बराह तालमा पानी भरिन थालेपछि स्थानीय हर्षित
सुर्खेत : बराह ताल गाउँपालिका–४, तरंगाका ७३ वर्षीय खड्क बहादुर सार्कीलाई बराह ताल सुकेदेखि एउटा मात्र चिन्ता लाग्थ्यो बराह ताल कहिले भरिएला भनेर?
१६ बिघा क्षेत्रफलमा फैलिएको यो ताल ५ वर्ष अघि सुकेपछि भरिने आशामा बसेका सार्की अहिले खुसी भएका छन्। कारण ताल बिस्तारै भरिन थालेको छ।
‘पहिला हामी गाईबस्तु चराउन आउँदा भरिएको यो तालमा रंगीविरंगी चराहरू खेलिरहन्थे, केही वर्षदेखि यो ताल सुकेको थियो, अहिले बिस्तारै भरिन थालेपछि मलाई धेरै खुसी लागेको छ’,उनले भने, ‘तिर्खा लाग्दा गोठालाले पनि तालकै पानी खान्थ्यौँ। अब भरिएपछि यो ताललाई सुक्न दिनु हुँदैन।’
पहाडको बिचमा भएको बराह तालको थप विकासको नाममा खनिएको सडकले गर्दा ताल सुकेको उनको भनाई छ।
१६ बिघामा फैलिएको तालमा माटो र विभिन्न झारपातहरू निकालेपछि पानी जम्मा हुन थालेको गाउँपालिकाले जनाएको छ । ५ वर्षअघि तालमा पानी सुकेपछि ताल गौचरनमा परिणत भएको थियो। तालमा पानी भरिन थालेपछि पर्यटक भित्रिने आशा पलाएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताए। उनका अनुसार तालमा जम्मा भएको फोहोर, माटो र विभिन्न रुख बिरुवाहरू हटाएपछि तालमा पानी जम्मा हुन थालेको हो।
‘पानी भरिने आशा नै मरेको थियो, यो साल बनमारा र अन्य बोटबिरुवा हटाएपछि वर्षाको पानी जम्मा भइरहेको छ’, उनले भने, ‘आसपासका मुहान पनि रसाएका छन्।’
उनले गाउँपालिकासँग बजेट नभएपछि ताल संरक्षणका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको बताए। २०७२ को भूकम्पपछि तालमा पानी हराउँदै गएको थियो। तालमा पानी सुकेपछि पर्यटकीय गतिविधि पनि सुस्ताएको अध्यक्ष बस्नेतले बताए। उनका अनुसार पर्यटक आउन छोडेपछि तालनजिकै रहेको मन्दिर पनि जीर्ण बनेको छ। तालको संरक्षण गर्दै मन्दिर पुनर्निर्माण गर्ने योजना अघि सारिएको उनले बताए।
उनका अनुसार २०३६ देखि रमणीय र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको तालमा ४० को दशकयता पर्यटकीय गतिविधि बढेको हो। ‘ताल सुकाउने झार र माटो फालेपछि तालमा पानी जम्मा हुन थालेको छ’, उनले भने, ‘स्थानीय र तीन वटै तहका सरकारको समन्वयमा संरक्षणको पहल थालिएको छ ।’
कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा तालको संरक्षणको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । २ वर्षको अवधिमा ताल संरक्षणका लागि झन्डै ९० लाख रुपैयाँको काम भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले ताल संरक्षणका लागि ८ करोड रुपैयाँको लागत अनुमान गरी डीपीआरसमेत निर्माण गरिसकेको छ। ताल संरक्षणका लागि राष्ट्रपति चुरे–तराई विशेष कार्यक्रमसँग पनि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताए। तर, गाउँपालिका र कार्यक्रमबिच समन्वय नहुँदा विगत दुई वर्षमा विनियोजन गरिएको बजेट फ्रिज भएको वडा सदस्य जुल्फे राजीले गुनासो गरे।
‘यहाँ हरेक वर्ष विनियोजन गरेको बजेट फ्रिज भएको छ, ताल संरक्षणमा चाहे जति काम गर्न सकिएको छैन’,उनले भने, ‘अहिले भर्खर ताल भरिन थालेको छ, यसले हामीमा आशा पलाएको छ, अब यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने छ ।’
भदौ ७, २०७८ सोमबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।