको ६ वर्ष पुग्दा भदौ ७ र ८ गतेलाई कालो दिनको रूपमा मनाउँदै आएको मोर्चाले लम्कीको भल्का चोकदेखि बलिया चोकसम्म विरोध प्रदर्शन समेत गरेको छ।

टीकापुर मुद्दा खारेज गर्नुपर्ने, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसदसहित बन्दीलाई विना सर्त रिहा गर्नुपर्ने, राज्यका हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नुपर्ने माग मोर्चाले राखेको छ। 

कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गरे। मोर्चाका नेताहरूले अधिकारको लडाइँ जारी राख्ने बताए। 

यस्तो थियो टिकापुर घटना

०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप पछिको हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरीका २ र १ बालक सहित ८ जनाको हत्या भएको थियो। 

घटनामा नेपाल प्रहरीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवलदार रामबिहारी थारु र सहायक हवलदार ललित साउद, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोली लागेर मृत्यु भएको थियो। 

प्रदर्शनकारीहरूले खुर्पा, भाला, बन्चरो, खुकुरी लगायतका घरेलु हतियारहरू प्रहार गरी ८ जनाको हत्या गरेका थिए।

त्यसको भोलिपल्ट भदौ ८ गते कफुर्य आदेश जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनी गरिएको थियो।

त्यस लगत्तै  टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको थियो। टिकापुर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मीहरू परिचालित तनावग्रस्त क्षेत्र सुरक्षाकर्मीहरूको नियन्त्रणमा राखी घटना भएको एक महिनासम्म कर्फ्यु आदेश जारी गरिएको थियो।

भदौ ७, २०७८ सोमबार २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।