सूत्रात्मक शैलीमा अनुहार बिकाउन खोज्दा उडेको ‘बाफ’
प्रेमको परिभाषा गणितको सूत्र जस्तो सधैं र सबैका लागि एकै हुँदैन। तर यदि सूत्रात्मक छ भने त्यो उस्तै हो र उही रहन्छ।
बलिउडको प्रभावबाट हुर्किएको नेपाली चलचित्रमा पछिल्लो समय बहसको विषयमध्येको एक विषय हो- बलिउडको प्रभाव कसरी कम गर्ने?
‘के माया लाग्छ र’, र ‘तीनपाते’ जस्ता म्युजिक भिडियोमा मौलिक कथा भन्ने शैली अपनाउन अभ्यासरत आर्टमाण्डुलाई भने बलिउड सूत्रको प्रभावले बल्ल छोइरहेको छ। त्यसकै ज्वलन्त उदाहरण हो, आर्टमाण्डुको हालसालै युट्यूबबाट रिलिज भएको ‘बाफ’ नामक म्युजिक भिडियो।
भारतीय युवती र नेपाली युवाको बालसुलभ दोस्तीमा मातको उन्माद पोखिएर छचल्किएको शारीरिक आकर्षणलाई प्रेमको नाउमा राखेर प्रेमको डुंगा तराउन खोज्दा देशलाई बाधक देखाएर कस्तो सत्य कथा उजागर गर्न खोजेका हुन् निर्देशकले? भिडियो हेरिरहँदा यो प्रश्नले पछ्याइरहन्छ।
जबकी बोर्डर नजिक नै पात्रहरुको धेरै समय व्यतित भएको छ। प्रेम गर्न बोर्डरले नरोक्ने अनि जब समस्या देखिन्छ तब देश, भूगोल बाधक कसरी बन्न सक्छ?
उसो त बोर्डरको सीमा स्तम्भलाई धेरै पटक दोहोर्याएर कथाको मुल विम्बको रुपमा स्थापना गर्न खोजेका हुन् भने उनमा निर्देशकीय परिपक्वता आउन खोज्दैछ भन्न सकिएला। तर भूगोल र देशकै कारण नेपाल-भारतबीचका पात्रको सम्बन्धमा निराशयुक्त वातावरण आउँछ भनेर नै मान्न सकिने आधार भने भिडियोमा देखिँदैन।
तापनि, भूगोलको कारण नै बियोगान्त अन्त्य रोजेका निर्देशकले देशको अस्तित्वमाथि नै धावा बोलेका छन्, स्तम्भलाई अन्त्यमा बाफझैँ उडाएर। देश र सीमा जस्तो सम्वेदनशील कुरालाई सहज रुपमा लिनु उति शोभनीय हो मान्न सकिँदैन।
डाँडामा तरुना–तरुनीले हात फैलाउने श्रृंखलाको आधुनिक रुप–स्वरुप बालककालदेखि नै ‘बाफ’मा पनि निरन्तरता दिएका छन् निर्देशक नवीन चौहानले।
मौलिक कथा भन्न कोशिस गरिरहेका चौहानबाट दर्शकले ‘तीनपाते’ जत्तिको भिडियो पक्कै आश गरेका थिए। तर उनले त कथाभन्दा अलिकति माथि उठ्ने प्रयास गर्दा नै बिर्सन लायक बलिउडको मानकलाई उचालेर धेरै नै माथि उठ्न खोजे भने अरु नेपाली मेकर र उनमा खासै भिन्नता रहँदैन की!
बरु निर्देशक चौहानले किल्से कथा भन्नुभन्दा कथाभन्दा तलै बसेर सरल र उत्प्रेरक मौलिक पात्रको मानसिक, सामाजिक तथा भूराजनीतिक लगायतका अन्र्तद्वन्द्व पो देखाउने हो कि?
बालसुलभ दोस्तीको नतिजा अन्तत्वगत्वा यौन र विछोडमा पुग्छ। आकर्षण र रतिराग नै प्रेमको मानक हो। आकर्षणको चरमविन्दु प्राप्त भएपछि पात्रलाई बहानामा पारेर निर्देशकले प्रेमलाई सस्तो र हलुका रुपमा प्रस्तुत गरिरहेका छन् ‘बाफ’मा।
उसो त प्रेमका लागि भूगोल, देश नै त्यागेर सात समुन्द्र पार गर्नेका धेरै कथा हामीले सुनेका छौं, हेरेका छौं। निर्देशक चौहानका पात्र प्रेममा नभई आकर्षणमा पो थिए कि? उनीहरुसँग धेरै विकल्प हुँदाहुँदै अति नै नाटकीय शैलीबाट बियोगान्त संयोग निकाल्ने प्रयास गर्नु निर्देशकीय कमजोरी हो।
म्युजिकल फिल्म नाम दिइएको उक्त म्युजिक भिडियो बलिउडको सूत्रात्मक चलचित्रमा देखिएका, देखाइएका क्लिपहरुको उनाइ मात्र हो। न कथामा नयाँपन छ, न त प्रस्तुतीकरणमा कुनै जादु नै छ। अझ अनावश्यक दृश्यलाई थोपारेर कथालाई जस्टिफाइ गर्न खोज्नुको पनि उति कारण देखिँदैन।
‘बाफ’को रोचक पक्ष अर्को पनि छ। म्युजिक भिडियोमा गायक प्रताप दास नायकका रुपमा देखिएका छन्। निर्देशक चौहानले गायक दासको विकल्प नदेखेर हो वा फ्यान फलोइङलाई बोनसमा जोड्न गायकलाई पर्दामा उतारिएको हो, बुझ्न कठिन पर्छ।
गायक दासको सट्टा अभिनय पेसा नै गरिरहेका कलाकार भएको भए म्युजिक भिडियोको नायकको प्रस्तुति फितलो हुँदैनथ्यो कि भन्ने भान दर्शकलाई म्युजिक भिडियो हेर्दा परिरहन्छ।
निर्देशक चौहानले एउटा गायकको अनुहार बेच्न खोज्नुको साटो स्वर नै बेच्न खोजेको भए नेपाली संगीतलाई केही हदसम्म भए पनि भलो हुन सक्थ्यो कि!
भिडियोमा प्रयोग भएको सिनेम्याटिक एप्रोचलाई ठिकै मान्न सकिन्छ। भिडियोमा कलर करेक्सन उति उम्दाको हो भन्न सकिँदैन। पात्र र पात्रको भौगोलिक पृष्ठभूमिलाई औसत मान्न सकिन्छ। कलाकारका भेषभुषाले पात्र र तिनको पृष्ठभूमिलाई भने न्याय नै गरेको देखिन्छ।
दर्शकले सुमधुर संगीत र गायक सुरज चापागाईंको लठ्याउने स्वरको मजा भने ‘बाफ’बाट लिन सक्छन्। सरल र मौलिक शब्दका गीत रचना गर्ने पहिचान बनाएका गीतकार हर्क साउदको ‘बाफ’का शब्द साँच्चै बाफिला छन्।
गीतकार साउदका अन्य गीतको तुलनामा ‘बाफ’ शब्द गह्रौंझैं देखिए तापनि उनको पहिचानमा ‘बाफ’का शब्दले थप विशिष्ठता हासिल गरेको छ भन्दा फरक पर्दैन।
भदौ ६, २०७८ आइतबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।