हास्य न व्यङ्ग्य : नक्कल त गर्ने तर अक्कल नलगाउने

कमेडियन आदर्श मिश्रको यो भनाइ सुन्नेहरू हाँस्लान् कि गम्भीर होलान्? जुन विषय छ त्यो गम्भीर हुनै पर्ने विषय हो। उनको प्रस्तुतिको शैलीले हाँसो त फुत्काउँछ तर यी शब्दले मनमा चस्स घोच्छ पनि।
पछिल्लो समय हास्य-व्यङ्ग्यको मञ्च बदलिएसँगै पात्रहरू पनि बदलिए। पात्र बदलिनु त के ठुलो कुरा भयो र। सबैभन्दा गजबको विषय शब्द बदलिए। शैली बदलिए। समाजमाथि तिखो व्यङग्यवाण हान्ने मिश्रझैँ युवा पुस्ताको उदय भयो।
हाँस्यव्यङग्य भनेको अनौठो हाउभाउ देखाएर खित्का छुटाउने त हो भन्ने जुन मानक बन्दै गएको थियो ती मानक भत्कँदै गयो। सूचना प्रविधिको भरपुर उपयोग गरे युवा पुस्ताले।
युवा पुस्ता अगाडि बढ्दै छन् तर विडम्बना पुराना पुस्ता जो अझै मञ्चमा जम्न सङ्घर्षमा छन् उनीहरूको शैली भने उस्तै छ। नक्कल गर्ने तर अक्कल नलगाउने। परम्परागत क्यारिकेचर, सस्ता जोक र पट्यारलाग्दो हाउँभाउँमै रमाइरहेका छन् उनीहरू। पञ्च उही, प्रहसनको विषय उस्तै। क्यारिकेचर उही पुरानै, भेषभुषा उही ढर्राको।
नयाँ पुस्ताको हस्तक्षेप भने निरन्तर जारी छ।
नेपग्याजम नामक युट्युब च्यानलमा देखिन्छन् लेखमणि त्रिताल, सिता पौडेल, युकेजी लगायतका युवा कमेडियन। युवा पुस्तामाझ उनीहरूको प्रभाव बलियो देखिन्छ। सामाजिक विकृति विरुद्ध होस् या राजनीतिक गाई जात्रा मजाले प्रहार गर्छन् उनीहरू। सीता न्यौपाने, विशाल गौतम, साजन श्रेष्ठ, प्रनेश गौतम अनि अपूर्व क्षितिज सिंह उदाइरहेका युवा कमेडियन हुन्।
कमेडि च्याम्पियनबाट पनि नयाँ पुस्ता उदाइरहेका छन्। हिमेश पन्त अनी सुमन कोइराला त्यसका उदाहरण हुन्। दोस्रो सिजनमा चलिरहेको कमेडी च्याम्पियनका अन्तिम चरणको प्रतिस्पर्धामा रहेकाहरूको शैलीले देखाउँछ अब टिक्नु छ भने पुरातन शैली नछाडी सुख छैन।
०००
भैरव अर्यालको लेखकीय हाँस्यव्यङग्यपछि ध्रुव हाडा, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी लगायतकाले यो क्षेत्रलाई दृश्यमा ल्याउने काम गरे। सन्तोष पन्तहरू टेलिभिजनको पर्दामा जमे सामाजिक घोचपेचमार्फत।
बिचमा नयाँ कलाकार आए यो क्षेत्रमा। मनोज गजुरेल, कमल गाउँले, शिव शङ्कर, दमन रुपाखेती जस्ता कलाकारहरू देखिए। दीपकराज गिरी समूह 'तीतो सत्य'मार्फत पन्तले सुरु गरेको 'हिजोआजका कुरा'को नयाँ भर्सन बोकेर आए र लोकप्रिय भए।
दम रुपाखेती, सिताराम कट्टेलहरू सामाजिक विषयवस्तु समातेर टेलिभिजनको पर्दामा उत्रिए र लोकप्रिय पनि भए। तर पछिल्लो समय दर्शक बदलिँदै छन्। उनीहरूको छनौट पनि बदलिँदै छ। तर हास्य कलाकारको छनौट भने उस्तै।
यसपालि हास्यव्यङ्ग्यमा सक्रिय कलाकारहरू प्राय सबै नै युट्युबको भरमा परे। उनीहरूले समय अनुकूल प्रविधिको उपयोग त गरे तर उनीहरूको शैली र प्रस्तुतीकरण टोलको डबलीमा देखाइने हास्यव्यङग्यको स्तरभन्दा फरक छैन।
युट्युबलाई नै प्रज्ञा भवन अनि राष्ट्रिय सभा गृह बनाउँदै दिनकै गाईजात्राका सामाग्री पस्कँदै आएका मनोज गजुरेलका कन्टेन्ट र प्रस्तुति उस्तै छ। क्यारेक्टर बदलेर यो वर्ष उनले बोरिस जोनसनदेखि भ्लादिमिर पुटिनहुँदै तालिबान नेतासम्मको भेष बनाएर आफूलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरे। क्यारेक्टर बदलिए पनि कन्टेन्टको स्तर भने उही पाराको छ।
कमेडी च्याम्पियनमा गजबको प्रहार हुँदा उनले भन्ने गरेका छन्'माटो बनायो।' नयाँ पुस्तासँग अन्तर्क्रिया भइरहे पनि गजुरेलले भने हास्य व्यङग्यलाई नै माटो बनाइरहेका छन्। गजबको प्रस्तुतीदिँदा करोड भन्ने गजुरेल आफैले भने करोडको प्रस्तुति दिन सकेका छैनन्।
हास्य कलाकार कमल गाउँलेले कमेडी गाईजात्रे निकाल्न थालेको २१ वर्ष भए पनि उनको प्रस्तुतिको शैलीको खोले भने फर्किएको छैन। यो वर्ष उनले 'बाइ लव यु केपी बा' नामको प्रहसन निकालेका छन् पुरानै ढर्रामा।
चुइँचुइँ पारेर नामको युट्युब च्यानलबाट सार्वजनिक गरिएको 'छताछुल्ल गाई जात्रा-२०७८' नाम दिएको प्रहसनमा दमन रुपाखेती, कमलकान्त मैनाली, सुवास प्रसाद गजुरेल, लक्ष्मण विक्रम बस्नेत, सङ्गम भण्डारी लगायत १९ जना कलाकारले गाई जात्रा गरेका छन्।
पुराना हास्य कलाकार राजकुमार कुँवर र गोविन्द दुलालले पनि गाईजात्रे भिडियो निकालेका छन्। जोगिन्दर पानवाला नामले परिचित शिव शंकरले 'बिरालो बाँधेर' श्राद्ध गरेजस्तै उही पारामा गाईजात्रे भिडियो बनाएका छन्। 'बकम्फुस्साय नमः' नाम दिएर बकम्फुसे गाई जात्रा भिडियो निकालेका छन्।
'कमेडीपन पुराना भएका हैनन्, समय नयाँ भएको हो'
हास्य कलाकार दीपकराज गिरी नयाँ पुस्ताको कमेडीलाई खासै नौलो तरिकाले हेर्दैनन्। उनले भने,' यो सबै समयको खेल हो। हाम्रा बाजेको पालाको कमेडी फरक थियो, बाको पालामा फरक भयो, मेरो पालो छुट्टै थियो. अहिले नयाँ पुस्ताले नयाँ ट्रेन्ड ल्याएको छ।'
१० वर्ष अघिको फिल्म अहिले हेर्दा त्यो समयमा सुपर हिट भए पनि अहिले नराम्रो लाग्नसक्ने भन्दै कमेडी पनि त्यस्तै भएको र नयाँ विकसित भर्सनसँगै पुरानो कन्टेन्ट नराम्रो लाग्न थालेको उनको दाबी छ।
यसलाई पुराना पुस्तालाई नयाँ पुस्ताले जितेको भन्न नमिल्ने गिरीको भनाई छ। उनले भने, 'यो कुनै खेल हैन, न त चुनाव नै। त्यसैले यसलाई पुस्ताले जितेको भन्न मिल्दैन।'
दीपक पुराना पुस्ताले पनि केही नयाँ गर्न खोजेको र नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्ने चक्करमा उनीहरू राजनीतिक विषयमा व्यङ्ग्य गर्ने र शारीरिक हाउभाउमा ध्यान दिने भएको गिरीको भनाई छ।
भदौ ७, २०७८ सोमबार १९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।